आईजीपी बढुवा विवाद मुद्दामा सुनुवाइ हुँदै



काठमाडौं ।

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदैछ । सरकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि अदालत पुगेको विवादको सुनुवाइ आज हुने भएको हो ।

एआइजी विश्वराज पोखरेलले आफू वरिष्ठ एआइजी हुँदाहुँदै धिरजप्रताप सिंहलाई आइजीपीमा नियुक्ति गरेको भन्दै उक्त निर्णय बदर गरी आफूलाई आईजीपीमा नियुक्ति दिलाउन परमादेशको समेत माग गरेर रिट दायर गरेका थिए ।

सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो । यसअघि विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा पूर्ण सुनुवाइ हुन सकेको थिएन ।

नियमित पेसी अन्तर्गत जेठ १७ गते न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडालको संयुक्त इजलासमा परेको रिट निवेदनमा पुनः ७ दिनको समय दिएर म्याद तामेल गर्ने आदेश दिइएको थियो ।

सर्वोच्चले आदेश भएको मितिले ७ दिनभित्र प्रत्यक्ष भेटेर वा फ्याक्स वा इमेलमार्फत् म्याद तामेल गर्दै त्यसको तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेशमा भनिएको थियो । सबै प्रक्रिया सकिएपछि जेठ ३० गतेका लागि सुनुवाइको मिति समेत तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्