विदेश जाने श्रमिक पाँच लाख, नेपाल आउने विदेशी श्रमिक दुई हजार



काठमाडौं  ।

पछिल्लो दश महिनामा नेपालबाट विदेश श्रम गर्न जानेको संख्या ५ लाख ५ हजार ४ सय ९१ रहेको छ भने विदेशबाट नेपाल श्रम गर्न आउनेको संख्या एक हजार ८ सय ७१ रहेको छ ।

श्रम कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालका अनुसार नेपालबाट श्रम गरेर विभिन्न देशमा जानेको संख्या फागुनमा मात्रै ५३ हजार ४ सय ५७ जना रहेको छ । त्यस्तै, चैत महिनामा ५५ हजार ५ सय २३ श्रम अनुमति लिएर विदेश गएका छन् भने वैशाख महिनामा ४५ हजार ५ जना श्रम कार्यालयबाट श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

विभिन्न देशबाट नेपाल श्रम गर्न आउनेको संख्या भने पछिल्लो वर्षको तुलनामा यस वर्ष केही कमी हुने देखिएको छ । २०७७–२०७८ को आर्थिक वर्षमा नेपाल श्रम गर्न आउनेको संख्या २ हजार ३ सय ९३ थियो भने यस आर्थिक वर्षको जेठ १८ गतेसम्मको तथ्यांक हेर्दा विदेशबाट नेपाल श्रम गर्न आउनेको संख्या १ हजार ८ सय ७१ रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता मणिनाथ गोपले जानकारी दिनुभयो ।

गोपका अनुसार २०७६¬–२०७७ को आर्थिक वर्षमा विदेशबाट दुई हजार ५० जनाले नेपाल आएर श्रम स्वीकृति लिएर काम गरेका छन् । त्यस्तै, २०७५–२०७६ मा १ हजार ९ सय ८१ जना श्रम गर्नको लागि नेपाल आएका छन् । यहाँ रोजगारीको अभावका कारण नेपाली नागरिक विभिन्न देश पलायन भइरहेको अवस्थामा नेपालमा सञ्चालन हुने विभिन्न परियोजनाका लागि दक्ष कामदार नहुँदा विदेशी नागरिक नेपाल श्रम गर्न आउने गरेका हुन् ।

श्रमका लागि विदेश जाने र आउनेको तथ्यांकमा छिमेकी भारतको हिसाब छैन । नेपाल–भारतबीच खुला सिमाना भएका कारण को कहिले आयो वा गयो कुनै हिसाब राख्ने गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्