तपाईं आफ्नो जीवनमा के चाहनुहुन्छ !



जुन माटोबाट तपाईं आउनुभएको थियो, त्यही माटोमा गएर तपाईं मिल्नु हुनेछ ! यो पृथ्वी, तारा, जे जति पनि तपाईं देखिरहनुभएको छ । सबै यही माटोबाट बनेका हुन् । तपाईं पनि यही माटोबाट बन्नुभएको छ । यसैबाट आउनुभयो र यहीँ गएर मिल्नु छ । यस्तै हुनेछ । सबैभन्दा ठूलो कुरा त के छ भने तपाईं जुनसुकै अवस्थामा हुनुहोस्, जस्तोसुकै परिस्थितिमा हुनुहोस् यो महामारीको समयमा तपाईं आनन्दमा नै हुनुहोला, तपाईं कुशल–मङ्गल नै हुनुहोला ।

किनभने, मानिसहरू चाहे धनी होऊन्, चाहे गरिब होऊन्, चाहे जोसुकै होऊन्, यो कुरा सबैसँग उपलब्ध हुन्छ । यो ती सृष्टिकर्ताको कृपा हो । चाहे जस्तोसुकै समय आओस्, जेसुकै भइरहेको होओस्, जस्तोसुकै दुःख होओस्, प्रकृतिमा जेसुकै भइरहेको होओस् मानिसले चाहँदा त्यस्तो परिस्थितिमा पनि आनन्दका साथ आफ्नो जीवन बिताउन सक्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा के छ भने यो मनलाई कसरी सम्झाउनुहुन्छ ! तपाईं आफ्नो जीवनमा के चाहनुहुन्छ ! किनभने, मानिसलाई हरेक कुराको चिन्ताले सताउँछ तर चिन्ता कुन कुराको हुनुपर्छ ? चिन्ता त यही नै हुनुपर्छ, ‘जबसम्म म यहाँ जीवित छु, मेरो समय व्यर्थ नजाओस् ।’ हामीलाई आफ्नो जिन्दगीमा के कुरा थाहा हुनुपर्छ भने हामीले के गर्नुपर्छ ! मानिसहरू भन्छन्, ‘यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ ।’ हामी तिनै कुराका पछि लाग्छौँ । तर, त्यसका लागि तपाईंलाई मानिसको शरीर प्राप्त भएको होइन । मानिसको शरीर त कुनै अर्कै प्रयोजनार्थ पाइएको हो ।

मानिसको शरीर यसकारण पाइएको हो– म आफ्नो समयलाई, आफ्नो जीवनलाई सफल पार्न सकूँ । मैले तपाईंलाई आफ्ना सबै जिम्मेवारीलाई छोडिदिनुहोस् भन्न खोजेको होइन । तर, ती जिम्मेवारीलाई वहन गर्दागर्दै पनि त्यस जिम्मेवारीलाई पनि बुझ्नुहोस् जसका लागि यो मानिसको शरीर पाइएको छ । ती सारा कुराहरू जे भइरहेका छन्, तिनबाट तपाईं विचलित नहुनुहोस् । वास्तवमा ती कुराहरूले मानिसलाई चिन्तित तुल्याएका हुन्छन् । तिनबाट मानिस चिन्तित हुन्छ । तर, तपाईंलाई आनन्द चाहिएको छ । त्यो आनन्द तपाईंभित्रै छ । जुन शक्तिहरू तपाईंसँग छन्, तपाईं तिनलाई बिर्सनुहुन्छ ।

भ्रमित हुने सबैभन्दा ठूलो कारण मानिसका लागि यही नै हो– जुन कुरा उसलाई थाहा छ, त्यही कुरालाई ऊ बिर्सन्छ । उसले बिर्सेपछि उसलाई यो कुराको ज्ञान हुँदैन– ‘अब म के गरूँ !’ यदि हामी आफ्नो जीवनमा सचेत भएर अघि बढ्यौँ– ‘यो मेरो जीवन हो । यो मेरा लागि प्राप्त भएको छ ।’ यदि एक–एक पाइला हामीले सचेत भएर अघि बढायौँ भने यो जीवनमा जिम्मेवारीहरू हुँदाहुँदै, समस्याहरू हुँदाहुँदै पनि हामीलाई जीवन जिउँदा आनन्द प्राप्त हुन्छ । कस्तो आनन्द ? यस्तो खालको आनन्द प्राप्त हुन्छ– ‘जब मानिसले बुझ्छ, यी जुन समस्याहरू आइरहेका छन्, जसका कारणले म विचलित भइरहेको छु ।

म भ्रमित हुनु आवश्यक छैन । अनि, यो समस्या पनि अवश्य जानेछ ।’यस्ता समस्याहरू त आउनेजाने भइरहन्छन् । तर, तपाईं आत्तिनु आवश्यक छैन । तपाईं दुःखी हुनु आवश्यक छैन । तर, एउटा अर्को चीज पनि छ आउने–जाने भइरहन्छ । अनि, जबसम्म त्यस चीजको आवागमन भइरहन्छ, समस्याहरू पनि आउनेछन् अनि जानेछन् । केही समस्यालाई तपाईंले ध्यान दिनुभयो । केही समस्यामा तपाईं निकै दुःखी हुनुभयो । केही समयपछि ती समस्याहरू पनि गए तर एउटा चीज छ– जुन तपाईंभित्र आइरहेको छ अनि गइरहेको छ । जबसम्म त्यो आइरहेको छ र गइरहेको छ तबसम्म सबै कुरा राम्रो हुन्छ । तर, त्यो नआएपछि तपाईंसँग सबैभन्दा ठूलो समस्या हुनेछ । त्यतिखेर तपाईंसँग त्यो समस्या समाधानको कुनै उपाय रहनेछैन ।

कुरा ती समस्याहरूको होइन । त्यो श्वासलाई स्वीकार गर्ने अनि तपाईंभित्र भएको चीजलाई बुझ्ने कुराचाहिँ हो । तपाईं त्यो चीजलाई चिन्नुहोस् । तपाईं त्यो चीजलाई पहिचान गर्नुहोस् । त्यो चीज के हो ! अनि, तपाईंको ध्यान त्यसमा रहुन्जेलसम्म तपाईंको जीवनमा आनन्द हुन्छ । यो जीवन तपाईंका लागि हो किनभने तपाईं त्यो आनन्दलाई बुझ्न सक्नुहोस् । यो जुन श्वास तपाईंभित्र आइरहेको छ अनि गइरहेको छ । यो पनि यसकारण हो ताकि तपाईंभित्र रहेको त्यो चीजलाई तपाईंले चिन्न सक्नुहोस् । किनभने, त्यही नै हुनेछ: जुन माटोबाट तपाईं आउनुभएको थियो, त्यही माटोमा गएर तपाईं मिल्नु हुनेछ ! यो पृथ्वी, तारा, जे जति पनि तपाईं देखिरहनुभएको छ सबै यही माटोबाट बनेका हुन् । तपाईं पनि यही माटोबाट बन्नुभएको छ ।

यसैबाट आउनुभयो र यहीँ गएर मिल्नु छ । यस्तै हुनेछ । चाहे तपाईंले जुनसुकै उपाधि हासिल गर्नुहोस्, तपाईंले जेसुकै गर्नुहोस् तर यस्तै हुनेछ । यस्तै नै भइरहेको छ र पछि पनि हुनेछ ।एकदिन यस्तो पनि आउनेछ– तपाईं यहाँ हुनुहुनेछैन । एकदिन यस्तो पनि हुनेछ– यो सारा सृष्टि नै पनि यहाँ रहनेछैन । चन्द्रमा, सूर्य, तारा पनि रहनेछैनन् । तर, आजको सत्य, त्यो वास्तविक सत्य के हो ?– तपाईंभित्र यो श्वास आइरहेको छ अनि गइरहेको छ । के कुरा सिक्नुपर्छ भने यसलाई कसरी स्वीकार गर्ने हो, यसलाई कसरी अपनाउने हो अनि आफ्नो जीवनलाई कसरी सफल तुल्याउन सकिन्छ । यो सिक्नुपर्ने कुरा छ । यदि यस कुरालाई सिक्नुभयो, यसलाई जान्नुभयो भने त सबै कुरा जान्नुभयो । तर, यसलाई जान्नुभएन भने केही पनि जान्नुभएन । केही पनि सिक्नुभएन ।

एउटा सानो कथा छ । एकपटक राजाकहाँ अर्कै देशबाट केही मानिसहरू आए । अनि उनीहरूले भने– ‘हामीलाई स्थान दिनुहोस् । हामी आफ्नो घर बनाउन सकौँ । घर निर्माण गर्न सकौँ ।’राजाले भने– ‘म तपाईंहरूलाई एउटा उदाहरण देखाउँछु ।’ उनले दुई गिलास दूध मगाए । एउटा ठूलो गिलासमा अनि एउटा सानो गिलासमा । उनले सानो गिलासको दूधलाई ठूलो गिलासमा राखे । ठूलो गिलासको दूधमा थपियो तर त्यो त पहिल्यै भरी थियो । त्यसकारण दूध पोखियो । अनि, राजाले भने– ‘हाम्रो अवस्था यस्तै छ । यहाँ पहिलादेखि नै ठाउँ भरिभराउ छ । यदि तपाईंका मानिसहरू यहाँ आउनुभयो भने हामी तपाईंलाई कुन स्थानमा राखौँ । त्यसकारण तपाईंहरू जानुहोस् ।’

त्यहाँबाट आएका मानिसहरूमध्ये पनि एकजनाचाहिँ बुद्धिमान मानिस थिए । उनले भने, ‘ठीकै छ ! म तपाईंलाई उत्तर दिन चाहन्छु ।’ उनले राजालाई भने, ‘एक गिलास दूध र चिनी मगाउनुहोस् ।’ उनले त्यो चिनीलाई लिए अनि त्यो दूधको गिलासमा हालेर घोलिदिए । उनले भने, ‘हामी यस्तै छौँ । हामी चिनी हौँ । हामी घोलिएर मिठास भरिदिन्छौँ ।’ त्यसपछि राजालाई बोध भयो अनि उनले आगन्तुकहरूलाई त्यहाँ बस्ने व्यवस्था मिलाइदिए ।परिवारमा पनि कहिलेकाहीँ सानोतिनो अन्तरविवाद एक–आपसमा भइहाल्छ । कहिले छोराछोरीसँग कुरा मिल्दैन, कहिले कसैसँग कुरा मिल्दैन । घरमा जति पनि सदस्यहरू छन् के उनीहरू चिनी बन्न सक्दैनन् ! जसले गर्दा उनीहरूले यो परिस्थितिमा पनि सबैका लागि मिठास ल्याउन सकून् । तीतोपनाका लागि त पूरै जीवन छ तर यो समय आनन्दपूर्वक अनि बुद्धिमतापूर्वक बितोस् ।आफूसँग रहन सिक्नुहोस् । चिन्तामा होइन, आनन्दमा किनकि मनले त चिन्तातर्फ डो-याउँछ । हृदयले चाहिँ आनन्दतर्फ लैजान चाहन्छ । आनन्दको बाटोमा हिँड्नुपर्छ ।

यो संसारमा बाँचुन्जेल हरेक मानिसले यस्तो कार्य गर्ने कोसिस गरिरहन्छ जसको परिणामले उसका लागि वास्तविक आनन्द र शान्ति प्रदान गरोस् । तर, प्रायः धेरै कुरा पाएपश्चात् पनि जिन्दगीमा केही न केही कमी भएको महसुस भइरहन्छ । त्यसलाई उसको हृदयले प्राप्त गर्न चाहेको हुन्छ । भित्री खुशी, आनन्द र सन्तुष्टिको चाहना हरेक मानिसको आवश्यकता हो ।हामीले सुनेका या पढेका पनि छौं– ‘जुन चीजलाई हामी खोजिरहेका छौं त्यो हामीभन्दा टाढा छैन । त्यो हामीभित्रै छ ।’ केवल पढे–सुनेका भरमा मात्र ‘त्यो हामीभित्र छ’ भन्ने कुरालाई धेरैजसोले बुझ्न सक्दैनन् । किनभने, खालि पढे–सुनेको मात्रै हो ‘भित्र छ’ भनेर, तर अनुभव गरेको छैन । यो त कस्तो कुरा भयो भने ‘हजुर, पेरिसमा ‘आइफल टावर’ छ तर मैले देखेको छैन ।’ यदि कसैले चर्चा ग-यो भने हामी भन्छौं, ‘हजुर, मैले नाम सुनेको छु ।’ तर, प्रत्यक्ष रूपमा नदेखेसम्म त्यो के चीज हो भनेर कसरी थाहा पाउने ? त्यो कस्तो देखिँदो हो ? हुन सक्छ, फोटोमा देखेको होला तर ‘आइफल टावर’ को रूप रङलाई त्यहाँ पुगेर प्रत्यक्ष देख्नु र फोटोमा हेर्नुमा धेरै अन्तर हुन्छ ।

यो त एउटा उदाहरण मात्र हो । वास्तवमा यो कुरा यो श्वास छँदै आनन्दलाई पाउने विषयका बारेमा हो । हामी सबै चाहन्छौं, हाम्रो जीवनमा आनन्द होओस् । हामी त्यो आनन्दलाई प्राप्त गर्ने कोसिस पनि गर्छौँ । तर, मानिसले जुन आनन्दलाई बाहिर खोजिरहेको छ त्यो आनन्द असीमित मात्रामा पहिलेदेखि नै उसैभित्र रहेको छ । त्यसलाई केवल अनुभव गर्नु आवश्यक छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण: डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्