हिजो त्रिवि उपकुलपतिको कार्यालय तोडफोड, आजबाट आमरण अनसन



काठमाडौं । नेकपा (एकिकृत समाजवादी)को भ्रातृ संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा आमरण अनसन शुरु गरेका छन् । उपकुलपति कार्यालयमा तोेडफोड गरेको भोलिपल्ट आज (सोमबार) दिउँसोबाट आमरण अनसन शुरु गरेका छन् ।

संगठनले पदाधिकारीले सार्बजनिक रुपमा माफी नमागेसम्म र संगठनले राखेको १३ बुदे माग सम्बोधन नभएसम्म आमरण अनसन जारी राख्ने बताएका छन् ।

संगठनका अध्यक्ष सुदेश पराजुलीसहित हामी १० जना आमरण अनसन बसेका छौँ, संगठनका उपाध्यक्ष महादेव पन्तले नेपाल समाचारपत्रसँग भने । उनका अनुसार ज्ञापनपत्र बुझाउन निस्कदा उपकुलपति कार्यालयले प्रहरी परिचालन गरी म लगायत हाम्रा साथीलाई गिरफ्तार गरेकोमा घोर आपत्ती जनाउँदै आजबाट आमरण अनसन शुरु गरेका हौ ।

संगठनले त्रिविमा दर्जनौ विकृति र बिसंगति रहेको अवस्थामा पदाधिकारीहरु कुर्सीमा टाँसिएर बस्ने नैतिकता नभएको संगठनको आरोम छ । संगठनले रजिष्ट्रार कार्यालयले निकालेको सूचनाप्रति आपत्ती जनाउँदै आधिकारीक धारणा सार्वजनिक गर्न माग गरेको छ ।

संगठनले बुझाएको ज्ञापनपत्रमा सेमेष्टर प्रणालीमा सुधार, स्ववियु निर्वाचनको गर्नुपर्ने, राजनीतिक भागबण्डा बन्द गर्नुपर्ने, पाठ्यक्रम परिवर्तन जस्ता माग उल्लेख गरेको छ ।

उपकुलपतिलाई बुझाउन नपाएको सो ज्ञापनपत्र उपकुलपति कार्यालयको भित्तामा टासेर आमरण अनसन बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस्