सुस्ताउँदै मकवानपुरे नाट्य क्षेत्र



हेटौंडा ।

ख्यातिप्राप्त अभिनेता राजेश हमालले पोहोर साल हेटौंडामा नाटकघरको शुभारम्भ गरे। हेटौंडा+४, कर्रास्थित हेटौंडा जेसिजको भवनमा तरङ सांस्कृतिक परिषद्ले निर्माण गरेको नाटकघर शुभारम्भ गर्दै हमालले रंगमञ्चले नै कुनै पनि ठाउँको संस्कृति ¬ल्काउने भन्दै हेटौंडामा स्थापित नाटकघरले यहाँका दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका थिए।

प्राध्यापक डा. अभि सुवेदी, लेखक युग पाठक, आरोहण गुरुकुलका सुनील पोखरेल, जिल्लास्थित साहित्यकार, लेखक, कलाकारलगायतको सहभागितामा शुभारम्भ गरिएको नाटकघर लामो समय सञ्चालनमा आउन सकेन। शुभारम्भलगत्तै नाटकघरमा ताराबाजी लै लै नामक नाटक मञ्चन गरिएको थियो।

हेटौंडामा सिनेमा र टेलिभिजनले खुट्टाे टेकेपछि नाटक सुस्ताएको थियो। दर्शकसँगै सिने गतिविधि बढ्दा नाट्यकर्ममा शिथिलता आएको थियो। दह्रो जगमा उभिएको स्थानीय नाट्य गतिविधिमा पुनर्जागरण आएको महसुस गरिएको थियो। करिब १० वर्ष पहिले हेटौंडामा नाटकघर सञ्चालनमा आएसँगै महिनामा दुईपटक नाटक मञ्चन गर्ने लक्ष्य थियो। तर, त्यसले निरन्तरता पाउन सकेन। कलाकारको अभाव, उचित व्यवस्थापन र दर्शक अभावले ६ महिनापछि यसले निरन्तरता पाउन सकेन।

तर, आधा दशकदेखि मकवानपुर नाटक मञ्चन कार्य सुनसान बन्न पुगेको छ। मकवानपुरका स्टेज र सडक नाटक हुँदै बलिउडसम्म अभिनय प्रस्तुत गर्न सफल मकवानपुरे कलाकार भोलाराज सापकोटालाई हाल फिल्मको पर्दामा काम गर्न भ्याइनभ्याइ छ। तर, उनले बीजारोपण गरेको मकवानपुरे रंगमञ्च आज मकवानपुरमै सुस्त छ।

चहलपहल राम्रै थियो। रंगमञ्च क्षेत्रबाट राम्रा कलाकार पनि जन्मे। तर, पाँच वर्षदेखि मकवानपुरमा नाट्य क्षेत्रको चहलपहल छैन भन्दा पनि हुन्छ। आकर्षण बढे पनि लगानीकर्ताको अभावले नाट्य कलाकारितामा लाग्नेहरू ओझेलमा परेका हुन्। दुई दशकभन्दा बढी समयदेखि मकवानपुरलाई नाटकको रंगभूमि बनाउँदै आएको तरङ सांस्कृतिक परिषद्ले पनि उक्त कार्य अगाडि बढाउन सकेको छैन।

पहिलेजस्तो नाटकको अभिरुचिलाई अघि बढाउन लगानीकै कारण पछि परेको बताउँछन् तरङ सांस्कृतिक परिषद्का अध्यक्ष उज्ज्वल शर्मा भण्डारी। आफूहरूले जे सोचेर मकवानपुरमा नाटक गतिविधि गर्न खोजेको हो, त्यो सोचलाई समयले साथ नदिएकाले चाहना पूरा नभएको अध्यक्ष भण्डारी बताउँछन्। बजेटको अभावमा नाटक कला रोक्नुपर्ने बाध्यता बनेको भण्डारीको भनाइ छ। तर, राष्टिझय महोत्सवहरुमा सहभागी हुने गरेको भण्डारीको भनाइ छ। कोरोना संक्रमणले पनि राम्रै थला पारेको उनी बताउँ छन्।

केही वर्ष पहिले त अलिअलि रहल पहल थियो, हाल खासै नाटकभन्दा फिल्मको अभिनयमा कलाकारको आकर्षण बढेकाले गतिविधि बढाउन गाह्रो परेको उनको भनाइ छ। हाल विभिन्न जिल्लामा हुने महोत्सवमा सहभागी हुने बाहेक अन्य काम मकवानपुरमा गर्न नसकेको उनले बताए। जिल्लामा हुने फाद्मफद्म गतिविधिले रंगमञ्च नाटकको प्यास नमेटिने उनको भनाइ छ। आर्थिक अभावसँगै नाटक लगानीकर्ताको अभावले रंगमञ्च नाटकमा आधा दशकदेखि सुनसान बनेको छ मकवानपुर।अन्तराष्ट्रिय नाटक महोत्सवमा समेत गतिलो उपस्थिति जनाएर चर्चा कमाएको मकवानपुरमा कलाकारहरू यस क्षेत्रमा भविष्य नदेखेर एकाएक बाहिरिन थालेपछि नाटक क्षेत्रमा हाल मकवानपुर सुनसान छ।

यी समस्याको व्यवस्थापन नगर्दासम्म मकवानपुरको नाट्यक्षेत्र उठन गाह्रो हुने देख्नेहरु धेरै छन्। तर, कलाकारहरु सिनेमातिर लाग्नु अनि लगानीकर्ता अभाव हुनुु मकवानपुरमा नाट्य गतिविधि सुनसान हुनुको कारक हो। स्थानीय तहहरुले बजेट विनियोजन गर्न सके फेरि मकवानपुरमा रंगमञ्च नाटकमा चहलपहल हुने र नयाँ कलाकार जन्माउने थलो बन्ने भण्डारीको विश्वास छ। पछिल्ला केही वर्षदेखि अन्तराष्ट्रिय नाटक महोत्सव गर्न थालिएको नेपाली रंगकर्म हेटौंडामा फस्टाउँदै जाने अपेक्षा पनि छ।

प्रतिक्रिया दिनुहोस्