आर्थिक चलखेलमै यातायात कार्यालय जगातीबाट राधे राधे सारिँदै



भक्तपुर ।

विगत पाँच वर्षसम्म जगातीमा सञ्चालनमा रहेर सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गर्दै आएको ‘यातायात व्यवस्था कार्यालय’ थिमिस्थित राधे राधे माइक्रोबस पार्कमा सार्ने भएपछि विरोध शुरू भएको छ ।
यातायात व्यवस्था कार्यालय जगातीको प्राङगणमा स्थानीय व्यवसायी एवं लेखापढी व्यवसायी संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आर्थिक चलखेलका कारण नयाँ कार्यालय प्रमुख आउनेबित्तिकै कार्यालय सार्ने भएको बताएका छन् ।

सूर्यविनायक नगरपालिका–८ जगाती भक्तपुरमा २०७३ माघ २ गतेबाट सञ्चालनमा रहेको ‘यातायात व्यवस्था कार्यालय’ पाँच वर्ष पछि राधे राधेस्थित माइक्रोबस पार्कमा रहेको भूकम्पअगाडि बनेको पुरानो घरमा सर्ने भएपछि यहाँका बासिन्दा एवं लेखापढी व्यवसायीले विरोध गरेका हुन् ।

यातायात कार्यालयको प्राङ्गणमा स्थानीय व्यवसायी एवं लेखापढी व्यवसायीले ठूलो आर्थिक रकमको चलखेलमा यातायात कार्यालय अनुपयुक्त घरमा सर्न लागेको भन्दै विरोध गरेका हुन् ।पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक लक्ष्मी कार्कीले सरकारी मापदण्डभित्रै रहेर पाँच वर्ष कार्यालय सञ्चालनमा रहेको अरनिको राजमार्गसँगैको घर छाडेर कार्यालयमा नयाँ प्रमुख नेत्र भट्टराई आएलगत्तै ठूलो रकमको चलखेल गर्दै कार्यालय सार्न लागेको बताउनुभयो ।

कार्यालयका प्रमुख भट्टराईसँग घर भाडा सम्झौता नवीकरणमा आर्थिक लेनदेनको कुरा नमिलेपछि बिना सूचना र कोटेसनसमेत आह्वान नगरी थिमिस्थित माइक्रोबस पार्कमा कार्यालय सार्नुले आर्थिक लेनदेनको चलखेल भएको पुष्टि भएको उहाँले बताउनुभयो ।

कार्यालयले कुनै पनि नयाँ घरमा जानुअगाडि निश्चित समय तोकेर सार्वजनिक सूचना जारी गर्नुपर्नेमा कुनै सूचना नै जारी नगरी एकलौटी रूपमा भाडा मूल्यांकन समितिलाई समेत प्रभावमा पारेर अनुपयुक्त घरमा कार्यालय सार्न लगाएको पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक कार्कीले आरोप लगाउनुभयो ।

कार्यालय सार्न खोजेको घर भूकम्पअगाडि बनेको, साँघुरो घर, मापदण्डभन्दा साना कोठा एवं भ-र्याङ रहेको, पर्याप्त पार्किङ तथा खुल्ला ठाउँ नभएको र सेवाग्राहीका लागि उपयुक्त नहुने साँघुरो ठाउँमा कार्यालय लान लागेको भन्दै उहाँले स्थानीय व्यवसायी एवं लेखापढी व्यबसायीसँग समेत कार्यालय प्रमुखले मासिक रकम माग गरेको आरोप लगाउनुभयो ।

जगातीमा कार्यालय स्थापना भएपछि कार्यालय प्रमुखका रूपमा आउनु भएका अनोज घिमिरे, किरण ढकाल, शशी शेखर महर्जन, राजकुमार कपालीको पालामा यही घर उपयुक्त भए पनि नयाँ कार्यालय प्रमुखका रूपमा भट्टराई आएलगत्तै कार्यालय भवन अनुपयुक्त भन्दै सार्ने चलखेल गरेको पत्रकार सम्मेलनमा व्यवसायी गोकूल वनले बताउनुभयो ।

मध्यपुरथिमिको राधे राधे (वागमती आयल स्टोर) पछाडि नै एक रोपनी जग्गामा ट्रलिबस कार्यालयको एक तले भवन र जग्गा हुँदा हुदै त्यो जग्गामा समेत कार्यालय नसारी विधि र प्रक्रिया समेत पूरा नगरी कार्यालय सार्ने भएको उहाँको भनाइ छ । कार्यालय प्रमुख भट्टराई, सोही कार्यालयका अधिकृत छैठौं प्रशासन शाखाका गोविन्द शिवाकोटी र कृष्ण निरौलासमेतको मिलेमतोमा आर्थिक चलखेलकै कारण घर भाडा मूल्याङ्कन समितिलाई समेत गलत निर्णय गर्न लगाएको लेखापढी व्यवसायीको आरोप छ ।

‘यसअघि यातायात कार्यालय एकान्त कुना ललितपुरमा समेत आर्थिक चलखेल गरेको र केही महिना अगाडि सेवाग्राहीको फाइलनै गायब बनाएर पुलमुनि फाइल भेटिएको जस्ता काण्डले विवादमा मुछिएर भक्तपुर सरुवा भएर आएलगत्तै यिनै भट्टराईले यातायात कार्यालय नै सार्ने गरी चलखेल शुरू गर्नुले पनि आर्थिक चलखेल भएको पुष्टि गर्दछ ।’ संघर्ष समितिद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।त्यतिमात्रै नभई सेवाग्राहीका लागि ४० मा सञ्चालन भइरहेको स्वास्थ्य परीक्षण कार्यको सम्झौतासमेत एकतर्फी रूपमा रद्ध गरेर कार्यालय प्रमुख भट्टराईले प्रतिव्यक्ति ६० लिने गरी अर्को पक्षलाई दिएको व्यवसायीले बताएका छन् ।

पत्रकार सम्मेलनमा व्यवासायी शिवनारायण ग्वाछाले सरकारको लाखौंको लगानी, यहाँ १ सयभन्दा बढी व्यवसायीले सञ्चालन गरेको करोडौंको लगानीको व्यवसायसमेत नोक्सानमा परेको भन्दै उहाँले सेवाग्राहीलाई मर्कामा पर्ने गरी कार्यालय नै सार्नुले पनि आर्थिक चलखेल भएको पुष्टि हुने बताउनुभयो । सूर्यविनायक नगरपालिका–८ गुण्डुमा यातायात कार्यालयको आफ्नै भवन बनाउने प्रक्रिया सरकारले अगाडि बढाइसकेको र यही वर्षबाट भवन निर्माण कार्य अगाडि बढाउने अवस्थामा केही वर्षका लागि कार्यालय सार्न खोज्नु रहस्य भएको पत्रकार सम्मेलनमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्