बेपत्ता छोराको पर्खाइमा बूढी आमा



पनौती ।

पनौती नगरपालिका–३ कुशादेवीकी ७५ वर्षीया मैया सापकोटाले आफ्नो छोरालाई नभेटेको १७ वर्ष भइसक्यो । विवाह गरेर दिएको छोरीको मृत्यु भएको पनि १२ वर्ष पुगिसक्यो । बुढेसकाल लागे सँगै विभिन्न रोगले च्याप्दै ल्याएको छ ।

दमको रोगले अझ बढी सताउँदै छ । डाक्टरले उहाँलाई पत्थरी पनि छ भनेका छन् । भोको पेटले खाना खोजिहाल्छ, बिहान–बेलुकी छाक टार्न चुलो बाल्नै प-यो । सकी–नसकी भए पनि एक गिलास पानी तताएर खानै प¥यो । चुलोमाथि हरेक साँझ दियो बाल्दा चहकिलो भएर बल्छ । बत्ती चहकिलो हुँदा यी बूढी आमालाई बेपत्ता भएको छोरा एक दिन आमा भन्दै आउने आशा जाग्छ । आफ्नो छोरा भेट्ने अन्तिम इच्छा राखेर बाँचेको बताउने मैया भन्नुहुन्छ– ‘भगवान्ले मेरो इच्छा पूरा गरिदिनेमा आशावादी छु ।’

पहिला कुशादेवी बाझाचौर बस्ने सापकोटाको श्रीमान् विष्णुप्रसाद सापकोटाको मृत्यु भएको पनि २० वर्ष भयो । केही वर्ष बनेपामा बसोबास गर्नुभएको मैयाको छोरा हरिप्रसाद सापकोटा २०३५ सालमा जन्मेका थिए । पिताको मृत्युपछि काजकिरिया गरेका छोरा हरिप्रसादले दुई÷तीन वर्ष श्राद्ध पनि गरेको उहाँ बताउनुहुन्छ । ‘त्यसपछि हेटांैडामा काम गर्न जान्छु भनेर गएको छोरा अहिलेसम्म फर्केको छैन । पुस २० गते छोरा हिँडेको १७ वर्ष पूरा हुन्छ ।’ गहभरि आँसु झार्दै बूढीआमा भन्नुहुन्छ– ‘छोरा आउँछ भन्ने आशाले नै जीवित छु ।’

माइतीको सहयोगमा कुशादेवी–३ घिमिरे गाउँमा १ रोपनी २ आना जग्गामा छाप्रो बनाएर उहाँ एक्लै बस्नुभएको छ । ‘बिरामी छु, अस्पताल जान सक्दिनँ, छोरा सँगै भएको भए अस्पतालमा जचाउन लैजान्थ्यो होला’, उहाँको दुःखेसो छ– ‘मेरो दुःख बुझ्ने एउटा छोरी थिई त्यसको पनि ग्यास पड्केर मृत्यु भयो ।’ उहाँकी छोरी अनिताको १२ वर्ष अघि बनेपामा कोठामा भान्साको ग्यास पड्किँदा मृत्यु भएको थियो ।

उहाँका छोराको खोजीका लागि आग्रह गर्दै स्थानीय महेश थापा भन्नुहुन्छ– ‘जीवनयापनका लागि उहाँलाई सक्दो सहयोग गर्दै आएका छौं ।’ सापकोटा आफैं खेती किसानी गर्न सक्नुहुन्न । भएको जग्गाको उब्जनीले खान पुग्दैन । बिरामी भएका कारण सरकारले उपलब्ध गराउने वृद्धभत्ता लिन जान समेत धौ–धौ हुने गरेको उहाँको कथन छ । वृद्धालाई दैनिक चाहिने खाद्यान्न र पानी ल्याउन पनि समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्