नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय



काठमाडौं, (नेस)

सरकारले प्रतिनिधिसभा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो ।

विधेयकमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले झन्डै २ वर्ष दफावार छलफल गरी प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो । प्रतिवेदन प्रतिनिधिसभामा विचाराधीन रहेको अवस्थामा सरकारले विधेयक नै फिर्ता लिने निर्णय लिएको हो ।

सत्तारुढ गठबन्धनमा रहेका सबै राजनीतिक दलहरूबीच सहमति भएपछि नागरिकता विधेयक फिर्ता लिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार विधेयक बुधबार बस्ने प्रतिनिधिसभा बैठकबाट फिर्ता लिने तयारी तयारी छ ।

प्रतिक्रिया दिनुहोस्