भीरकोटको दशौं नगरसभा सम्पन्न, नीति तथा कार्यक्रम र बजेटको प्राथमिकतामा सडक र तटबन्धन



स्याङ्जा । जिल्लाको पहिलो बालमैत्री नगरपालिका भीरकोट नगरपालिकाको दशौं नगर सभा सफलतापूर्वक सम्पन्न भएको छ । समृद्ध भीरकोटको आधार कृषि पर्यटन आँधीखोलाको उपहारू भन्ने मूल नारालाई आत्मसात गर्दै दशौं नगर सभाले नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले प्रस्तुत गरेको भीरकोट नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा दिगो सडक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।

नगरपालिकाको केन्द्र बयरघारी बजारबाट पूर्व र पश्चिम जोड्ने २ वटा रणनीतिक महत्वका सडकलाई स्तरोन्नति एवम् कालोपत्रे गर्ने कार्य थालनी गरिने, भीरकोट नगरपालिकाको स्वीकृत नगर सडक यातायात गुरूयोजना बमोजिम प्राथमिकताप्राप्त सडक योजनाहरू क्रमशः कार्यान्वयन गर्दै लगिने, नगरपालिका क्षेत्रभित्र खोलिएका पुराना तथा नयाँ सडकको मर्मत सम्भार र स्तरोन्नति गर्दा वातावरणीय प्रभावलाई न्यूनीकरण गर्ने उपायहरूको अवलम्बन गरिने, सबै वडाहरूमा ुएक वडा, एक रणनीतिक सडक छनौट गरी मर्मत, सम्भार र स्तरोन्नति गरी बाह्रै महिना निर्वाध रूपमा सडक सञ्चालन हुने व्यवस्था मिलाइने लगायतका कार्यक्रमहरू नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

नगरपालिकाको पहिचानको रूपमा रहेको आँधीखोला आसपासका खेतीयोग्य भूमीको संरक्षणको लागि व्यवस्थित तटवन्धन गर्ने र आँधीखोलाको दुवै किनारमा हरित सडक निर्माण गर्ने कार्यलाई निरन्तरता दिईने नीति लिइएको छ ।

भीरकोट नगरपालिकामा स्थायी बसोबास गरेका र भीरकोट नगर अस्पताललाई उपचारको प्रथम सेवा बिन्दु राखी स्वास्थ्य बिमा गरेका अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था मिलाईने, भीरकोट नगरपालिकामा स्थायी बसोबास गरेका र भीरकोट नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरूमा कम्तीमा चार पटक (चौथो, छैटौं, आठौं र नवौं महिनामा) गर्भ जाँच गरेका र सुत्केरी पश्चात तीन पटक (पहिलो, तेश्रो र सातौं दिनमा) स्वास्थ्य जाँच गरेका सुत्केरी महिलालाई प्रसुती पोषण भत्ता उपलब्ध गराइने नगरपालिकाभित्रका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूमध्ये वृद्ध, अशक्त, अपाङ्गता भएका व्यक्ति र बिरामीहरूलाई सम्बन्धित बैंकसँग समन्वय गरी सम्बन्धित वडाबाट घरघरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था गरिने कुरालाई समेत नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।

बाँझो जग्गामा व्यवसायिक खेती गर्ने कृषकलाई प्रोत्साहन, बाँदर नियन्त्रण ,५० प्रतिशत अनुदानमा कृषि सामाग्री तथा बिउबिजन वितरण ,कृषि एम्बुलेन्स संचालन, उत्कृष्ट कृषकका सन्ततीलाई छात्रवृत्ति वितरण, कोल्डस्टोर निर्माण सम्भाव्यता अध्ययन, पशु स्वास्थ्य शिविर संचालन लगायतका कार्यक्रममार्फत कृषि क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ ।

धार्मिक तथा पर्यटकीय महत्वका छाङ्गछाङ्गदी, स्वरेक मैदान, केघा देउराली मन्दिर, भीरकोट कालिका मन्दिर, गडहरे गुफा, मुल्का बराहा, कोखेको झरना, देउपुजे ढुंगा, नारायणगिरी बाबा मन्दिर, खीलुङ्ग कालिका मन्दिर, ओकादी, भीरकोट दरबार, बराह कालिका मन्दिर, राजेन्द्र भवानी मन्दिर, ढापुक कालिका मन्दिर, कालिकाकोट मन्दिर, दभुङ्ग कालिका मन्दिर, जलदेवी मन्दिर, देवी देउराली मन्दिरलगायतका स्थलहरूको विकास र प्रवर्द्धनलाई जोड दिइएको छ ।

नगरपालिका क्षेत्रमा पर्यटन प्रर्वद्धनका पोखराको विकल्पमा रहेका खिलुङ र स्वरेकमा पर्यटन पूर्वाधारको विकास, पर्यटनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनका लागि आवश्यक सहयोग र समन्वय, ऐतिहासिक पर्यटकीय खेलको पहिचान र पर्यटकीय पदमार्ग स्थलहरूमा पूर्वाधार निमार्ण आँधीखोलामा सिजनलरूपमा जलयात्रा सञ्चालन गर्ने कार्यका लागि सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरि भीरकोटको समृद्धिको यात्रालाई दरिलो बनाइने नीति लिइएको छ ।

वन संरक्षण, विपत् व्यवस्थापन, सरसफाई, पार्क निर्माण, फोहरमैलाको व्यवस्थापन, शुसासन पनि प्राथमिकतामा परेका छ्न् । नगरपालिकामा कार्यरत कर्मचारीलाई जिम्मेवार, कर्तव्यनिष्ठ र उत्तरदायी बनाई कार्यसम्पादनलाई नतिजामूखी बनाउन साउन मसान्तभित्र परिमाणात्मक तथा मापनयोग्य सूचक सहित नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसंग तथा प्रमुख प्रशासकीय अधिकृतले विषयगत शाखा प्रमुख र वडा सचिवसँग कार्यसम्पादन सम्झौता गर्ने व्यवस्था मिलाइएको छ ।

नगर उपप्रमुख भगवती रेग्मी अर्यालले प्रस्तुत गरेको बजेट पनि नगर सभाले सर्वसम्मत पारित गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० का नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न ७५ करोड ४ लाख ३० हजार विनियोजन गरिएको छ । कुल विनियोजनमध्ये चालु खर्चतर्फ ४३ करोड १७ लाख ४८ हजार अर्थात ५७.५३ प्रतिशत रहेकोमा सशर्त अनुदानतर्फको चालु खर्च २४ करोड ८९ लाख अर्थात ३३.१७ प्रतिशत र नगरपालिकातर्फको चालु खर्च १८ करोड २८ लाख ४८ हजार अर्थात २४.३६ प्रतिशत रहेको छ । त्यसैगरी कुल विनियोजनमध्ये पूंजीगत खर्चतर्फ १५ करोड ८६ लाख ८२ हजार अर्थात २१.१५ प्रतिशत र सामाजिक सुरक्षा खर्चतर्फ १६ करोड अर्थात २१.३२ प्रतिशत रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये गत वर्षको नगद मौज्दातबाट २ करोड ५० लाख, आन्तरिक राजस्वबाट ४ करोड, संघीय सरकार र गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट १० करोड ४५ हजार, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ०३ लाख ८५ हजार र अन्य स्रोतबाट ५० लाख व्यहोरिनेछ ।

नगरपालिकाको केन्द्र बयरघारी बजारबाट पूर्व र पश्चिम जोड्ने २ वटा रणनीतिक महत्वका सडकको स्तरोन्नति तथा कालोपत्रे गर्ने कार्यका लागि बहुवर्षीय योजनाको अवधारणा अनुरूप कार्यान्वयन गर्ने गरी प्रति सडक १ करोडका दरले जम्मा २ करोड विनियोजन गरिएको छ ।

सुन्दरबजार थालेखर्क( स्वरेक मैदान सडक खण्डको स्तरोन्नतिको लागि संघीय समपूरक अनुदान शीर्षकमा प्राप्त ८० लाख र नगरपालिकाको ८० लाख गरी कुल १ करोड ६० लाख विनियोजन गरिएको छ । बयरघारी(ओसेक(डाँडाँकोट( बानेथोक सडक खण्डको स्तरोन्नतिको लागि प्रदेश समपूरक अनुदान शीर्षकमा प्राप्त ५० लाख र नगरपालिकाको ३४ लाख गरी कुल ८४ लाख बजेट छुट्टाइएको छ ।

मोहनडाँडाँ(पखेरे(ओकादी( सिर्कोट सडक खण्डको स्तरोन्नतिको लागि प्रदेश समपूरक अनुदान शीर्षकमा प्राप्त ५० लाख र नगरपालिकाको ३४ लाख गरी कुल ८४ लाख विनियोजन गरिएको छ । आँधीखोलाको किनारमा रहेको बस्ती तथा खेतियोग्य जमीनको संरक्षण गर्न तटबन्धन गर्ने कार्यका लागि १ करोड विनियोजन गरिएको छ । बस्ती तथा वडास्तरबाट प्राथमिकताक्रम तोकि आएका आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्नको लागि वडा नं। १, २, ४, ५, ६, ७ र ९ को लागि प्रति वडा ३० लाख र वडा नं। ३ र ८ को लागि प्रतिवडा ४० लाखको दरले विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्