सिसडोलमा फोहोरको गन्ध मापन गरेर फर्कियो वैज्ञानिक टोली



काठमाडौं  ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ल्यान्डफिल साइटलाई गन्धरहित बनाएर फोहोर बिसर्जन गर्ने बताएलगत्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को वैज्ञानिक टोली शनिबार सिसडोल पुगेको छ ।मेयर साहको आग्रहपछि नास्टले वैज्ञानिक डा. भोजराज पन्तको नेतृत्वमा वैज्ञानिक टोली सिसडोल ल्यान्डफिल साइट पठाएको हो ।

गन्ध मापन गर्न नमुना संकलन गरेर फर्किएपछि नेपाल समाचारपत्रसँग कुरा गर्दै डा. पन्तले भन्नुभयो– ‘हामीले सिसडोल ल्यान्डफिल साइटको चार क्षेत्रको गन्ध मापन गर्न नमुना लिएर आएका छौं । अब मापन गरेपछि मात्र कति मात्रामा गन्ध रहेको छ भन्ने थाहा लाग्नेछ ।’ उहाँले सम्भवतः सोमबारभित्र नमुना परीक्षण गरिसक्ने जानकारी दिनुभयो ।गन्धको हानिकारक मात्रा परीक्षणपछि गन्ध हटाउन कुन प्रकारको रसायन प्रयोग गर्ने भन्ने विषयमा निर्णय हुने बताइएको छ ।

यसअघि शुक्रबार बिहान मेयर साह र उपमेयर सुनिता डंगोल बन्चरेडाँडा ल्यान्डफिल साइट पुग्नुभएको थियो ।मेयर साह र उपमेयर डंगोललाई भेटेपछि बिमला न्यौपाने, श्रीहरि ढकाल, भजु कान्छुलगायत स्थानीयले आफूले विगतदेखि उठाउँदै आएका माग, अहिलेको अवस्था र आफ्ना चाहना सुनाउनुभएको थियो । त्यस क्रममा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले दिगो व्यवस्थापनबाट दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिनुभएको थियो ।

स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले स्थानीयले अघि सारेको चारबुँदे माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान यथावत राख्नुभएको छ । उहाँले शनिबार स्थानीयसँगको छलफलपछि अब आन्दोलन अघि बढाउने तयारीमा रहेको जानकारी दिनुभयो । स्थानीयले बन्चरे परिसरमा रहेका १३ गाउँका ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने, व्यवस्थित कम्पनी स्थापना गरी फोहोर व्यवस्थापन गर्नुपर्ने, गुठीको जग्गालाई रैकर बनाउनुपर्ने र फोहोरमैला पीडित स्थानीयलाई रोजगारी दिनुपर्ने माग अघि सारेका छन् ।

सरकारले यसअघि ऐलानीसहित बन्चरेडाँडा ल्यान्डफिल निर्माण र व्यवस्थापन गर्न करिब १ हजार ७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । यी ४ बुँदे मागको विषयमा दर्जनौंपटक सरकारसँग वार्ता गरी सम्झौतासमेत भइसकेको जिकिर गर्दै स्थानीयले ती सम्झौता कार्यान्वयन भए आन्दोलन तत्काल फिर्ता लिने बताएका छन् ।फोहोर व्यवस्थापन गर्ने विषयमा छलफल गर्न मेयर साहले प्रधनमन्त्री शेरबहादुर देउवा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसक्नुभएको छ । समस्या समाधान गर्न स्थानीय र महानगरपालिकाबीच सहमति हुनुको विकल्प छैन ।

यसअघि मेयरमा निर्वाचित हुनेबित्तिकै सिसडोल र बन्चरे ल्यान्डफिल साइट अनुगमन गर्न पुगेका मेयर साहले समस्या समाधान नभएसम्म फोहोर नल्याउने घोषणा गर्नुभएको थियो । स्थानीयले मेयरको सोही भनाइलाई आधार मान्दै फोहोर व्यवस्थापन ठप्प पारेका हुन् ।

माग पूरा गर्न लिखित सम्झौता गरेपछि मात्र फोहोर व्यवस्थापन गर्न दिने अडान स्थानीयको छ । मेयर साहले सम्बन्धित निकायका व्यक्तिसँग भेट गर्नेभन्दा पनि केही नजिककालाई सहभागी गराएर फोहोर व्यवस्थापन गर्न खोज्दा समस्या परेको बताइएको छ ।फोहोर व्यवस्थापनको जिम्मेवारी बोकेका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले मेयरलाई सही सूचना नदिएको र हालसम्म पनि टाक्स फोर्सको बैठक बोलाउने विषयमा चासो नदेखाएका कारण समस्या जटिल बन्दै गएको स्थानीयको भनाइ छ ।

उनीहरू भन्छन्–‘कार्यकारी अधिकृतले कर्मचारीको कुरा सुन्दै नसुन्ने र आफूले सही सूचना नदिने गरेको कारण समस्या जटिल बन्दै गएको हो । हिजो सिसडोल र बञ्चरे ल्यान्डफिल साइट पुग्दा मेयर र उप मेयरको टोलीले विभागका कर्मचारीलाई बोलाएका थिएनन् । हामीले त समस्याको बारेमा विभागका कर्मचारी, मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत सहितको टोलीसँग कुराकानी गर्ने तयारीमा थियौं ।’

मुख्य जिम्मेवारी लिएका विभागका कर्मचारी नदेखेपछि आफूहरू अचम्मित भएको बताउँदै संघर्ष समितिका अध्यक्ष ढुंगानाले भन्नुभयो–‘स्थानीयसँग भएको सम्झौता कार्यान्वयन गर्न लिखित निर्णयमा हस्ताक्षर नभएरम्म फोहोर ल्याउनै दिन्नौं । मेयर साहले दुर्गन्धरहित बनाउने केमिकल ल्याएको एक हप्तापछि मात्र सो क्षेत्र दुर्गन्धरहित हुने बताउनुभएको छ । तर, त्यो केमिकल कहिले नेपाल आइपुग्छ भन्ने विषयमा मेयर साहसँग ठोस जानकारी छैन ।’

सरकारले २०६२ सालमै ३ वर्षभित्र बन्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । यो साइटमा पहिलोपटक गत १२ गते फोहोर व्यवस्थापन गरिएको थियो । उपत्यकामा दैनिक झण्डै १ हजार ५० मेट्रिक टन फोहोर विसर्जन हुने गरेको छ । फोहोर उठ्न छाडेपछि विशेषगरी धोबीखोला करिडोरका साथै राजधानीका सबै सडक तथा गल्लीहरू पूर्ण रूपमा दुर्गन्धित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्