बाँझो जमिनमा कागतीखेती : १२ हेक्टरमा ५ हजार बिरुवा लगाउने



पर्वत ।

गाउँघरमा खेतबारी बाँझो हुँदै गएपछि पर्वतको एक गाउँमा भने कागतीखेती अभियान शुरु गरिएको छ । पर्वतको फलेबास नगरपालिका वडा नं ८ अर्चले गाउँमा १२ हेक्टर जमिनमा ५ हजार बिरुवा लगाउने योजना सहित कागती खेती शुरु गरिएको हो । खेतीयोग्य जमिन बाँझो बन्दै गएपछि त्यसलाई आयआर्जनका लागि प्रयोग गर्न कागती खेती गर्न लागिएको हो ।

ग्रामिण विकास विज्ञ डा. योगेन्द्र रिजाल सहित तीन जनाको लगानीमा कागती खेती शुरु भएको छ ।

पैतृक जमिन बाँझो राखेर सहरमा सामान्य जागिर खोज्दै हिँड्नुको सट्टा त्यही जग्गालाई उपयोग गर्न सके आम्दानी गाउँमै सम्भव छ भन्ने विश्वासका आधारमा खेती शुरु गरिएको ग्रामिण विकास विज्ञ डा. रिजालले बताउनुभयो ।

आफूले सन् २०१३ मा ग्रामीण विकास विषयमा विद्यावारिधि गरेपछि पनि बजारमा बसेर जागिरको खोजीमा हराउनु भन्दा ग्रामीण क्षेत्रमा पनि सम्भावना देखाउन चाहेको उहाँको भनाई छ । ‘पुर्खाले जोडिदिएको उत्पादनको महत्त्वपूर्ण साधन ‘खेतीयोग्य जमिन’ खेर फाल्ने, आफूसँग भएको जग्गा जस्तो अमूल्य सम्पत्ति नदेख्ने अनि जागिर पेशा केही नभएको भन्दै चिन्ता गर्नेहरु धेरै भएकाले यस्तो प्रबृत्तिलाई निरुत्साहित गर्न सक्छु भन्ने विश्वास पलाएको छ ।’ उहाँले भन्नुभयो ।

डा. रिजालले छिमेकी तथा देवीप्रसाद तिमिल्सिना र कमल रिजालको सहकार्यमा ‘अर्चले एग्रो इन्डस्ट्री प्राइभेट लिमिटेड’ नामको कम्पनी दर्ता गरे खेती शुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार गत माघ एक गतेबाट शुरु गरिएको कागती खेती अभियानमा पाँच वर्षसम्ममा डेढ करोडको लगानी गर्ने योजना छ ।

करिब १२ हेक्टर जमिनमा पाँच हजार बिरुवा रोप्ने र कागतीको राष्ट्रिय आवश्यकतामा अलिकति भए पनि टेवा दिएर आयात प्रतिस्थापनमा सहयोग पु¥याउने योजना उहाँले सुनाउनुभयो । सुन कागती–१ जातको कागती खेती गरिएको छ । यो जातको कागतीले राम्रो उत्पादन दिने, यस ठाउँमा हावापानी र उचाइ पनि मिल्ने भएका कारण यसको खेती गरिएको हो ।

यो खेतीबाट सात वर्षपछि वार्षिक दुई सय टन कागती उत्पादन गर्ने लक्ष्य समेत राखिएको छ । यस बर्ष कलमी बिरुवा लगाउने भएका कारण तीन वर्षपछि लगानी फिर्ता आउन थाल्ने छ ।

उत्पादित कागतीलाई काठमाडौँ, पोखरा लगायतका ठूला सहरका व्यापारीहरूसँगको सहकार्यमा बजारमा पठाउने ‘अर्चले एग्रो इन्डस्ट्रीज प्रालि’ को योजना छ।
कागतीको बोट वरपर अलिकति भाग छाडेर कोदो, अदुवा लगायतका खेती गरेर जमिनको सदुपयोग गर्ने योजना रहेको रिजालले जानकारी दिनुभयो । यसो गर्दा कागती बगैँचा सफा देखिने, खनजोतका कारण झारपात बढ्न नपाउने र माटो पनि रुखो हुन नपाउने भएकाले कागतीलाई हानी नपु¥याउने बालीहरु लगाउने योजना कम्पनीको छ ।
समाप्त जेठ २८

 

 

 

 

प्रतिक्रिया दिनुहोस्