आँखा चिम्लेर सहकारीमाथि विश्वास नगरौं ।



पछिल्लो समय बजारमा सहकारीको ठगीधन्दा ह्वात्तै मौलाएको छ । हुन त सहकारीले पहिले पनि उत्तिकै ठग्थ्यो तर अहिले अझै ज्यादा बनेको छ । सहकारीहरू भाग्ने क्रम अहिले पहिलेभन्दा पनि बढी भएको पाइन्छ । सहकारीका कारण हिजो पनि धेरै आम नागरिक सडकछाप भएका थिए भने अब झन् बढी हुने निश्चित छ ।

सहकारीले गर्दा आफ्नो घरखेतलगायत अन्य जेथो सखापै भएको गुनासो गर्ने व्यक्तिहरू पाइलैपिच्छे भेटिन्छन् । तर, पनि सहकारीको ठगको विषयमा सदनमा आजसम्म कुनै पनि सांसद्ले कुरा उठाएका छैनन् । आम जनताले दुःख गरेर खाइनखाई कमाएको पैसा कुम्ल्याएर सहकारी फरार हुँदा पनि सांसद्हरूलाई कुनै प्रभाव परेको देखिँदैन ।
अहिले बजारमा तरलता बढेको कुरा सबैलाई थाहा नै छ । सहकारीमा पैसा छैन । आफ्नो खातामा भएको पैसा निकाल्न गयो भने सहकारीले दिन सकेका छैनन् ।

जसले गर्दा आम नागरिकको अनुहारमा त्रास झल्किएको छ । यता, खातामा भएको पैसा नदिने उता, १८ प्रतिशतसम्म ब्याज दिने प्रलोभन देखाउँदै फसाउन खोज्ने ।केही महिनादेखि सहकारीको आम्दानी नहुँदा घरबहाल र कर्मचारीलाई तलब दिन नसकेको कुरा यथार्थ हो । महँगो ब्याजमा पैसा राखेर घरबहाल र कर्मचारीलाई तलब दिनका थालेको पनि सुन्नमा आएको छ । सहकारीहरू घर न घाटको भइसक्दा पनि राज्यले जनतालाई पैसा नराख्नुस् भनेर जानकारी गराएको छैन ।

राज्यले जनताको पैसा बचाउन पहिल्यै नै सचेतना दिनुपर्ने होइन र ? सडकको धुलो खाएर मकै बेच्ने र नाङलो व्यापारीजस्ता गरिबको पैसा लिएर सहकारी भागेका छन् । कति सहकारी भागिसके र कति धरासयी अवस्थामा छन् यसको विवरण सहकारी विभागसँग छैन । सरकारले नै यो विषय गुपचुप बनाउन खोजेको बुझिन्छ ।
यता, हामी जनता पनि ब्याजको लोभमा परेर सहकारीमा दैनिक पैसा जम्मा गरिरहेका छौं । जनताको पैसा लिएर भाग्ने सहकारीलाई कारबाही गर्नुपर्ने जिम्मा सरकारको हो । उनीहरूले रगतपसिना चुहाएर कमाएको पैसाको सुरक्षा गर्नु पनि सरकारको जिम्मेवारीभित्र पर्दछ । तर, गृहमन्त्री बालकृष्ण खाँड त्यस्ता फटहा सहकारीको कार्यक्रममा अतिथि बनेर पुगेको देखियो ।

ठगहरूको कार्यक्रममा पुगेर म तपाईंहरूको समस्या समाधान गरिदिन्छु भन्दै भाषण गरे । तर, गृहमन्त्री खाँडको क्षेत्राधिकारभित्र सहकारीको समस्या पर्दै पर्दैन । अनि उनले सोच्दैनसोची कसरी बोले ? उनको काम भनेको त ठग्ने सहकारीलाई कारबाही गर्न निर्देशन दिनु मात्र हो ।अनि अर्काको क्षेत्रभित्र छिरेर जे मनलाग्यो त्यही बोलिदिने ? सहकारीको नीतिनियम बनाउने त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले होइन र ? गृहमन्त्री खाँडको आडमा सहकारीहरूले जनता ठगेका हुन् भनेर हिजोको घटनाले स्पष्ट पारेको छ । व्यापारीहरूले सहकारीमा दैनिकी रकम राख्न छोडिसकेका छन् ।

कुनैकुनैले मात्र सहकारीमा पैसा राख्छन् । तर, अझै पनि हाम्रो सहकारी नाफामा छ भनेर जनता झुक्याउने काम भइरहेको पाइन्छ । यता, कर्जा खानेहरू धोती न टोपीको भएका छन् । २१ प्रतिशत ब्याजमा कर्जा लिएकाहरू सडकमा आइपुगेका छन् । २१ प्रतिशत भनेर ब्याज दिन्छन् तर ४३ प्रतिशत जोडेर लिन्छन् ।सेवाशुल्क, घुस, हर्जाना आदि गर्दा ४३ प्रतिशत ब्याज बढ्न जान्छ । सहकारी विभागले कर्जा लगानी गरेर १६ दशमलव तीन प्रतिशतभन्दा बढी ब्याज लिन प्रतिबन्ध लगाएको छ । तर, सरकारको ऐनकानुनलाई धोती लगाउँछन्, सहकारी । अहिले कति सहकारीका अध्यक्ष वा कर्मचारीहरूले मिटर ब्याजमा पैसा लगानी गरिरहेको छ ।

सहकारी र मिटर ब्याजका कारणले कतिपयको त आत्महत्या गर्नुपर्ने अवस्था पनि आएको होला । सहकारीहरूले मिटर ब्याजमा पैसा लगानी गर्दा सुकुम्बासीहरूको संख्या बढ्यो । सहकारीले गर्दा धेरैको उठीबास भएको छ । तर, उनीहरूको विरोधमा न्याय माग्न जाने ठाँउ कहीँकतै छैन् । सहकारीबाट यत्रो जनता पीडित हुँदा पनि सरकार केलाई ऐनकानुन परिवर्तन गर्न चाहँदैन । दिँउसै जनतालाई ठग्दा पनि सरकार अनदेखा गरिरहेको छ । सहकारीको ठग्ने धन्दा दिँउसो दुई गुणा र राती चार गुणा भएको छ । दैनिक बचत गर्नेले ब्याजसमेत पाएका छैनन् । सहकारीका कर्मचारीहरू दिनभरि बजारबाट रकम संकलन गर्छन् बेलुका त्यही पैसा मँहगो ब्याजमा लगाउँछन् ।

बचत गर्ने र कर्जा लिने त हेरेको हे¥यै । उता पनि ठग्ने यता पनि लुट्ने । यस्तो ठगको धन्दा मौलाउँदा पनि सरकार किन ट्वाल्ल परेर हेरेर बसेको छ । सहकारीबाट लाखौं आम नागरिक ठगिएका छन् । पीडितको संख्या त यत्तिकै छ । जनता ठग्न सबभन्दा सजिलो क्षेत्र भनेको सहकारी हो ।

सहकारी खोल्ने, जनता ठग्ने अनि आफूलाई पुग्ने कमाएपछि कुलेलम ठोक्ने । आफ्नो पैसा बचाउने हो भने छिटोभन्दा छिटो आफ्नो खाता खाली गरौं । होइन भने जतिखेर पनि रातदिन नभनी कमाएको पैसा डुब्न सक्छ । हाम्रो खाता भएको सहकारी जतिखेर पनि जोखिममा पर्न सक्छ ।अझै पनि निर्धक्क भएर बस्ने काम नगरौं । यसमा चलाख बन्न जरुरी देखिएको छ । पहिलेपहिलेका बुढापाकाले भन्छन्, ‘कि भनेको मान्नु कि आफैं जान्नु’ । हामी नेपालीले प्रवृत्ति आफैंमाथि दुःखको पहाड नदेखेसम्म बिलौना गर्दैनौं । तर, अरूको देखेर केही सिक्ने बुझ्ने हामीद्वारा हुँदैन ।

डुबेपछि फेरि फर्किएला आउला भनेर नसोच्दा पनि हुन्छ । हिसाबकिताब देखाउन नसकेर अहिले कतिपय सहकारीले साधारण सभा नै गरेका छैनन् । सहकारीमा खाता भएकाहरूको रातको निद्रा र दिनको भोक हराएको छ । आफ्नो पैसा निकाल्नका लागि धर्ना बस्नुपर्ने बेला भएको छ ।

एक वर्षअघि दैनिक लाखौं रकम उठाउने बजार प्रतिनिधि अहिले हजारमै सीमित भएका छन् । बढी ब्याजको प्रलोभनमा परेर घरजग्गा बेचेर सहकारीमा लगेर पैसा राख्नेहरू चनाखो हुनुपर्छ । खाइनखाई वर्षदिन लगाएर कमाएको रकम सुरक्षित छ कि छैन बचतकर्ता आफैंले ध्यानमा राख्नुपर्ने अवस्था आएको छ ।सहकारीका अध्यक्ष र चेयरम्यान गायब छन् । बचतकर्ताहरू आफ्नो पैसा निकाल्न जाँदा कर्मचारीबाहेक अन्य कोही भेटिँदैनन् । अन्धाधुन्ध भएर पैसा राख्दा जनताहरू आफैंले खनेको खाल्डामा आफैं परेका छन् । सरकारले सहकारीमा लगेर पैसा राख भनेर कसैलाई जरबजस्ती गरेको थिएन ।

किराना पसल र चिया पसलझै सहकारीहरू खुलेका छन् । च्याउजसरी यी संस्थाहरू उम्रिएका छन् । एउटै घरमा आधा दर्जनसम्म सहकारी छन् । बढी ब्याजको लोभ देखाउँदै जनताको पैसा ठगिरहेका छन् । सहकारीबाट कर्जा लिने काम यतिखेर ठप्प बनिसकेको छ । किन कि सहकारी लुट हो भन्ने कुरा सबैले बुझिसकेका छन् ।पहिले गाउँघरमा सामन्तीहरूले सीधासाधी, अशिक्षित जनतालाई पाँच हजार पैसा दिएर तमसुक गराएर उसको घरखेत नै खाइदिन्थ्यो । शोषकहरूले गरिबलाई झनै गरिब बनाइदिन्थे । सहकारीहरूले ठ्याक्कै यसको सिको गरे । ५० लाखको जेथो छ भनेर १५ लाख रुपिंयाँ दिन्छ त्यो पनि सेवाशुल्क र घुस खाएर ।

तर, तीन किस्ता तिर्न सक्नेबित्तिकै जेथो खाइदिन्छ । यता, सहकारीहरूले गुण्डासमेत पालेको छ । गुण्डामार्फत कर्जा खाने व्यक्तिलाई थर्काउछ । कर्जा दिएको दिनदेखि पैसा उठाउन शुरू गर्दछ । आफ्नो ठगीधन्दा ढाकछोप गर्नका लागि ज्येष्ठ नागरिकलाई सम्मान गर्ने । देखाउनका लागि सार्वजनिक काम गरेको नाटक रच्ने त्योपनि आफ्नै दुईचार जना कर्मचारी लगेर ।

आफ्नै क्यामरा बोकेर । सहकारीहरूलाई अझै पनि सरकारले छाडा छोड्यो भने यिनीहरूले कति जनताको घरमा रुवाबासी निम्त्याउछ यसको अड्कल गर्न पनि गाह्रो छ । पाँच लाख कर्जा दिएको भनेर नेपाली कागजमा तम्सुक गराउँछ । तर, सेवाशुल्क, सेयर र घुस गरेर कर्जावालले जम्मा चार लाख रुपियाँ पाउछन् । ब्याज भने पाँच लाखकै तिर्नुपर्ने बाध्यता छ । सहकारीले यसरी लुट्दा पनि बिलौना गर्ने ठाँउ कतै छैन । उनीहरूको विरोधमा आजसम्म कसैले मुख खोल्न सकेका छैनन् । सञ्चारकर्मीलाई पनि ठगीधन्दाको विरोधमा चलाउन ढिलो भएजस्तो लाग्दैन ? हामी नेपाली जोमाथि पनि सजिलै विश्वास गर्छाैं ।

विश्वासको आडमा थुप्रै नेपालीले धोका खाएका पनि होलान् । धोका पाएपछि टाउको हात राख्ने चलन हामीमा छ । सहकारीले लगानी गरेको गाडी, घरजग्गा र सेयरको खरिदबिक्रीमा मन्दी आइसकेको छ । सेयरमा लगानी गर्नेहरू सडकमा ओइरिएका छन् । सहकारीहरू जनताको पैसा फिर्ता गर्न नसक्ने स्थितिमा पुगिसकेको छ । अब सडकछाप हुनेको संख्या झनै बढ्छ । सहकारीको कारणले लाखौं मानिसको घरबास उठ्ने देखिन्छ ।

संगीता केसी

प्रतिक्रिया दिनुहोस्