सत्ताधारी चार दलमा मन्त्री फेर्ने गृहकार्य

पार्टी नेतृत्व दैनिक नेता–कार्यकर्ताको दबाबमा



काठमाडौं । 

सत्ता घटकमध्येको एक नेकपा एकीकृत समाजवादीले आफ्ना चार मन्त्री फेर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्ने गृहकार्य शुरू भएको छ ।

‘माधव नेपालजीहरूले जस्तो सबै मन्त्री फेर्ने, ६ महिना पुग्यो त्यसैले तिम्रो भाग सकियो भन्ने रणनीति त हाम्रो छैन, तर दिनदिनै साथीहरूको डेलिगेसन आइरहेको छ, हामी पनि मन्त्री फेर्ने गृहकार्यमा छौं’, नेपाली कांग्रेस पार्टीका एक कार्यसमिति सदस्यले नेपाल समाचारपत्रलाई बिहीबार भने– ‘एकीकृत समाजवादी र जसपाले मन्त्री फेर्न दबाब दिइरहेका छन्, माओवादी केन्द्रले पनि हाम्रोजस्तै एक–दुई जना फेरबदल गर्न सक्छ ।’

कांग्रेस सांसद तथा नेताहरूमध्ये कतिपयले पार्टीभित्रै त कतिपयले सार्वजनिक कार्यक्रममै मन्त्री फेरबदल हुने जनाएका छन् ।
कांग्रेस महामन्त्री गगन थापाले आफ्नो पार्टीभित्र पनि सांसदहरूले दबाब दिइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकबाट निस्कने क्रममा सञ्चारकर्मीसँग महामन्त्री थापाले भन्नुभयो– ‘हाम्रा साथीहरूले पनि इच्छा देखाउनुभएको छ । नयाँ साथीहरूलाई पनि अवसर दिनुपर्छ ।’

त्यस्तै, सत्तारूढ दलका माओवादी पनि मन्त्री फेर्नुपर्ने दबाब बढेको छ । पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउनुपर्ने माओवादी सांसदको तर्क छ ।माओवादी नेता वर्षमान पुनले पनि पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको खुलासा गर्नुभएको छ । ‘समाजवादीका साथीहरूले पूरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ । कांग्रेस र जसपामा पनि दबाब छ’ –उहाँले प्रतिक्रिया दिनुभएको छ । ‘यस दबाबलाई नेताहरूले कति थेग्नुहुन्छ, थाहा छैन । तर, फेरबदलको मुडमा हामी पनि छौं, अहिले फेर्नुपर्छ भन्ने खालका आवाजहरू बढिरहेका छन् ।’

यसअघि नै जसपाले आफ्नो पार्टीभित्र ६ महिनाकै लागि भनेर सांसद साथीहरूलाई मन्त्री बनाएको जनाइसकेको छ । जसपा केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले एकीकृत समाजवादीसँगै आफ्नो पार्टीका मन्त्री पनि फेरबदल हुनुपर्ने बताउनुभएको छ । अध्यक्ष उपेन्द्र यादवकै प्रस्तावमा ६ महिनाका लागि मात्रै मन्त्रीहरू पठाएको यादवको भनाइ छ ।

मन्त्री हेरफेर गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय सत्ता साझेदार सबै दलमा चाहना अभिव्यक्तिको द्वार बनेको छ । सबै दलमा यस प्रकारको भावना सुषुप्त थियो, एकीकृत समाजवादीले त्यसको निकास दियो ।यही जेठ २२ गते एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने निर्णय गरेपछि अन्य दलमा पनि तरंग आएको हो । समय तोकेरै पठाएकाले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको एकीकृत समाजवादीका नेताहरूको तर्क छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पार्टीको निर्णय मान्ने औपचारिक प्रतिक्रिया दिनुभएको पनि थियो । यद्यपि, उहाँहरू सबैले पद जोगाइदिन प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ताघटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत अनुरोध गर्नुभयो ।

यसैबीच जेठ २३ गते बसेको गठबन्धनको बैठकमा एकीकृत समाजवादीको निर्णयका विषयमा छलफल भयो, ‘तत्कालका लागि’ नयाँ मन्त्रीको नियुक्ति रोकियो । बजेटमाथिको छलफललाई देखाएर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन हालका लागि स्थगित गरिदिनुभयो । संसद्मा मन्त्रीहरूले मन्त्रालयसँग सम्बन्धित विषयमा जवाफ दिनुपर्नेलगायतका कारण तत्काल मन्त्री परिवर्तन गर्न नहुने प्रधानमन्त्री देउवाको तर्क थियो ।

एकीकृत समाजवादीका नेताहरूले आफ्नो पार्टीको निर्णयमा अरू दलले चासो दिन नहुने भन्दै मन्त्री परिवर्तन हुने दाबी गर्दै आएका छन् । बुधबार एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीका मन्त्रीलाई ६ महिनाको समय दिइएको र सोहीअनुसार फिर्ता बोलाएको स्पष्टीकरण दिनुभयो ।अनेरास्ववियु विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पार्टीका मन्त्रीले आठ महिनासम्म बसेर काम गरिसकेको उल्लेख गर्दै भन्नुभयो– ‘हामीले मन्त्री फेरेका छौं । असोजमा नियुक्त भएकालाई ६ महिनाको अवधि दिइएको थियो । सहमतिमै ६ महिनाका लागि पठाएका हौं । हाम्रो पार्टीबाट मन्त्री भएर राम्रो काम गरेकोमा धन्यवाद भनेका छौं । उनीहरूले पनि पार्टीको निर्णयभन्दा दायाँबायाँ गर्दैनौं भनेका छन् । कुर्सीमा टाँसिएर बस्दिनँ भनेका छन् ।’

नेपालले अहिलेको सरकार पाँचदलीय गठबन्धन भएकाले एक दलको विचारलाई अर्को दलले सम्मान गर्नुपर्ने धारणा राख्नुभएको छ । ‘आफ्नो पार्टीको निर्णयले अन्य दलमा पनि पहिरो गएको छ, जुन आवश्यक थिएन’, नेपालले भन्नुभयो– ‘पार्टीले निर्णय ग¥यो, किन निर्णय लागु भएन होला भन्ने भएको छ । अन्य दलका साथीहरूले हामीलाई पनि समय दिनुस् भनेका छन् । त्यही भएर मन्त्रीको शपथ नभएको हो । हाम्रो निर्णय भइसकेकाले लागु हुन्छ । हुनुपर्छ ।’

एकीकृत समाजवादीले जेठ २२ गते चार जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको सूचीमा शहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवर हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्