ग्रामीण क्षेत्रमा लगानी बढाएर काम गर्छौं : गोविन्दकुमार कर्माचार्य



प्रमुख, भीरकोट नगरपालिका

जिल्लाको मध्य भागमा अवस्थित भीरकोट नगरपालिका संविधान घोषणासँगै घोषणा भएको नगरपालिका हो । यो नगरपालिका जिल्लाको एकमात्रै बालमैत्री नगरपालिका हो । गोविन्दकुमार कर्माचार्य नवनिर्वाचित भीरकोट नगरपालिकाका मेयर हुनुहुन्छ। नेपाली कांग्रेसबाट निर्वाचित उहाँ भीरकोटमा कांग्रेसको विरासत कायमै राख्ने मेयरसमेत हुनुहुन्छ ।

बालमैत्री नगरसमेत घोषणा भएको नगर भएका कारण भीरकोटलाई विशेष महत्वको साथ हेरिएको छ । नव निर्वाचित जनप्रतिनिधिलाई पाँचवर्षे विकासको खाका कोर्ने जिम्मेवारी आएको छ । आर्थिक वर्ष नजिकिँदै गर्दा नीति तथा कार्यक्रमसमेत बनाउनुपर्ने आवश्यकता देखिन्छ । सोही सन्दर्भमा नवनिर्वाचित मेयरसँग नेपाल समाचारपत्र दैनिकका स्याङ्जा संवाददाता अमृत अर्यालले गर्नुभएको कुराकानीको सार संक्षेप :

भीरकोट नगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएकोमा बधाई छ यहाँलाई । निर्वाचित भएर आएपछि यहाँका प्रमुख योजना र प्राथमिकता के–के हुन्?

धन्यवाद,हाम्रा प्रमुख योजना र प्राथमिकतामा वैज्ञानिक तथा आधुनिक कृषि प्रणाली, युवा स्वरोजगार, कृषकलाई मल तथा बिउमा अनुदान, आँधीखोला, लुब्दिखोला र सामदीखोलामा तटबन्ध, एक घर एक खानेपानी धारालगायत धेरै योजनाहरू छन् । ती सबैको फेहरिस्त यहाँ सम्भव नहोला । २०७९ को निर्वाचनमा मैले भीनपामा कांग्रेसको तर्फबाट नगर प्रमुखको उम्मेदवारी दिएको थिएँ । उम्मेदवारी पाएपछि सवै वडामा उम्मेदवारको हैसियतले पुगियो । भीरकोट नगरपालिका अत्यन्तै नयाँ नगरपालिकाको रूपमा चिरपरिचित छ । २०७२ सालमा स्थापना भएको नगरपालिका ऐतिहासिक हिसाबले महत्वपूर्ण रहेको छ ।

साविकको नगरपालिकामा १४ वटा वडा थिए । पछि स्थानीय तह घोषणा भएपछि नौ वटा वडामा समायोजन गरेर नगरपालिका बनाउने काम गरियो । साविक नगरपालिकाको वडा र त्यसपछि थपिएका वडाहरू सबै ग्रामीण क्षेत्रहरूबाट थपिएका छन् ।लगभग सबै वडाहरू पूर्वाधार, शिक्षा, कृषि र स्वास्थ्यको हिसाबले अत्यन्त विकट र विकास नभएको वडाको रूपमा परिचित छ । म ४० वर्षदेखि निरन्तर सामाजिक क्षेत्रमा क्रियाशील राजनीतिक कार्यकर्ता पनि हो ।

भीरकोटको भूगोल विकास, कुन क्षेत्रमा कुन समुदाय कसरी बसेको छ भन्ने अवगत छ । तथापि, वडामा मतदाताहरूसँग भेट्दा धेरै कुराहरू सुने र मेरा कुराहरू पनि राखे ।स्थानीय तह घोषणा गर्नुअघिको भीरकोट नगरपालिकामा भौतिक संरचना, सडक, शिक्षा, स्वास्थ्य र खानेपानीमा धेरै समस्या थियो । सुन्दर नगरपालिकाको रूपमा भीरकोटलाई हामीले विकास गर्ने योजना हामीसँग छ । अब हामी ग्रामीण क्षेत्रमा लगानी बढाएर काम गर्छौं ।

प्रायः नेताहरू सत्तामा पुगेपछि जनतासँग गरेका वाचा बिर्सने गर्छन् भन्ने आरोप लाग्ने गरेको छ नि ?

हामी बिर्सने छैनौँ । हामीले जनतासँग सत्तामा पुग्यौँ भने आँधीखोला नियन्त्रण गरी खेतीयोग्य जमिनको संरक्षण गर्छांै भनेर पहिलो वाचा गरेका थियौँ । अहिले हामीले आँधीखोलामा तटबन्धको काम शुरू गरिसकेका छौँ । ग्रामीण क्षेत्रबाट बनेका वडामा सबै कुरामा हामीले बढी प्राथमिकता दिएर विकास गर्नुपर्छ भन्ने अवधारणामा निर्वाचित भएर आएकाउपप्रमुख र वडाध्यक्ष पनि सहमत हुनुहुन्छ । हामीले जुन हिजो बोलेका थियौँ प्रत्येक वडामा त्यही हिसाबले बजेट विनियोजन गर्छौं । मुलभूत कुरा के भने बजेट विनियोजन गर्दा कम्तिमा वडामा उपलब्ध हुने विकासका योजनाहरूकृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधारको क्षेत्रमा प्राथमिकीकरण गरेर शिक्षा, स्वास्थ्य र त्यसपछि कृषिको क्षेत्रमा विषयगत अनुभव भएका व्यक्तिहरू, विषयगत विशेषज्ञहरू, शिक्षामा, स्वास्थ्यमा सबैको सुझाव लिएर अघि बढ्छौँ ।

कृषिको क्षेत्रमा तल्लो गरिब विपन्न वर्गलाई व्यावसायिक र रोजगारी दिने कुरामा कसरी गर्न सकिन्छ भन्ने अध्ययन र छलफल गरिरहेका छौं । त्योअनुरूप हामीले नीतिगत छलफल गरेर बनाएपछि इन्डिकेटरको रूपमा वडाध्यक्षहरूसमेत बसेर परिणाम आउने किसिमको नतिजामुखी योजनाहरू बनाउने योजना छ । हामीले धेरै कुराहरू सोचेका छौँ। कृषिको क्षेत्रमा अन्य दातृ संस्थाहरू कुन कुनले सहयोग गर्छ त्यसतर्फ पनि छलफल चलाइरहेका छौँ । उनीहरूलाई कृषि प्रर्वद्धनका लागि समन्वय गरेर नीति बनाउने कुरा पनि रहेको छ । हाललाई मैले भनेको क्षेत्रमा उपलब्धि हुने हिसाबले सबै वडाध्यक्षहरूलाई राखेर योजना बनाउने काम भइरहेको छ ।

बालमैत्री नगर घोषणा भइसकेको भीरकोट नगरपालिकालाई बालमैत्री शासनयुक्त नगरपालिका बनाउने योजना के–के छन्?

बालबालिकाको हित र चौतर्फी विकासका लागि काम गर्ने योजना छ । हामीलेबालबालिकाको स्वास्थ्यलाई सुधार गर्ने र गरिबीको रेखामुनि भएका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने योजना बनाएका छौं । भीरकोटलाई बालमैत्री, सफा, हरियाली एवं सुन्दर बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन एवं हेर्न लायकको ठाउँ बनाउन धेरै महत्वाकांक्षी योजना बनाइएको छ । भीरकोटलाई साँच्चिकै बालमैत्री बनाउन नयाँ शिराबाट काम शुरू गर्नुपर्ने देखिन्छ । शुरूमै दातृ निकायकोसहयोग पर्खेर काम हुन सक्दैन । नगरपालिकाका पहिले आफूमा सक्षम हुनुप¥यो, अनि दातृ निकायले पत्याउँछ । त्यो पत्याउने परिस्थिति निर्माण गर्ने कार्य हाम्रो हो, त्यसका लागि हामी सम्पूर्ण टोली लागिरहेका छाँै । हामी आत्मनिर्भर भएपछि को–कोसँग कुरा गर्ने, कुन परियोजनालाई आगाडि बढाउने भन्ने कुरा आउँछ । प्राचीन भीरकोटलाई संरक्षण गर्ने र आधुनिक बालमैत्री भीरकोट बनाउने हाम्रो उद्देश्य रहेको छ ।

यहाँको पर्यटकीय विकासका लागि के–कस्तो कदम चाल्ने योजनामा हुनुहुन्छ ?

पर्यटनतर्फ प्याराग्लाइडिङ, गडहरे गुफाको अन्वेषण तथा प्रचार–प्रसार, धार्मिक पर्यटनमा जोड, छायाँक्षेत्र मन्दिर, भीरकोट कालिकाको संरक्षण, देउपुजे ढुंगाको प्रचार–प्रसार तथा पर्यटकीय मार्ग निर्माण गर्ने योजनामा छौं । पर्यटनको क्षेत्र प्रर्वद्धन गर्ने सन्दर्भमा भीरकोट नगरपालिकाले नगरपालिकाभित्रको क्षेत्र मात्र प्रर्वद्धन गर्ने होइन, समग्र जिल्लाको पर्यटनलाई प्रर्वद्धन गर्न सकियो भने मात्र पर्यटकीय हिसाबले महत्व राख्न सक्ने ठान्दै प्याराग्लाइडिङको वल्र्डकपसमेत सम्पन्न गरिसकेको छ ।

खिलुङकालिका मन्दिर, सुन्दरचौर, मुल्काबराह, कोखे छहरा, होमस्टे प्रवद्र्धन आदिको विकास सम्बन्धमा सबैसँग छलफल गरेर एकीकृत योजना बनाउन सकिन्छ कि भन्ने लागेको छ । त्यो हिसाबले काम ग-यौँ भने समग्र भीरकोटको पर्यटन प्रर्वद्धन गर्न सहज हुन्छ भन्ने विश्लेषण छ । पाँच वर्ष नगरको विकासका लागि सबै नागरिकको आर्थिक उन्नति गर्न शिक्षा, स्वास्थ्य र कृषिमा आधुनिकीकरण गर्ने व्यवसायिकरूपमा कृषकहरूलाई उन्मुख गराउन सकिन्छ कि भन्ने सोचेका छौं । केन्द्र, प्रदेश र जिल्लामा छलफल चलाएर एग्रो टुरिज्मतर्फ पनि जाने योजना तयार गरेका छौं ।

तपाईसँग जनताले के आशा राखेका होलान् ?

जनताले हामीसँग छिटो–छरितो सेवा प्रवाह होस्, जनचाहनाअनुसार काम होस्, भीरकोट नगरपालिकाको दायाँबायाँको बाटो पिच होस् भन्ने आशा राखेका होलान् । निर्वाचनको क्रममा मतदाताको घरदैलोमा पुग्दा र अहिले विजयी भएपछि अधिकांश मतदाताको मूल चाहना भनेको बाँदर नियन्त्रण गरी खेतीवालीको संरक्षण गर्नु पनि रहेको छ । व्यवस्थितढल, नालीको व्यवस्था गरेर खेतीयोग्य जमिन डुबानको समस्याबाट मुक्त गराउन पनि आवश्यक छ ।

वर्षेनी आँधीखोलाले खेतीयोग्य जमिन कटान गरिरहेको छ, आंँधीखोलाको तटबन्धको योजना के छ ?

अहिले भीरकोट नगरपालिकाले आँधीखोला नियन्त्रणको सम्बन्धमा बृहत् सोच बनाएको छ । हामीले आँधीखोला नियन्त्रणका लागि तत्काल एक करोड रुपैयाँ विनियोजन गरेका छौं । आँधीखोलाको तटबन्ध गर्नु निकै आवश्यक छ । वर्षेनी आँधीखोलालेबहाव परिवर्तन गर्दा आसपासको खेतीयोग्य जमिन असुरक्षित छ । आँधीखोलाकै कारण छेउछाउको सडक पनि भत्किरहेको छ । त्यसैले, आँधीखोलाको तटबन्धसँगै छेवैको सडक निर्माणतर्फ ध्यान दिनु जरुरी छ । हामीले यसको दीर्घकालीन योजना बनाएर काम गर्ने सोचमा छौँ ।

नगरपालिकामा शिक्षा, स्वास्थ्य जस्ता विषयलाई कसरी अघि बढाउने सोचमा हुनुहुन्छ ?

अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था मिलाएका छौं । शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि धेरै काम गर्नुपर्ने देखिन्छ । उच्चस्तरको अस्पतालको आवश्यकता छ । कतिपय विपन्न जनता अहिलेको कर तिर्न असमर्थ रहेकाले करको दर घटाउने र करको दायरा बढाउनुपर्ने देखिन्छ । सामुदायिक विद्यालयमा निजी विद्यालयस्तरको जस्तै स्तरीय पठनपाठनको सुनिश्चित गरी प्रत्येक वडामा त्यस्तो विद्यालय स्थापना गर्नु आवश्यक छ । त्यसपछि, पनि नगरपालिकाका गरिबका छोराछोरी जसले आर्थिक अवस्थाका कारण उच्च शिक्षा अथवा आफूले अध्ययन गर्न चाहेको विषयमा आवश्यक सहयोगको प्रबन्ध गरिनेछ ।

दलका उम्मेदवारले जितेर गएपछि नगरपालिकामा आफ्ना कार्यकर्ता र आफन्तलाई भर्ती गर्ने गरेका थिए । तपार्इंलेचाहिँ के गर्नुहुन्छ ?

मैले त्यस्तो गरेको छैन र गर्दिन पनि । कुनै कर्मचारीले गल्ती गरेमा गल्ती गर्नेलाई अवश्य हटाउँछु । आफ्नो दलको कार्यकर्ता भर्ना गर्ने सोच छैन । हिजोका कर्मचारीहरू पनि प्रतिस्पर्धाबाट आएको जस्तो लाग्छ । सीमित मान्छेलाई जागिर दिनेभन्दा युवा स्वरोजगारका कार्यक्रमलाई अगाडि बढाउन सकिन्छ । भीरकोटका संस्थापक मेयरले सुशासनको बिउ रोपेर जानुभएको छ । सीमित मान्छे भर्ती गर्नेभन्दा भीरकोटभरिका नागरिकलाई विभिन्न आयमूलक काममा सक्रिय गराउन सकिन्छ कि भन्ने मलाई लागेको छ ।

भीरकोट नगरपालिकामा नाम मात्रको नगर अस्पताल छ । नगर अस्पताल निर्माणको लागि जग्गा प्राप्ति भइसकेको पनि छ, अब उक्त जग्गामा नगर अस्पताल बनाउनुहुन्छ कि कालिका सामुदायिक अस्पताललाई नै नगर अस्पतालमा रूपान्तरण गर्नुहुन्छ ?

नगर अस्पतालको नाममा प्राप्त भएको जग्गा अनुपयुक्त र अपर्याप्त भएकाले कालिका सामुदायिक अस्पताललाई नै नगर अस्पताल बनाउनुपर्ने भएको छ । भर्खरै मात्र यस अस्पतालको लागि आवश्यक उपकरणहरू खरिदका लागि ४० लाखको टेन्डर भएको छ । कालिका सामुदायिक अस्पताल भीरकोट सरकारको मातहतमा आएपछि जनतालाई स्वास्थ्य सेवा लिन थप सहज भएको छ । नगरवासीले सेवा लिएकै छन् । गुणस्तरीय सेवा र सेवा वृद्धि गर्न नगरपालिकाले के गर्न सक्छ, साविकको अस्पताल सञ्चालक समितिसँग हातेमालो गर्न तयार छौँ । यस अस्पतालबाट स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेगरी काम गर्नेछौँ ।

अन्त्यमा नेपाल समाचारपत्रमार्फत आम नागरिकलाई के भन्न चाहनुहुन्छ ?

मलाई अत्यधिक बहुमतले प्रमुखमा विजयी गराउनुभएकामा सम्पूर्ण नगरवासीप्रति हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्न चाहन्छु । नगरवासीले जुन विश्वासका साथ मलाई यो जिम्मेवारी सुम्पिनुभएको छ, त्यसलाई कत्ति पनि कम हुन नदिई इमान्दारपूर्वक काम गर्नेछु । एउटा व्यक्तिको प्रयासले मात्रै सम्पूर्ण नगरको मुहार फेर्न सम्भव हुँदैन । सबैको साथ र सहयोगको जरुरत पर्दछ । सँगसँगै अञ्जानमा बाटो बिराएमा खबरदारी र सचेत गराउन पनि आग्रह गर्दछु । निर्वाचनको क्रममा मैले सार्वजनिक गरेको प्रतिबद्धताको कार्यान्वयन गर्ने कुरामा आशंका नगर्न पनि आश्वस्त तुल्याउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्