मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम उद्देश्य र कार्यविधि विपरीत सञ्चालन



बुटवल । प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम उद्देश्य र कार्यविधिअनुसार नचलेको बताएका छन् । कार्यक्रमका लागि छुट्याइएको वजेट उद्देश्य विपरीत खर्च भएपछि कार्यविधि परिवर्तन गर्न लागिएको उनले बताए ।

मुख्यमन्त्री कार्यालयको आयोजना र शिक्षा पत्रकार समूहको सहजीकरणमा आज (आइतबार) बुटवलमा गरेको शैक्षिक विकास र मुद्दा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष क्षेत्रीले शैक्षिक गुणस्तर सुधार गर्ने क्षेत्रभन्दा अन्य क्षेत्रमा कार्यक्रमको वजेट दुरुपयोग भएको दाबी गरे ।

शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका बेथिति नहटाउने हो भने यसले प्रदेश सरकारलाई नै डुबाउने चेतावनी दिए । उनले शिक्षा क्षेत्रका विकृति विसंगतीहरुलाई मिडियाले गम्भिरताका साथ वाहिर ल्याउन जरुरी रहेको औँल्याए ।

प्रदेश शिक्षा मन्त्रालयका प्रतिनिधि लक्ष्मण ज्ञवालीले शिक्षामा सरकारको लगानी अत्यन्त न्यून हुने गरेका कारण माग अनुसारका शैक्षिक गुणस्तरमा अवरोध पुगेको बताए । उनले शिक्षा क्षेत्रमा धेरै आयोजनाको माग हुने गरेको तर वजेट अभावले समस्या भएको बताए ।

कान्ति मावि बुटवलका प्रधानाध्यापक गोविन्द ज्ञवालीले सरकारले माध्यमिक तहको शिक्षा निःशुल्क भनेपनि वजेट र विद्यार्र्थी अनुपातमा शिक्षक दरबन्दी उपलब्ध नहुँदा समस्या भोगिरहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष विक्रम खड्कालगायतले बोल्दै शिक्षालाई सरकारले प्राथमिकतामा राखेको भने पनि वजेट त्यस अनुसार विनियोजन नहुँदा समस्या भएको बताए ।

कार्यक्रममा सहभागि पत्रकारहरुले प्रदेश सरकारले हचुवाको भरमा वजेट बाड्ने काम गरेको भन्दै शिक्षा क्षेत्रका विकृति रोक्न सरकार लाचार भएको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्