धड्कन सुन्दै मृत्यु पर्खनेहरुको नाममा



मैले फेरि एकपटक मेरो टाइगर (मैले घरमा पालेको कुकुर, जसलाई एउटा बोलेरोले लापर्वाहीपूर्वक किचेर मारिदियो) लाई सम्झेको छु । एक महिनाको उमेरमा मेरो घरमा आएको टाइगरले १३ वर्षसम्म मलाई साथ दियो ।

टाइगरका धेरै सुवानी अतीत छन् । मन भकानिन्छ टाइगरलाई सम्झँदा, उसको सुवानी स्वभावलाई सम्झदा । पसलमा एक्लै टोलाइरहँदा कता–कता त्यही टाइगरको आकृति मनका दर्पणमा उज्यालिन्छ । अनि फेरि मन भकानिन्छ ।टाइगरको सम्झना यसपटक काजलकली (चितवनको सौराहामा मृत्यु कुरिरहेकी एक पोथी हात्ती) सँग जोडिएको छ । किनभने टाइगरलाई मैले सौराहाबाटै ल्याएको हो । त्यसैले सौराहाको हरेक प्रसंगमा पहिले म मेरो टाइगरलाई सम्झन्छु । सेतोपाटीमा राजेश घिमिरेको फिचरले मन छिया–छिया बनाएको छ, काजलकलीको अवस्था शब्दहरुमा पढ्दै गर्दा । अनि त्यहाँ छापिएको काजलकलीको तस्वीरले साँच्चै डाँको छोडेर रुन मन लागेको छ ।

ख्याउटे शरीरमा चोटैचोट । हिलोमा लम्पसार शरीर । त्यही शरीरको अग्रभागमा विस्मित आँखा । काजलकलीको मृत्युअघिको अवस्था हो यो । मानिसहरु उसको धड्कन सुन्दै मृत्यु पर्खिरहेका थिए रे ! ओहो ! कति निर्दयी छ यो दुनियाँ, धड्कन सुन्दै मृत्यु पर्खिरहने !केही महिनाअघिसम्म उसले मानिसलाई आफ्नो पिठ्युँमा बोकेर सौराहाको जङ्गलहरुमा सयर गराई । दुईपटक बिरामी भएर ढलेकी काजलकलीले आफू बिरामी भएको भनेर आराम खोजिन । औषधि सेवन गरेरै भए पनि पर्यटकलाई सयर गराई । आफ्नो मालिकको सेवा गरी । तर खै त मालिकको संवेदना । के काम गरुन्जेलसम्मको मात्र माया थियो त काजलकलीलाई ।

लामो समय बिरामी परेको काजलकलीलाई औषधि खुवाएर फेरि अपरिचितको काँध थाप्ने काममा दल्नु उचित थियो । उसको अवस्थाको देखरेख, पोषिलो खानेकुराको व्यवस्था, आरामजस्ता विषयमा किन ध्यान जाँदैन मालिकहरुको ।म सम्झन्छु, हात्तीको सौन्र्दय । नदीमा पुगेर हात्तीले पानीको फोहोरा मानिसको शरीरभरि छरिदिँदा त्यसले दिने आनन्द कति हो कति । सुँड उठाएर हात्तीले अभिवादन गर्दा पर्यटकहरु नतमस्तक हुने दुश्य पनि सौराहामा प्रशस्तै देखिन्छन् । हात्तीको यो चञ्चलता र सौन्र्दयले पनि धेरै पर्यटक तानेको छ सौराहामा । सौराहाका पर्यटन व्यवसायीको सम्पत्ति हैन र हात्ती । फेरि किन अपरिचित छन् सौराहाका व्यवसायी काजलकलीहरुका लागि ।

मैले काजलकलीलाई देखिन । उसको काम, चञ्चलता, सुन्दरता, संयमता, उत्साह, जाँगर देखिन । तर उसको इमानदारिता महसुस गरिरहेको छु । अनलाइन र अखबारका शब्दहरु रटिरहँदा मेरा आँखाअगाडि काजलकलीको कालजयी यात्रा झलझली नाचिरहेको छ ।पिठ्युँमा स्वदेशी तथा विदेशी पर्यटकलाई बोकेर काजलकलीले राप्तीपारिको यात्रा तय गरिरहँदा उसको शरीरले कति आराम खोजेको थियो होला । परपर जङ्गलमा उछलकुद गर्ने विभिन्न जातका पशुपक्षी हेरेर आफ्नो पिठ्युँमा उफ्रिरहेका पाहुनाको खुशीमा काजलकलीले आफ्नो थकान भुलेको कुरा त सत्य हो नि ! के हामीले कहिल्यै सुन्यौँ या पढ्यौँ कि काजलकलीले हिँड्दा हिँड्दै पर्यटकलाई लडाइदिई ? काजलकली हिँड्दा हिँड्दै बसिदिई र पर्यटक अलपत्र परे ? अहँ उसले यस्तो कहिल्यै गरिन । शरीरमा अलिकतिसम्म मात्र पनि तागत हुँदा सौराहामा आएका पर्यटकलाई पिठ्युँमा बोकेर राप्तीपारिको जङ्गलमा सयर गराइरही । पर्यटकको खुशीमा आफूलाई समर्पित गरेर आफ्नो मालिकको सेवा गरिरही ।

अहिले हेर्नुस् त काजलकलीले पाएको उपहार । शरीरको विभिन्न भागमा चोटपटक अनि हिलाम्य जमिनमा मुढो ज्यान । किन यति संवेदनाहीन बनेको छ समाज ? के सबै कुरा पैसाले नै निर्धारण गर्ने हो ? अन्तिम क्षणसम्म श्रमको उपयोग गर्ने अनि मृत्युको सन्निकट अलपत्र छोडिदिने ? खबरमा उसको उपचारको कुरा पनि लेखिएको छ तर त्यो पर्याप्त छैन । कमसेकम उसले मृत्यु कुररिहँदा सहजता त महसुस गर्न सकोस् । ८० हैन अझ बढी स्लाइन चढाऔं तर काजलकलीले सहज मृत्यु पाउनै पर्छ भन्ने मेरो कामना थियो । तर मेरो सो कामनाले पूर्णता पाएन ।

काजलकलीको बुढ्यौली आँखाबाट मालिकलाई गरेको सेवा सम्झिएर बिस्मात्को आँसु झरिरहेको झैँ लाग्छ । यो ऊप्रतिको न्याय हुँदै हैन । मृत्यु सत्य छ । त्यसमा कसैले बहस, विवाद, रोकावट या फिराद गरेर पार पाउन सकिँदैन । मानिसको होस् या पुशपक्षीको, मृत्यु सत्य छ । जन्मसँगै मृत्यु लेखेर ल्याएको हुन्छ हरेक प्राणीले । तर मृत्यु हरेकको सहज हुनुपर्छ ।त्यही सहजता प्राप्त गर्ने अधिकार काजलकलीलाई पनि थियो । कमसेकम उसको बुढ्यौली आँखा झिमिक्क गर्दा स्मृतिमा पर्यटकको उछलकुछ र उत्साह नाचिरहोस् न ।

त्यो क्षण सम्झेर उसले खुशी महसुस गर्न सकोस् न । अनि उसको आँखाबाट बगेका हरेक थोपा आँसु आफ्नो मालिकको लागि सर्मपित होस् न । मालिकले दिएको खुशी, गरेको सेवाको लागि समर्पित होस् न । कानुनतः हात्ती सङ्कटापन्न वन्यजन्तुमा पर्दछ । हात्तीको तथ्याङ्क राख्ने र संरक्षण गर्ने दायित्व सरकारको पनि हो । अनलाइन र अखबारमा काजलकलीको बारेमा पीडादायी समाचारहरु आइरहँदा सरकारको ध्यान कता गएको थियो ? के सरकारले काजलकलीको मालिकको खोजी गरेर उसलाई कानुनी दायरामा ल्याउनुपर्दैनथ्यो ? काजलकलीलाई उपयुक्त स्थानमा लगेर पर्याप्त उपचार सेवा र खानपानको व्यवस्था गर्नुपर्दैनथ्यो ?

अनि पशु अधिकारकर्मीहरु ! उनीहरुको ध्यान किन जान सकेन काजलकलीको मुढो शरीरतिर ? काजलकलीको लागि उपयुक्त बासस्थानको व्यवस्थापन गरेर उचित र आवश्यक खानपान तथा उपचारको लागि पशु अधिकारकर्मीहरुले किन पहल गर्न नसकेको होला ?मलाई बिस्मात् लागिरहेको छ । त्यस्ता मालिकदेखि जसले श्रमको उपयोग त भरपूर गर्छ तर बुढयौली समयमा सेवा गर्दैन । अनि त्यस्ता सरकारदेखि जसले पशु अधिकारका लागि ऐन कानुन निर्माण गर्छ, अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरुमा दस्तखत गर्छ तर त्यसको कार्यान्वयन र रक्षाको लागि पहल तथा सक्रियता देखाउँदैन ।

यो लेख लेखिरहँदाकै बेला काजलकलीले मृत्युवरण गरेको खबर सुन्दा म झनै स्तब्ध भएँ । उसको धड्कन सुन्दै मृत्यु कुरिरहनेहरुको मुटुको धड्कन कस्तो भयो होला ? यो दुनियाँ संवेदनाहीन छ, जीवजन्तुहरुप्रति त अझ बढी संवेदनाहीन छ । काजलकलीको पीडामा नचिमोटिएका मनहरु कति कठोर छन् ? हिलोमा लडेको उसको मुढो शरीर देखेर अन्जान बन्ने मानव अनि पाँच–छ वर्षसम्म काजलकलीको श्रम उपयोग गरेर तर्किरहेको कथित मालिकको मानसिकता कति स्खलित भयो होला ? हाम्रो समाज, यो दुनियाँ कति मतलबी छ ?

म आफैं पनि शुद्ध छैन । प्रसंग टाइगरकै, १३ वर्षसम्म मेरो साथमा रहेको उसको मृत्युमा मैले दुई थोपा आँसु खसाल्ने र उसको मृत शरीरलाई करेसाबारीमा विसर्जन गरेर एउटा बिरुवा रोप्ने भन्दा बढी केही गर्न सकिन । उसलाई लापर्वाहीपूर्वक किचेर मार्ने बोलेरो चालकलाई मैले कानुनी दायरामा ल्याउन सकिन । यसमा कानुनी अभाव वा घरपालुवा जनावर भएकै कारण मेरो हेलचेक्र्याइँ दुवै जिम्मेवार छ जस्तो लाग्छ । मैले टाइगरलाई कानुनी न्याय दिलाउन आवश्यक पहल नै गर्न सकिन । म लाचार छु, बिस्मित् छु र सायद विवश पनि ।

टाइगर र काजलकली पछिल्लो उदाहरण मात्र हुन्, पशु अधिकारको क्षेत्रमा देखिएका लापर्वाहीका । धेरै काजलकलीहरु र टाइगरहरुले अहिले पनि न्याय पाएका छैनन् । सौराहामै धेरै काजलकलीहरु अहिले पनि मालिकको सेवाको लागि आफ्नो बुढ्यौली र बिरामी शरीरलाई सकी नसकी पर्यटकको खुशीको लागि समर्पित गरिरहेका छन् । अनि धेरै टाइगरहरु सडकमा अलपत्र, असरल्ल मृत्यु भोगिरहेका छन्, मृत्यु कुरिरहेका छन् ।

सरकारको ध्यान यस्ता कुरामा जानुपर्ने हो कि हैन ? किन जान सकेको छैन सरकारको ध्यान यस्तो विषयमा ? यो प्राणी संवेदनासँग जोडिएका अत्यन्त टड्कारो सवाल हो, जसको जवाफ सरकारले दिनै पर्छ, मानवीयता मरेको छैन भने हरेक मानिसले दिनै पर्छ । र, सभ्य समाजको परिकल्पना गरिरहेका हामी अधिकारकर्मीहरुले पनि दिनै पर्छ । काजलकलीहरुको निरीह मृत्यु कुरिरहने हैन, उनीहरुको अधिकारको पक्षमा हामी सबैले आवाज उठाउनुपर्छ । किनभने हरेक प्राणीको जीवन अमूल्य हुन्छ । समाजमा उनीहरुको योगदान अमूल्य हुन्छ ।

प्रतिक्रिया दिनुहोस्