हैजा नियन्त्रणमा महानगरको सतर्कता



काठमाडौं । 

राजधानीमा हैजा फैलिएपछि उपत्यकाका दुई महानगरपालिकाले उच्च सतर्कता अपनाएको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै दूषित पानी र अस्वस्थ खाना नखान सर्वसाधारणमा अपिल जारी गरेको छ ।

आइतबार १२ जनामा हैजा संक्रमण देखिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चमनलाल दासका अनुसार हालसम्म १७ जनामा हैजा पुष्टि भएको छ ।काठमाडौंको बागबजार, डिल्लीबजार, नैकाप, कपन, बालाजु, सानेपालगायतका क्षेत्रमा हैजा देखिएपछि काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई पत्राचार गरी शुद्ध खानेपानीको व्यवस्थापन गर्न आग्रह गरेको छ । त्यसै गरी कामपाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई खाद्यको गुणस्तर मापन गर्न आग्रह गरेको छ ।

कामपा जनस्वाथ्य विभाग प्रमुख बलराम त्रिपाठीले नेपाल समाचारपत्रलाई हैजाको संक्रमण बढ्न सक्ने बताउँदै सोहीअनुसार तयारी गरिरहेको जानकारी दिनुभयो । कामपाले आज सोमबारबाट सामुदायिक विद्यालय र हैजाका बिरामी भेटिएका बागबजारलगायतका क्षेत्रमा आजबाट पानी सफा गर्ने क्लोरिन र पीयूष वितरण गर्ने कार्यक्रम शुरू गर्न लागेको जानकारी दिँदै उहाँले भन्नुभयो–‘जनस्वास्थ्यका कर्मचारी विद्यालयमा गएर जनचेतना बढाउन र शुद्ध पानी पिउने व्यवस्था गर्न पीयूष र क्लोरिन वितरण गर्न शुरू गर्नेछन् ।’

महानगर क्षेत्रमा ८९ वटा सामुदायिक विद्यालय र झण्डै ६ सयको हाराहारीमा संस्थागत विद्यालयमा अनुगमन गरी चेतनामूलक कार्यक्रम शुरू गरिसकेको जानकारी दिँदै उहाँले भन्नुभयो–‘खानेपानी र क्यान्टिनको अवस्थाको बारेमा समेत अनुसन्धान गर्नेछौं ।’ पछिल्लो समय हैजा तीव्र गतिमा फैलिन थालेको छ । हैजाको संक्रमणले टेकु अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ ।हैजा नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले आजबाट पाँच क्षेत्रमा विशेष सफाइ र सचेतना अभियान शुरू गर्दैछ । कामपाका महानगर प्रहरी प्रमुख धनपति सापकोटाले ३२ नम्बर वडाको पेप्सीकोला, ३ नम्बर वडाको महाराजगन्ज, १४ को कलंकी, १६ को बालाजु र ११ नम्बर वडाको बिजुलीबजारबाट सफाइ अभियान शुरू गर्ने जानकारी दिनुभयो । उहाँले महानगरपालिकका चारवटा क्षेत्र वर्गीकरण गरी हैजा नियन्त्रण गर्न प्रहरीले माइकिङसहित प्रचारप्रसार र नगरप्रहरीका डीएसपीको नेतृत्वको टोलीले अनुगमन गर्न लागेको जानकारी पनि दिनुभयो ।

कामपाले विशेषगरी विद्यालय तहका बालबालिकामा संक्रमण फैलनसक्ने आशंका गरेको छ । महानगरका प्रहरी प्रमुख सापकोटाले महानगरले पहिलादेखि नै चटपटे, पानीपुरीलगायत फुटपाथमा बेच्न राखिने खानेकुरामाथि प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । काठमाडाैं जिल्ला स्वास्थ्य कार्यालयले महामारी तथा रोकथाम नियन्त्रण फोकल पर्सन रामकृष्ण फुयाँलको संयोजकत्वमा गठित टोलीले आइतबारबाटै काम थालेको छ भने हैजा फैलिएको क्षेत्रमा जनचेतनाको कार्यक्रम शुरू गरेको छ ।

विभिन्न स्थानको पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म जीवाणु भेटिएपछि राजधानीमा हैजा फैलन थालेको पुष्टि भएको हो । काठमाडौंमा हैजा फैलिएसँगै ललितपुर महानगपालिकाले पनि चटपटे, पानीपुरी लगायतका खानेकुरा सडकमा खुला रूपमा बेच्न प्रतिबन्ध लगाउने भएको छ ।

महानगरका प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार आइतबारबाट प्रहरीले तीनवटा गाडीबाट टोलटोमा माइकिङ गर्न शुरू गरिसकेको छ भने महानगरले आज सोमबारबाट फुटपाथमा बेच्न राखिएको खानेकुरा बन्द गराउने भएको छ । ललितपुरका मेयर चिरिबाबु महर्जनले हैजाको प्रकोप फैलिन नदिन विशेष सतर्कता अपनाउन निर्देशन दिएपछि नियन्त्रण शुरू गरेको प्रहरी प्रमुख हाछेथुले बताउनुभयो ।

हैजाबाट जोगिने उपाय 

सकेसम्म उमालेर वा क्लोरिन हालेर मात्रै पानी पिउने ।
खाना खानुअघि, खाएपछि, दिसा पिसाब गरिसकेपछि साबुन पानीले हात राम्रोसँग धुने ।
सरसफाइमा ध्यान दिने ।
चटपटे, पानीपुरीलगायतका फुटपाथका खानेकुरा नखाने ।
एक अर्काको खाना बाँडेर नखाने ।
पानीको स्रोत (इनार, कुवा, पोखरी) सफा राख्ने ।
झाडा पखाला लाग्नासाथ जीवनजल खाने ।
सकभर एन्टिवायोटिक नखाने, झोलिलो पदार्थ सेवन गर्ने ।

प्रतिक्रिया दिनुहोस्