‘तुलसी’ : एउटा लाहुरेको आत्मकथा



काठमाडाैं । कास्कीको बार्चोकमा जन्मिएका तुलसीकुमार गुरुङ लामो समय ब्रिटिस गोर्खा सैनिकमा आबद्ध रहे । योसँगै खेल क्षेत्रलाई पनि अघि बढाएका गुरुङ तेक्वान्दोका ८ डान हुन् । यस विधामा हङकङ सरकारका प्रमुख प्रशिक्षक समेत बनिसकेका गुरुङले तेक्वान्दोमा  अन्तर्राष्ट्रिय रेफ्रीको भूमिका पनि निर्वाह गरिसकेका छन् । नेपालका गाउँ–घरमा खेलिने छेलोदेखि स्विमिङ च्याम्पियन बनेर गुरुङले राष्ट्रिय–अन्तर्राष्ट्रिय पदकसमेत प्राप्त गरिसकेका छन् ।

विश्वभरका सयौं सैनिक एवं गैर सैनिकलाई तालिम दिइसकेका गुरुङले गरिमामय ‘हल अफ फेम’ को उपाधिसमेत प्राप्त गरिसकेका छन् । खेल र सामाजिक क्षेत्रमा योगदानको कदरस्वरूप गुरुङलाई नेपाल सरकारले प्रबल जनसेवा श्री पदकद्वारा विभूषितसमेत गरिसकेको छ ।

तर, हालै उनी लेखकको भूमिकामा समेत देखिएका छन् । उनले लेखेको आत्मकथा  ‘तुलसी’ को हालै काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ ।

पौरखी र प्रेरणादयी स्वभावका गुरुङ परोपकारका लागि चिनिन्छन् । हङकङमा बसोबास गर्दै आए पनि मातृभूमि र जन्मभूमिको समृद्घि गुरुङको सपना हो । ‘तुलसी’ मा गुरुङको जीवन यात्रा वर्णन छ । पुस्तकमा उनले आफ्नो बाल्यकालदेखि अहिलेसम्मको जीवनयात्राको वर्णन त गरेकै छन् । उनलाई नजिकबाट बुझेका आमा, श्रीमती, छोराहरूदेखि अन्य व्यक्तिहरूले पनि पुस्तकमा गुरुङप्रतिको आफ्नो दृष्टिकोण व्यक्त गरेका छन् ।

‘वि विल राइज फाउन्डेसन’ले प्रकाशित गरेको यो पुस्तकको सम्पादन पत्रकार अखण्ड भण्डारीले गरेका हुन् । गुरुङ उक्त फाउन्डेसनका अध्यक्ष पनि हुन् । लेखक गुरुङले पुस्तकबाट प्राप्त हुने सम्पूर्ण आम्दानी सामाजिक कार्यमा उपयोग गर्नेगरी फाउन्डेसनलाई प्रदान गर्ने घोषणा गरेका छन् । २७२ पृष्ठको यो पुस्तकको मूल्य पाँच सय रुपैयाँ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्