नेपाली विषयमाथिको अन्याय हटाउन ध्यानाकर्षण पत्र



काठमाडौं । 

कक्षा ११ र १२मा अध्यापनरत नेपाली विषयका शिक्षकहरूले पाठ्यक्रम विकास केन्द्रका निर्देशक अणप्रसाद न्यौपानेसमक्ष ध्यानाकर्षण पत्र पेस गरेका छन् ।

ध्यानाकर्षण पत्रमा निजी तथा सामुदायिक विद्यालयले पाठ्यक्रमले निर्देश गरेअनुरूप ७५ पूर्णाङ्कको नेपाली विषय अध्यापनका लागि छुट्याइएको ३ क्रेडिट आवरको समय अत्यन्त कम भएको साथै निजी विद्यालयले विज्ञान तथा व्यवस्थापन विषयलाई बढी समय प्रदान गरेर नेपाली विषयको अध्यापन समयलाई चालिस मिनेटका तीन पिरियडमा सीमित गरेकाले सिकाइमा विद्यार्थीलाई त्यसको गम्भीर असर परेको प्रष्ट पारेका छन् ।

कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले नै लिने र कक्षा १२ मा मात्र बोर्डअन्तर्गत वार्षिक परीक्षा गराउँदा विद्यार्थीमा पढाइको स्तर झन खस्किँदै गएको देखिएको छ । कक्षा १२ को उत्तरपुस्तिका परीक्षण गर्दा विद्यार्थीहरूमा विषयवस्तुको ज्ञानको तह अत्यन्त कमजोर रहेको निष्कर्ष प्रस्तुत गर्दै शिक्षक शिक्षिकाहरूले केन्द्रले पाठ्यक्रममा उल्लेख भएको क्रेडिट आवरलाई विद्यालयले पूर्णरूपमा पालना गरे नगरेको अनुगमन गर्न ध्यान आकृष्ट गराएका छन् ।

आगामी शैक्षिक वर्षमा नेपाली विषयको पाठ्यक्रममा संशोधन गरी अन्य विषयसरह नेपाली विषयलाई पनि अध्यापन समय बढाउन पनि आग्रह गरिएको छ । साथै कक्षा ११ को परीक्षा प्रणालीलाई पनि बोर्डमातहत नै सञ्चालन गर्न पहल गर्न आग्रह गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै निर्देशक न्यौपानेले आगामी समयमा सञ्चालन गरिने सम्पूर्ण शैक्षिक कार्यक्रमलाई व्यवस्थित गरिने बताउनुभयो । कक्षा ११ को परीक्षा प्रणालीलाई पनि बोर्डमातहत नै सञ्चालन गर्ने विषय सकारात्मक रहेकाले आफूले यस विषमा पहल गर्ने आश्वासन दिनुभयो । विगतमा कोभिडको प्रभावले विद्यार्थीहरूले घरबाटै अनलाइन कक्षा लिने गरेका र अधिकांश विद्यार्थीले अनलाइन कक्षामा ध्यान नदिँदा विद्यार्थीहरूको अध्ययन कमजोर बन्दै गएको पनि उहाँले उल्लेख गर्नुभयो ।

यसैक्रममा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको २०७८ सालको एसईई परीक्षाको नतिजा आउने समय नजिकिँदै गर्दा विगतमा नेपालको शिक्षामा कोभिडले पारेको असरले पनि एसईईको नतिजामा नकारात्मक प्रभाव पार्ने एकातिर स्पष्ट छ भने अर्कातिर ३५ प्रतिशत भन्दा कम अंक ल्याउने विद्यार्थीको नतिजा नन ग्रेडिङका रूपमा राखिने निर्णयले पनि यस वर्षको एसईईको नतिजा विगतको भन्दा पनि नकारात्मक परिणाम आउने शिक्षा क्षेत्रका विज्ञहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्