अझै रोकिएन सीमा क्षेत्रबाट मानव तस्करी

५ महिनाको अवधिमा ७७ महिला तथा बालबालिकाको उद्धार



वीरगन्ज

वीरगन्ज नाकाबाट मानव तस्कहरुले अझैपनि कुनै न कुनै नाउमा किशोरी सहित युवतीहरुको तस्करी गर्ने गरेको पाइएको छ । नेपाल–भारत सीमाबाट ५ महिनाको अवधिमा ७७ महिला तथा बालबालिकाको उद्धार गरिएको हो । माइती नेपालले यस वर्षको सन् २०२२ को जनवरीदेखि मे महिनाको अन्त्यसम्ममा उक्त संख्यामा महिला तथा बालबालिकाको उद्धार गरेको हो ।

जोखिमपूर्णरुपमा भारत जान लागेको अवस्थामा सीमामा खटिएका माइती नेपालका सीमा पहरेदारहरुले उनीहरुलाई उद्धार गरेका थिए । माइती नेपाल वीरगन्ज आवधिक गृहकी प्रमुख गोमा पौडेलका अनुसार, यस अवधिमा उद्धार गरिएका ७७ जनामध्ये १८ वर्षसम्मका २७ र १९ वर्ष माथिका ५० जना छन् ।

यस अवधिमा गृहले नेपाल र भारत प्रहरीको समन्वयमा भारतको रक्सौलबाट ५, सिक्टाबाट १, मुम्बईबाट १२ र मोतिहारीको बालिका गृहमा रहेका ८ महिला तथा बालबालिकालाई उद्धार गरी नेपाल फर्काएको छ । तीमध्ये मोतिहारीको बालिका गृहबाट ल्याइएका चेलीहरु त्यहाँको विभिन्न आर्केष्ट्रामा नृत्य गर्ने पेसामा संलग्न थिए ।
यस अवधिमा प्रहरीलगायत विभिन्न संस्थाबाट २२ जना समस्यामा परेका महिला तथा बालबालिकालाई गृहको संरक्षणमा ल्याइएको छ । ती मध्ये १८ वर्ष मुनिका ९ र १८ वर्ष माथिका १३ जना थिए । गृहले यस अवधिमा १६ वर्षीया नाबालिकाको हकमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा पर्सा जिल्ला अदालतमा दर्ता गराएको छ । उक्त मुद्दामा आरोपी पुरुष पुर्पक्षका लागि वीरगन्ज कारागारमा छन् ।

त्यसैगरी, गृहले यस अवधिमा जबरजस्ती करणीका २ मुद्दा दर्ता गराएको छ । ३५ वर्षीय पुरुष र ४२ वर्षीया महिलाउपर मुद्दा दर्ता गराइएको पौडेलले बताइन् । यसबाहेक २ जना पुरुषउपर गृहले अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गराएको छ । १४ वर्षीया बालिकाउपर उनीहरुले यो अपराध गरेको र तीमध्ये १ फरार रहेको पौडेलले जानकारी दिनुभयो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्