विपद् प्रतिकार्य योजना तयार



काठमाडौं । 

२४ घण्टा यता विपद्का घटनामा ८ जनाको मृत्यु भएको छ । सो अवधिमा १९ जिल्लाका ३२ स्थानमा विपद्का घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार रूपन्देही, नवलपरासी पश्चिम, बाग्लुङ, बाँके, पर्सा, धादिङ, कैलालीमा विपद्का घटनाबाट ८ जनाको मृत्यु भएको हो । यस्तै ३ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।रूपन्देहीको सियारीका ४५ वर्षीय एक पुरुषलाई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ भने नवलपरासी पश्चिमको लक्ष्मीपुरमा ६० वर्षीया महिलाको मृत्यु भएको छ ।

यसै गरी बाग्लुङको काठेखोलामा २८ वर्षीय महिला, बाँकेको राप्ती सोनारीमा ७ वर्षीया बालक, पर्साको सखुवा प्रसौनीमा ३२ वर्षीय पुरुष, धादिङको त्रिपुरा सुन्दरीमा ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।यस्तै सर्पदंशबाट धनगढीमा ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । विपद्का घटना गत वैशाख १ देखि असार १५ सम्ममा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । यस्तै ७० परिवार प्रभावित भएका छन् । सो अवधिमा झन्डै ४ करोड बराबरको क्षति भएको छ ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०७९ अनुरूप विपद्को प्रतिकार्य सञ्चालन गर्दै आएको प्राधिकरणले जनाएको छ । कार्ययोजनाले जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलन र विगतको प्रतिकार्यको समीक्षा गर्दै कार्ययोजनाअनुरूप काम गरिरहेको बताइएको छ ।

जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने अनुमान सार्वजनिक गरेको बताउँदै प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बाढी, पहिरोलगायत मनसुनजन्य विपद्का घटनाबाट यसपालि करिब चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकार्य योजना तयार पारिएको बताउनुभयो ।जल तथा मौसम विज्ञान विभागले बुधबार इटहरी र आसपास ठूलो वर्षा भएको र थप हुने रहेकालेा बूढी खोला, खेसलिया खोलालगायत आसपासका साना खोलामा आकस्मिक बहाव हुन सक्ने भन्दै राति १२ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको थियो ।

सशस्त्र प्रहरीद्वारा ३६ घर परिवारको उद्धार

झापाको गौरीगञ्ज गाउँपालिका–४ स्थित बेलगाछीमा अविरल वर्षाको कारण किस्ने खोलामा पानीको बहाव बढ्न गई डुबानमा परेका २२ घरपरिवारका ४० जनालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक लालबहादुर खत्रीको कमान्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरूलाई सुरक्षित स्थानमा सारेकोे हो ।

यसै गरी सुनसरी जिल्लाको बर्जु गाउँपालिका–५ स्थित पण्डित र गुरुङ टोलमा वर्षाको कारण डुबानमा परेका १४ घरपरिवारलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

सशस्त्र प्रहरी निरीक्षक मनोज विष्टको कमान्डमा खटिएको सशस्त्र प्रहरीले पण्डित टोलका ६ घरपरिवारलाई रामजानकी प्राथमिक विद्यालय र गुरुङ टोलका ८ घरपरिवारलाई मुसहरहरूको लागि बनाइएको आवास भवनमा स्थानान्तरण गरेको हो ।

त्यसै गरी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ बयल बन्दमा अविरल वर्षाको कारण महाकाली नदीमा पानीको बहाव बढ्न गई उक्त नदीको किनारामा पुनर्निर्माण भइरहेको तटबन्ध कटान गरेको हुँदा सशस्त्र प्रहरी नायव निरीक्षक तेज सिंह विष्टको कमान्डमा खटिएको टोलीले उक्त तटबन्ध निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्