लमजुङमा १० हजार भन्दा बढीले गरे राष्ट्रिय परिचयपत्र दर्ता



लमजुङ।

लमजुङमा १० हजार बढीले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन् । नेपाल सरकारले राहदानीका लागि परिचयपत्र अनिवार्य गरे संगै जिल्लामा १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेको हो । जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष २०७८/०७९ को असारमसान्त सम्ममा ६ हजार ३ सय ८६ जना पुरुष र ३ हजार ७ सय ३८ जना महिलालेराष्ट्रिय परिचय पत्र दर्ता गरेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी एवं प्रशासकीय अधिकृत जगदीश मिश्रले बताउनुभयो ।

गत आर्थिक बर्ष २०७७÷०७८ मा ८ हजार २ सय ६९ जनाले राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गरेका थिए । जसमध्ये, ४ हजार ७ सय २८ पुरुष र ३ हजार ५ सय ४१ जना महिलाले राष्ट्रिय परिचयपत्र बनाएको सूचना अधिकारी मिश्रले बताउनुभयो ।

लमजुङमा जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि राष्ट्रिय परिचयपत्र दर्ता कार्यक्रम सुरु भएको हो । १६ वर्ष उमेर पुगी नेपाली नागरिकता लिएका सबै नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन पाउने छन् । परिचयपत्रमा व्यक्तिगत र जैविक (बायोमेट्रिक) गरी दुई विवरण ‘इन्ट्री’ गरिनेछ । नेपाल सरकारले राष्ट्रिय परिचयपत्रका लागि नेपाली नागरिकता अनिवार्य चाहिने र राहदानी निकाल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले एक स्टेशनबाट दैनिक बढिमा २५ जनासम्मलाई सेवा प्रवाह गर्दे आएको थियो । हाल दैनिक सेवाग्राहिको चाप बढ्दो रहेकोले एक स्टेशन थप गरी सेवा प्रवाहगर्दै आएको छ ।

राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने तथा फोटो खिचाउने काम शुरु भएपनि वितरण भने अहिलेसम्म हुन सकेको छैन । परिचयपत्र छपाईमा ढिलाई हुँदा हालसम्म विवरण संकलन गरिएका कसैको पनि परिचय पत्र नआएको प्रजिअ बैद्यले वताउनुभयो ।

तत्कालका लागि परिचय पत्र नआएपनि विवरण भरेर प्रविष्ट गरिसकेपछि सेवाग्राहिले राष्टिय परिचय पत्र नम्वर भने पाउनसक्ने छन् । प्राप्त परिचयपत्र नम्वरको आधारमा राहादानी भर्न सकिने भएकोले पनि राहादानी लिने तयारी गरेका सेवाग्राहिहरु राष्टिय परिचय पत्र लिनकै लागि प्रशासन कार्यालय आउने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार हाल प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएको राष्टिय परिचय पत्र जिल्लाका सवै स्थानिय तह र वडाहरुबाट सेवा प्रवाह गर्ने तयारी रहेको छ । देशका केही जिल्लाहरुमा सम्बन्धित वडाहरुमै उक्त सेवा प्रवाह शुरु भएपनि पहिलो चरणमा लमजुङ नपरेको प्रशासनले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्