पृथ्वी राजमार्ग दैनिक ५ घण्टा बन्द



तनहुँ । 

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने भएकाले आइतबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको जनाएको छ ।

बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राती ११ बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द रहने मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) का आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

नियमित रूपमा सवारीसाधान सञ्चालन हुँदा समस्या हुने भएकाले रातीको समयमा सडक बन्द गरी काम गर्न लागिएको उहाँले बताउनुभयो । सो समय अगाडि वा पछाडि मात्र उक्त सडकमा सवारी आवतजावत गरिदिन सर्वसाधारणलाई सूचनामार्फत आग्रह गरिएको छ ।आयोजनाको पूर्वी खण्डतर्फ सडक चौडा बनाउने काम जारी छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । सडक विस्तार कार्यका लागि राजमार्ग आसपासका रूखहरू काटिएको छ ।

हालसम्म पूर्वी खण्डमा तीन हजार १४ रूख कटान भइसकेका छन् । मुग्लिङ–पोखरा सडक विस्तार कार्यअन्तर्गत पश्चिम खण्डबाट पनि काम शुरू भइसकेको छ । पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीले निर्माणको जिम्मा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्