फोहोरको विवाद सुल्झाउन आज वार्ता हुँदै



काठमाडौं । 

प्रहरी परिचालन गरेर फोहोर विसर्जन गर्न शुरू गरेको भोलिपल्टै उपत्यकाको फोहोर व्यवस्थापन फेरि अनिश्चितकालको लागि ठप्प भएपछि विवाद सुल्झाउन सरकार र आन्दोलनरत समूहबीच शुक्रबार वार्ता हुने भएको छ ।

शहरी विकास मन्त्रालयले बन्चरेडाँडा संघर्ष समिति र वडाका प्रतिनिधिसमेतलाई राखेर शुक्रबार बिहान ८ बजे मन्त्रालयमा वार्ता गर्न लागेको हो ।काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले प्रहरी परिचालन गरेर फोहोर खसाल्ने प्रयास गरे पनि विफल भएपछि संसद्मा समेत उहाँको आलोचना भएको छ ।

बिहीबार संसद्को चालु अधिवेशनमा बोल्दै सांसद नारायणप्रसाद खतिवडाले काठमाडौंका मेयरसाहले फोहोर व्यवस्थापन गर्ने नाममा नुवाकोटे जनतामाथि प्रहरी दमन गरेको आरोप लगाउनुभएको छ ।मेयर साहको लौरो चुनाव चिह्नमाथि व्यङ्ग गर्दै उहाँले भन्नुभयो– ‘उहाँको चुनाव चिह्न लौरो अहिले जनताको टाउकोमा बजारिएको छ ।’ त्यस्तै, पूर्व मन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले सरकारले फोहोर व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै भन्नुभयो– ‘मेयरको गलत निर्णय र सरकारको मनपरीको कारण समस्या बढेको छ ।’

बुधबार फोहोर लिएर गएको सवारी साधनलाई स्थानीयले आलेटारमा रोकेका थिए । त्यहाँ प्रहारी र स्थानीयबीच दिनभर झडप भएको थियो । स्थिति नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । बुधबार दिउँसो भएको दोहोरो झडपमा प्रहरी र स्थानीयका समेत गरी एक दर्जन घाइते भएका थिए । बुधबार साँझ आलेटार पुगेका फोहोर बोक्ने ट्रक फोहोर विसर्जन नगरिकनै फर्र्किएको थियो । केही ट्रकले भने सिसडोल, आलेटारको बाटोमै फोहोर खसालेर फर्किएको थियो । बाटोमा फोहोर फ्याँकेको जानकारी पाएपछि बिहीबार स्थानीयले फेरि विरोध शुरू गरेको छ ।

यसैबीच बिहीबार फोहोर ओसार्ने ट्रकका चालकले सुरक्षाको पूर्ण प्रत्याभूति नभई फोहोर व्यवस्थापन गर्न नसकिने बताउनुभयो । कामपाका प्रहरी प्रमुख धनपति सापकोटाले पनि पूर्ण सुरक्षा व्यवस्था नभएसम्म फोहोर लैजान सक्ने अवस्था नभएको जिकिर गर्दै भन्नुभयो– ‘सुरक्षा निकायसँग कुराकानी गरिरहेका छांै, सबै व्यवस्था भएपछि मात्र फोहोर लैजानेछौं ।’

फोहोर व्यवस्थापन गर्न नसकिएका कारण टेकुस्थित ट्रान्सफर स्टेसन पूरै भरिएको छ । फोहोरका थुप्रो धोबीखाला करिडोरको पुलमुनि र अन्य स्थानमा थुपारिएको छ । ललितपुरको फोहोर कुपन्डोल र यूएनपार्कको बीचमा वागमतीको पुलमुनि राखिएको छ । फोहोरको कारण राजधानी पुर्ण रूपमा प्रदूषित भएको छ । फोहोरकै कारण झाडापखलाको बिरामी बढ्न थालेका छन् । मनसुन शुरू भएसँगै फोहोरको थुप्रो पानीले बगाएर राजधानी हिलाम्य र दुर्गन्धित भएको छ ।

कामपाका मेयर साहले स्थानीय अर्जुन घिमिरे (पाँडे बुढा) लाई सहजकर्ताको रूपमा नियुक्ति गरी उनैलाई आन्दोलनकारीसँग वार्ता गर्ने जिम्मेवारी दिएपछि स्थानीय थप आक्रोशित भएको स्रोतले बताएको छ । घिमिरेलाई वार्ता गर्ने जिम्मा दिएसँगै तीनदिन अघि बन्चरे आन्दोलनबाट पक्राउ परेका संयोजक श्रीराम ढुंगाना, श्रीकृष्ण बजगाई र तपन उप्रेतीलाई बिहीबार दिउँसो २ बजे रिहा गरिएको छ । संयोजक ढुंगानाले वार्ता गर्ने हल्ला गरेर आफूहरूलाई रिहा गरेको टिप्पणी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘स्थानीयले आन्दोलनलाई चर्काइरहेका छन् । माग पूरा नभएसम्म फोहोर खसाल्न नदिने अडान कायमै छ ।

प्रतिक्रिया दिनुहोस्