काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या : स्थानीयद्वारा पुन: अवरोध



काठमाडौं ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या उत्पन्न भएको छ । सोमबार काठमाडौंमा भएको सहमतिबमोजिम आज बिहानदेखि काठमाडौंमा करिब एक महिनादेखि थुप्रिएको फोहोर उठाउन थालिएको थियो ।

आज बिहान काठमाडौं महानगरपालिकाले बन्चरेडाँडातर्फ फोहोर लैजाने वेला स्थानीयले बाटाेमै अवरोध गरेका थिए । नयाँ ल्यान्डफिल्ड साइट बन्चरेडाँडामा फोहोर फाल्दा वरिपरि प्रदूषण फैलने भन्दै स्थानीयले अवरोध गरेका छन् । पछिल्लो समय स्थानीले सिसडोलतर्फ पनि फोहोर फाल्न अवरोध गर्दै आइरहेका छन् । बन्चरेडाँडामा फोहोर फाल्दा आसपासमा प्रदूषण फैलने स्थानीयले बताउँदै आएका छन् ।

बञ्चरे डाँडा सरोकार समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार सोमबार बेलुका काठमाडौंमा भएको सम्झौता स्थानीयले अस्वीकार गरेका छन् ।गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।

शहरी विकास मन्त्रालयको पहलमा बसेको बैठकमा भएको सहमतिमा शहरी विकास मन्त्रालयका आयोजना निर्देशक रविन्द्र बोहरा, काठमाडौं महागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनिबेसी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी शर्मा,  शहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल, शहरी विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंह, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, उपाध्यक्ष मिठुमाया तामाङ, काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरी, ककनी गाउँपालिका वडा नं. ३ का अध्यक्ष घननाथ बजगाईंको रोहबरमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्