लुम्बिनीको दानपेटिकाबाट ३७ लाख संकलन



बुटवल । 

लुम्बिनीको प्रमुख आम्दानीको स्रोत मानिने दानपेटिका तीन महिनामा खोल्दा ३७ लाख दान संकलन भएको भेटिएको छ । आइतबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दानपेटिका खोलिएको हो ।

दानपेटिकामा संकलित रकमलाई पारदर्शी बनाउन सीसीटिभी क्यामेरा जडान गरी गणना शुरू गरिएको छ । लुम्बिनी भ्रमणमा आएका पर्यटकहरूले पवित्र भावनाले गरेको दानलाई लुम्बिनीको विकासमा लगाउने गरी दानपेटिका सबैपक्षको रोहवरमा खोलिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताउनुभयो ।

उहाँले आफूले कोषाध्यक्ष पद समालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने र यसको सदुपयोग भएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको बताउनुभयो । उहाँका अनुसार आइतबार एउटा मात्रै दानपेटिका खोलिएको छ । चारवटा दानपेटिका खोलेर संकलित दानको गणना गर्न ४ दिनसम्म लाग्ने कोषाध्यक्ष भट्टराईले बताउनुभयो ।
विगतमा दानपेटिका चोरी हुने गरेको घटनासमेत बाहिरिएको थियो ।

तर, अहिले लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्थासमेत चुस्त पारिएकाले चोरी हुने समस्या नरहेको लुम्बिनीका सुरक्षा अधिकृत खगेन्द्र काफ्लेले बताउनुभयो । उहाँले दानपेटिकाको हरेक दिनको मुचुल्का उठाएर संकलित रकम तुरुन्तै बैंकका दाखिला गर्ने गरिएको बताउनुभयो ।राजस्व शाखा, लुम्बिनी सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी र लुम्बिनी सांस्कृतिक नगरपालिका प्रतिनिधिहरूको उपस्थितिमा दानपेटिका खोलिएको हो ।

यसअघि २०७८ चैत १८ गते दानपेटिका खोलिएको थियो । १५-१५ दिनमा दानपेटिका खोल्नुपर्ने भए पनि दानपेटिका भरिएपछि मात्रै खोल्ने गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले बताउनुभयो ।अघिल्लोपटक दानपेटिकामा ३७ लाख दान संकलन भएको थियो । लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रूपमा दानलाई लिने गरिएको छ ।

आन्तरिक आम्दानीबाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको कोषले जनाएको छ । कोभिडपछि भने दानपेटिका लामो समयसम्म खाली हुने गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएपछि भने भारतीय पर्यटकको आवागमन वृद्धि भएको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्