तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा



काठमाडौं । 

भारी वर्षासँगै हुन सक्ने सम्भावित विपद्को घटना न्यूनीकरणसँगै खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

तराई–मधेसमा डुबान र पहाडी क्षेत्रमा बाढीपहिरो जाने क्रम शुरू भएसँगै सम्भावित विपद्को पूर्वअनुमानअनुसार ती क्षेत्रका नागरिकको सुरक्षाका लागि गृह मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयको निर्देशनपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विपद् कार्ययोजना बनाएर देशभर नै आफू मातहतका निकायलाई परिचालन गरेको छ ।

विपद् हुनसक्ने सम्भावित बस्तीको पहिचान गरी त्यस क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काममा तीनवटै सुरक्षा निकायले समन्वय गरेर काम शुरू गरेका छन् । असार १ देखि १५ गतेसम्म बाढी पहिरोबाट १४ जनाले ज्यान गुमाइसकेका छन् भने १ सय २० परिवार प्रभावित बन्न पुगेका छन् । यो क्रम बढ्दो छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले मनसुन शुरू भएको अवस्थामा देशभर रहेका सैनिक युनिटलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले देशको चारवटै कमान्ड र ७७ जिल्लामा सूचना संकलनलाई व्यवस्थित बनाइएको जानकारी दिँदै सोहीअनुरूप नेपाली सेना परिचालन हुने बताउनुभयो । प्रवक्ता सिलवालले उद्धार कार्यका लागि आवश्यक जनशक्ति र हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी पनि दिनुभयो ।
नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले सम्भावित विपद्को खोज तथा उद्धारका लागि देशभरका प्रहरीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।

उहाँले केन्द्रीय विपद् महाशाखामा प्रहरी तयारी अवस्थामा राखेको बताउँदै सातवटै प्रदेश र ७७ जिल्लाका सबै युनिट तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँले आपत्कालीन अवस्थामा भएको जनशक्तिलाई अधिकतम परिचालन गरिने र सकेसम्म सम्भावित जोखिमको बस्ती पहिचान गरेर त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम पनि शुरू भएको बताउनुभयो ।त्यसै गरी सशस्त्र प्रहरी बलले पनि बाढी पहिरो जान सक्ने सम्भावित क्षेत्रहरूको पहिचान गरी उक्त क्षेत्रको आसपासमा रहेका युनिटहरूलाई २४ सै घण्टा परिचालन गर्ने निर्णय गरेको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता विदुर खड्काले राजमार्गमा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरेर घाइतेको तत्काल उद्धारका लागि विभिन्न १० स्थानमा आईआरडी एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

प्रवक्ता खड्काले गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, प्रादेशिक आपतकालीन कार्य सञ्चालन केन्द्र, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गरेर काम गरिरहेको बताउनुभयो । उहाँले मनसुन कार्ययोजनाअनुसार प्रत्येक गण, गुल्म, बिओपी र सुरक्षा आधार क्षेत्रहरूलाई समेत तत्काल विपद्मा परिचालन हुने गरी तयारी अवस्थामा राखिएको बताउनुभयो ।

मनसुन शुरू भएयता विभिन्न विपद्का घटनाहरूमा सशस्त्र प्रहरी बलले जीवित र घाइतेको उद्धार गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘जल उत्पन्न प्रकोपमा उद्धारका लागि बंगलादेश तथा नेपालमा नै गोताखोर तालिम सञ्चालन गराई सुनसरी, महोत्तरी, चितवन, काठमाडौं, कास्की, बाँके, सुर्खेत र कैलालीमा ५६ जना जनशक्ति परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलले प्रत्येक प्रदेशको १० स्थानमा विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्