ओली संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी : सहरी मन्त्री चौधरी



झापा । सहरी विकास मन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का पोलिट्ब्यूरो सदस्य मेटमणि चौधरीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विरोधी भएको बताएका छन् ।

पार्टीको दमक नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था रजनआन्दोलनका उपलब्धिहरुको रक्षा गर्न गठबन्धन बनाउनु परेको बताएका छन् ।

निर्वाचन पछिसम्म पनि गठबन्धन कायम रहने बताएका उनले केपी ओली नेतृत्वको एमालेले चुनाव जिते नेपालको संसदीय व्यवस्था मात्र होइन लोकतन्त्र नै धरापमा पर्ने बताए ।

दुई तिहाइ नजिकको बहुमतलाई ओलीले दुरुपयोग गरेर लोकतन्त्र मास्न खोजेकाले आफूहरुले विद्रोह गर्नु परेको पनि उनले प्रष्ट पारे ।

निर्वाचनबाट एमालेको अस्तित्व नै संकटमा पर्ने मन्त्री चौधरीको जिकिर थियो । समानुपातिक व्यवस्थाका कारण एमालेका केही सांसद रहे पनि प्रत्यक्षमा उसलाई खोज्नुपर्ने अवस्था आउनुपर्ने बताए ।

दमकमा निर्माणाधीन दमक भ्यू टावरलाई स्थानीय जनताको आवाजलाई समेत बुझ्दै विजनेस कम्प्लेक्सका रुपमा स्थापित गर्ने प्रकृया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन गरिने बताए ।

आजै मन्त्री चौधरीले फाल्गुनन्द सभा गृहका रुपमा शिलन्यास भइ नाम परिवर्तन भएको दमक सभा गृह, दमक १० स्थित इन्दे्रणी ताल, कमल गाउँपालिका वडा नं ५ स्थित लामो समयदेखि बन्न नसकेको आदिवासी रंगशाला तथा स्मृति पार्कको स्थलगत निरिक्षण गरेका छन् । उनले बजेट नपरेका दर्जनौँ योजनाहरुमा समेत कुनै न कुनै रुपले बजेटको बन्दोबस्ती गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्