मण्डनको रायो बारीमा चितुवाको आक्रमण 

३५० वटा कालिज मा-यो



काभ्रे । 

जिल्लाको मण्डन देउपुर नगरपालिका वडा नम्बर ९ रायो बारीमा बुधवार बिहान राति ३ बजेको समयमा चितुवा प्रवेश गरी ३ सय ५० वटा कालिज मारेको छ । केही कालिज खाएको चितुवाले अधिकांश कालिज मारेर सर्वसाधारणले देखेपछि भागेको छ ।

स्थानीय पुण्यप्रसाद नेपालले दुई वर्ष अघि देखि सुरु गरेको योग गंगा बाइल एन्ड च्याटल प्रालीमा ६ सय ५० वटा कालिज थिए । व्यवसायी रूपमा सुरु गरिएको उक्त फार्ममा बाख्रा, टर्की, कुखुरा लगायतका पक्षीहरूको व्यवसायी पालन सुरु गरिएको नेपालले बताउनु भयो । ‘फार्ममा हेरालु राखिएको थियो, सुरुमा केही थाहा भएनछ छिमेकीहरूले पनि बिरालो रहेछ भन्ने सोचेर त्यति चासो भएनछ’–सञ्चालक नेपालले भन्नुभयो–‘धेरे बेर पछि चितुवा भन्ने थाहा भएछ ।

मान्छेहरू कराए पछि बिहान उज्यालोमा चितुवा जुन बाटो प्रवेश गरेको त्यही बाटो निस्किएछ ।’ चितुवाले ६० वटा जति कालिज खाएर ३ सय वटा जति मारेर छाडेको प्रहरी चौकी हिगुवापाटीले जानकारी दिएको छ । भाले कालिजको प्रति गोटा २ हजार ५ सयमा विक्री हुने गरेको नेपालले जानकारी दिनु भयो । पोथी कालिजबाट चल्ला उत्पादनका लागि अण्डा बनाउने भएकाले विक्री हुँदैन । चितुवाको आक्रमणबाट कालिज फार्ममा ८ लाख ७५ हजार क्षति पुगेको नेपालले बताउनु भयो ।

७५ लाख लगानीमा सुरु गरिएको फार्ममा बुद्धचित्तको पनि व्यवसायी खेती गरिएको छ । ६० वटा भन्दा धेरै बोट बुद्ध चित्तका रोपिएको नेपालले जानकारी दिनुभयो । अहिले फार्ममा १५ वटा बाख्रा, ३ सय ५० वटा भन्दा धेरै कुखुरा र टर्की लगायतको व्यवसायी रूपमा पालन गरिएको छ । स्थानीयहरूले चितुवा नियन्त्रण गर्न सरोकारवाला निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्