विज्ञापन ऐन संसद् बैठकमा लैजाने मुख्यमन्त्री केसीको प्रतिबद्धता



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकालमै विज्ञापन ऐन बनाएर कार्यान्वयनमा ल्याउने बताए । उनलेले चालु संसद्को बैठकमै कानुनको मस्यौदा तयार गरी विज्ञापन ऐन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मालाई विज्ञापन ऐनको मस्यौदा बनाउन र आफूहरुको कार्यकालमै कार्यान्वयनमा ल्याउने गरी काम गर्न निर्देशन दिए ।

विज्ञापन बोर्डले आज (शुक्रबार) बुटवलमा आयोजना गरेको विज्ञापन आचारसंहिता एवम् विज्ञापन राष्ट्रिय नीति सम्बन्धि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री केसीले बोर्डले तयार गरेको आचारसंहिता र नीतिसमेत हेरेर प्रदेशले ऐन बनाउने बताए ।

संघीय सरकारले समयमै काम नगर्दा प्रदेशलाई पनि आफ्ना कार्यक्रम अगाडि बढाउन समस्या भएको बताउँदै उनले प्रदेशको विज्ञापन नीतिमा हेरफेर हुने उल्लेख गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले विज्ञापन समग्र अर्थतन्त्रसंग जोडिएको विषय भएकाले यसलाई ठोस योजना बनाएर अगाडि बढाउनु पर्ने भनाइ छ ।

उनले सोहीअनुसार प्रदेश सरकारले ऐन कानुन तथा नीतिहरु बनाउने र मुख्यमन्त्रीको निर्देशनअनुसार नै आफूहरुको कार्यकालमै विज्ञापन ऐन बनाएर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यसलाई कस्तो बनाउने सुझाव सल्लाह दिन पनि उनले आग्रह गरेका छन् ।

त्यस अवसरमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले ढिला भएपनि २ वर्ष अगाडि ऐन आएपछि विज्ञापनलाई व्यवस्थित गर्न आफूहरु लागि परेको बताए ।

विज्ञापन नियमन गर्ने ऐन, २०७६ र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७६ को व्यवस्था अनुसार विज्ञापन बोर्ड गठन भएको र सोही बोडले विज्ञापनलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा मस्यौदा तयार गरि छलफल अन्तरक्रियाको क्रममा रहेको बताए ।

त्यस्तै लुम्बिनी प्रदेशका मुख्य सचिव डिल्लीराम शर्माले निर्माण हुने ऐन नियम र कानुनहरुले सबैलाई हित गर्नुपर्ने र सरोकारवालाहरुको अधिकार पनि सुनिश्चित गराउनु पर्ने भनाइ राखेका थिए ।

त्यैगरी विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले विज्ञापन आचारसंहिता तथा विज्ञापन नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको र आगामी आर्थिक वर्ष २०७९÷०८० बाट लागु गर्ने तयारीमा रहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्