वीरगन्ज नाकाबाट इन्धन आयातमा ७८ प्रतिशतले वृद्धि



वीरगन्ज ।

देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगन्ज नाका प्रयोग गरी हुने इन्धन आयातमा ७८ प्रतिशतले वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७–७८ को साउनदेखि जेठसम्ममा वीरगञ्ज नाका प्रयोग गरी ७४ अर्ब ३४ करोड ६६ लाख मूल्य बराबरको १४ लाख १८ हजार २१७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल हवाई इन्धन आयात भएको थियो । चालु आव २०७८-७९ को सोही अवधिमा वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि एक खर्ब ५३ अर्ब ३६ करोड ७ लाख मूल्यको २५ लाख ३१ हजार ६ सय ६० किलो लिटर इन्धन आयात भएको छ । यो गत आवभन्दा ७८.५१ प्रतिशत बढी इन्धन आयात हो ।

त्यस्तै, वीरगन्ज नाकाबाट हुने खाना पकाउने एलपीजी ग्याँसको आयातमा समेत करिब ८ प्रतिशतले वृद्धि भएको छ । गत आवमा २ लाख ३९ हजार ६सय ३८ मेट्रिक टन ग्याँस आयात भएकोमा चालु आवको सोही समयमा १८ हजार ५ सय मेट्रिक टन बढी अर्थात् २ लाख ५८ हजार १५० मेट्रिक टन बढी आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
नाकाबाट डिजेल, पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने ग्याँसको आयात बढे पनि मट्टीतेलको आयात ३० प्रतिशतले घटेको छ । गत आवमा ११ हजार दुईसय २० किलोलिटर इन्धन आयात भएकोमा चालु आवमा ३ हजार ३ सय ६० किलोलिटर कम अर्थात् सात हजार ८ सय ६०किलोलिटर आयात भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो ।

उहाँले वीरगन्ज नाकाबाट भित्रिएका डिजेल, पेट्रोल, मट्टीतेललगायतका इन्धन र खाना पकाउने ग्याँसबाट गत आवभन्दा चालु आवमा करिब ३४ प्रतिशत बढी राजस्व सङ्कलन भएको बताउनुभयो । गत आवमा ५४ अर्ब ५३ करोड ९२ लाख रुपियाँ राजश्व सङ्कलन भएकोमा चालु आवमा १८ अर्ब २८ करोड ३४ लाख बढी अर्थात् ७२ अर्ब ८२ करोड २६ लाख रुपियाँ सङ्कलन भएको बताउनुभयो । नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धन र ८५ प्रतिशत खाना पकाउने एलपी ग्याँस वीरगन्ज नाकाबाटै हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्