जोकोभिच क्वार्टरफाइनलमा



लन्डन, (एजेन्सी) । 

डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच लन्डनमा जारी विम्बल्डनको क्वार्टरफाइनलमा पुग्दै सातौं उपाधि हासिल गर्न अग्रसर भएका छन् ।

सर्बियाली खेलाडी जोकोभिचले अन्तिम १६ को खेलमा डच वाइल्डकार्ड खेलाडी टिम भान रिजथोभनलाई चार सेटमा हराएका थिए । शीर्ष वरीयताका जोकोभिचले सेन्टर कोर्टमा भएको उक्त खेल ६–२, ४–६, ६–१, ६–२ ले जितेका थिए । जोकोभिचको यो विम्बल्डनमा १३औं पटक क्वार्टरफाइनल प्रवेश हो ।

वरीयतामा १०४औं स्थानमा रहेका भान रिजथोभनले दोस्रो सेट जितेर सबैलाई आश्चर्य तुल्याएका थिए । तर, २० ग्रान्डस्लाम विजेता जोकोभिचले पछिको दुवै सेट जितेर अर्को चरणको यात्रा तय गरे । जोकोभिचले अर्को चरणको खेलमा जानिक सिनरविरुद्ध खेल्नेछन् । इटालियन खेलाडी सिनरले स्पेनी युवा खेलाडी कार्लोस अल्काराजलाई ६–१, ६–४, ६–७, ६–३ ले पराजित गरेका थिए ।

यस्तै, महिला सिंगल्सतर्फ कजाकस्तानकी एलेना रिबाकिनाले पनि अन्तिम आठको यात्रा सुरक्षित गरिन् । रिबाकिनाले क्रोएसियाकी पेट्रा मार्टिचलाई ७–५, ६–३ ले हराएकी थिइन् । उनी पहिलोपटक विम्बल्डनको अन्तिम आठमा पुगेकी हुन् । गत वर्ष उनी फ्रेन्च ओपनको अन्तिम आठमा पुगेकी थिइन् ।

सेन्टर कोर्टको शताब्दी

विम्बल्डनको सेन्टर कोर्ट खुलेको एक सय वर्ष भएको छ । सेन्टर कोर्ट सन् १९२२ मा खोलिएको थियो । उक्त समयमा रंगशालामा भएको १५ हजार सिट भर्न नै चिन्ताको विषय थियो । अहिले भने सेन्टर कोर्ट संसारकै उत्कृष्ट रंगशालामध्ये एक बनेको छ । सेन्टर कोर्टमा विम्बल्डनमा शीर्ष खेलाडीले खेल्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्