सुजन र स्लिशा पहिलो



काठमाडौं । 

आर्मीका सुजन राना मगर र स्लिशा रायमाझी ओलम्पिक दिवसका अवसर आयोजित सुटिङ प्रतियोगितामा सोमबार पहिलो भएका छन् ।

व्यक्तिगत १० मिटर एयर राइफलको पुरुषमा सुजन तथा महिलामा स्लिशा पहिलो भएका हुन् । सुजनले ३९६.६ तथा स्लिशाले ४०६.५ अंक जोडे । पुरुषमा कुमार कार्की दोश्रो तथा नारायण सिंह दोङ तेश्रो भए । दुवै आर्मीका हुन् । महिलामा ओलम्पियन नेपाल प्रहरी क्लबकी फूलमाया क्याप्छाकी दोश्रो तथा ललितपुरकी सुस्मिता नेपाल तेश्रो बने । राइफलको प्रतिस्पर्धा कुल ४३६ पूर्णाङ्कमा भएको थियो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको सुटिङ रेन्जमा भएको व्यक्तिगत १० मिटर एयर पेस्तोलको पुरुषमा सर्वाधिक ३६९ अंकसाथ आर्मीका विष्णु दिस्वा नगर शीर्ष स्थानमा रहे ।

प्रहरीका मानबहादुर घले दोश्रो तथा काठमाडौंका कुवेर केसी तेश्रो स्थानमा रहे । सो स्पर्धाको महिलामा ३७४ अंक बटुलेकी ज्योतिका ढकाल शीर्ष स्थानमा रहिन् । सुनिता महर्जन दोश्रो तथा सरिता बस्नेत तेश्रो भए । पदक विजेता तीनै आर्मीका हुन् । पेस्तोलको पूर्णाङ्क ४ सय थियो ।

प्रतिक्रिया दिनुहोस्