एनओसी शाखामा विद्यार्थीको थेगिनसक्नु भीड



काठमाडौं । 

कलिला विद्यार्थीलाई नेपालमै उच्चशिक्षा हासिल गर्ने वातावरण बनाउन नसक्दा विदेशिनेको संख्या थेगिनसक्नु छ । मंगलबार केशरमहलस्थित वैदेशिक अध्ययन अनुमतिपत्र शाखा (एनओसी) पुग्दा सयौंको संख्यामा ‘एनओसी लेटर’ लिनेको भीड लागेको थियो । विद्यार्थीको भीड केशरमहलको बाहिरी गेटसम्म थियो । भीड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

केही दिन स्थानीय निर्वाचनका कारण र त्यसपछि आइतबार सार्वजनिक बिदा गरेकाले त्यस बेलादेखिको असरले भीड बढेको एनओसी शाखाको भनाइ छ । शाखा प्रमुख हरिप्रसाद निरौलाले अनलाइन फारम भरेर प्रमाणीकरण भएको भोलिपल्ट पत्र दिने व्यवस्था गरे पनि प्रमाणीकरण नै नभई शाखामा आउने गरेका कारण भीड बढ्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अनलाइन फारम प्रमाणीकरण भएपछि मात्र एनओसी पत्र लिन आए यस्तो भीड हुने थिएन ।’ गत वर्षको लकडाउनपछि अस्ट्रेलियालगायत विदेशी मुलुकले भिसा खुला गरेका कारण सो मुलुकमा पढ्न जाने विद्यार्थीको भीड बढेको हो ।

शाखा प्रमुख निरौलाका अनुसार भर्खरै १२ पास गरेका २२–२३ वर्षका कलिला विद्यार्थी बुझ्दै नबुझी कलेजको नाम छनोट गर्ने र फारममा भरेको विवरण गल्ती लेख्ने गरेको पाइएको छ । गल्ती विवरण भर्नाले अनलाइन फारम प्रमाणीकरण नभएका कारण शाखामै आउने गर्दा भीड बढेको हो ।

‘आज एउटा कलेज पढ्न अनुमतिपत्र लग्यो, भोलि पुनः अर्कै कलेज जानुप-यो, विषय नै मिलेन भन्दै रद्ध गर्न आउनेको संख्या बढेको छ’, यस्ता विद्यार्थीका कारणले भीड बढेको स्पष्ट पार्दै शाखा प्रमुख निरौलाले भन्नुभयो– ‘अभिभावकसँग सल्लाह नगरी शैक्षिक परामर्शकर्ताको भनाइका आधारमा फारम भर्दा समस्या परेको हो ।’दैनिक ५० जना फारम रद्ध गरी अर्कै कलेज र विषयमा फेरि फारम भर्नुप-यो भन्दै आउने गरेको बताउँदै प्रमुख निरौलाले भन्नुभयो– ‘नबुझेर फारम भर्ने अनि विषय र कलेज नमिलेको भन्दै फिर्ता गर्न शाखामै आउनुपरेका कारण भीड बढेको हो ।’

‘आफू पढ्ने विश्वविद्यालय, कलेज र अन्य शिक्षण संस्थाको बारेमा राम्ररी बुझेर मात्र अनुमतिपत्र लिन आउनुस् । सबै विषय प्रस्ट भएपछि मात्रै अनुमतिपत्र लिन आउँदा भीड बढ्दैन’ –निरौलाले भन्नुभयो ।केही दिनपछि अनलाइन फारम भरेको एक दिनपछि अर्थात् एकदिनमै नो अब्जेक्सन लेटर दिने गरी व्यवस्था मिलाउन लागेको उहाँको भनाइ छ । सबै कर्मचारी बिहान ६ देखि साँझ ६ बजेम्म बस्दा पनि काम गर्न कठिन भएको बताउँदै उहाँले भन्नुभयो– ‘बिदाका कारण समस्या भएको थियो अब यस्तो हुँदैन ।’

एनओसी शाखाका अनुसार विगत एक महिनायता दैनिक १ हजारदेखि १ हजार २ सय जना विद्यार्थी वैदेशिक अध्ययन अनुमति पत्र लिन आउने गरेका छन् । तथ्यांकअनुसार मंगलबार करिब एक हजारले अनुमतिपत्र लिएका छन् ।
शाखा प्रमुख निरौलाले अस्ट्रेलिया, जापान, अमेरिका, क्यानडा, बेलायत, बंगलादेश, डेनमार्क कोरिया, रुस, चीन र भारतमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढ्न थालेको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले १ सय ३ मुलुकका लागि अनुमतिपत्र दिने गरेको छ ।

सबैभन्दा बढी अस्ट्रेलिया पढ्न जानेको संख्या रहेको निरौलाको भनाइ छ । तथ्यांकअनुसार गएको साउनदेखि हिजो मंगलबारसम्म अस्ट्रेलियामा ६१ हजार ६ सय ३६ जनाले अनुमतिपत्र लिएका छन् । जापानमा १६ हजार ३ सय २८, अमेरिकामा ४ हजार ८ सय ५२, क्यानडाका लागि ५ हजार २ सय १, बंगलादेशका लागि ३ सय ३८, डेनमार्कमा २ सय ५२, कोरियामा १ हजार १ सय ९२ र रुसमा ५ सय ७१ जनाले नो अब्जेक्सन लेटर लिएका छन् ।अनुमतिपत्र लिएकामध्ये अधिकांश उच्च शिक्षा अध्ययनकै सिलसिलमा उतै बस्ने गरेका छन् । अझ भारत जाँदा नो अब्जेक्सन लेटर लिनु नपर्ने भएकाले भारतमा कति विद्यार्थी पुगे भन्ने तथ्यांक छैन । पछिल्लो एक दशकमा भारतबाहेक झन्डै ५ लाख विद्यार्थी अध्ययनको सिलसिलामा विदेशिएका छन् । गत साउन १ देखि बुधबारसम्म १ लाख ३३ हजार ३ सय ४६ ले नो अब्जेक्सन लेटर लिएका छन् ।

गएको फागुन यता महिनामा झन्डै १२ हजारले एनओसीपत्र लिएका छन् । फागुनमा १३ हजार ९ सय ७२, चैतमा १६ हजार २ सय ८४ छन् । त्यस्तै यो वैशाखमा १५ हजार ७ सय ७१ र जेठमा १४ हजार ६ सय १३ र पछिल्लो एक सातायता करिब ३ हजार ५ सय जनाले एनओसीपत्र लिएका छन् । एनओसी दिएबापत सरकारले २ हजार राजस्व लिने गरेको छ । गत वर्ष झन्डै १६ करोड राजस्व उठेको थियो । चालु वर्षको दुई महिनामा ६ करोड ७ लाख रुपियाँ राजस्व संकलन भएको छ । अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले पछिल्लो समय विदेशिने विद्यार्थीको संख्या ह्वात्तै बढेको बताउनुभयो ।

उहाँले यही अवस्था रहिरहे अबको ५ वर्षमा अधिकांशका छोराछोरी माध्यमिक शिक्षा पूरा गरेलगत्तै विदेशिने दाबी गर्नुभयो । अब नेपालका युवा विदेशमा पलायन हुने अवस्था आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो– ‘सार्क राष्ट्रमा उच्च शिक्षा अध्ययन गर्ने अधिकांश फर्किने गरेका छन् । युरोप, अमेरिका, अस्ट्रेलियालगायत विकशित मुलुक पुग्नेमध्ये करिब २ प्रतिशत मात्र फर्कने गरेका छन् ।’

हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले अध्ययनका क्रममा विदेशिने विद्यार्थीको संख्या बढ्दा सरकारलाई ठूलो घाटा लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘उत्कृष्ट विद्यार्थी बाहिरिँदा नेपालको सबै क्षेत्रमा कुशल जनशक्तिको समस्या पर्न थालेको छ । रोजगारदाता निकायमा सक्षम कामदार पाउनै कठिन भएको छ ।’ उहाँले अध्ययनका क्रममा हजाराैं विद्यार्थी बाहिरिने व्यवस्था रोक्न शिक्षा मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा उत्कृष्ट शिक्षा दिनुपर्ने तथा महत्वपूर्ण विषयमा कोटा थप गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्