प्रधान सेनापति शर्मा र लेवनानका राष्ट्रपतिबीच भेटवार्ता



काठमाडौँ।

यही असार ४ गतेदेखि लेवनानको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्माले लेवनानका राष्ट्रपति मिशेल औनसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

उक्त भेटघाटको क्रममा, लेवनानका राष्ट्रपति औनले नेपाली शान्ति सैनिकहरुको योगदान, विशेष गरी, लेवनानमा शान्ति स्थापनाका लागि ३१ (एकतीस) जना नेपाली शान्ति सैनिकहरुले गरेको बलिदानको प्रशंसा गर्नुका साथै उनले लेवनानी स्थानीय समुदाय र नेपाली शान्ति सैनिकहरु बीचको उत्कृष्ट सम्बन्ध, पर्यावरण संरक्षण र अन्य सामुदायिक परियोजनाहरुमा नेपाली शान्ति सैनिकहरुले पुर्‍याएको योगदानको समेत उच्च प्रशंसा गरेका थिए।

सोही क्रममा प्रधान सेनापति शर्माले नेपालका सम्माननीय राष्ट्रपतिको तर्फबाट लेवनानका राष्ट्रपति तथा सम्पूर्ण लेवनानी जनतालाई पठाउनु भएको सद्‍भावना सन्देश जानकारी गराउँदै लेवनानी सरकारले नेपाली शान्ति सैनिकहरुलाई गरेको समर्थन तथा सहयोगका लागि लेवनानका राष्ट्रपतिलाई धन्यवाद व्यक्त गरेको  सेनाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

लेवनानको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधान सेनापति शर्मा, भ्रमणदल सहित आजै सिरिया तर्फ प्रस्थान गरेका छन् । प्रधान सेनापति शर्माले आजै सिरियाका (संयुक्त राष्ट्र विच्छेदन पर्यवेक्षक बल) मिसन प्रमुख,फोर्स कमाण्डर र सैन्य नेतृत्व टोलीसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्