संसदीय समिति हेरेफर, ओली–नेपाल अब एउटै समितिमा



काठमाडौं  । 

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समिति र कार्यव्यवस्था समितिका सदस्यहरू हेरफेर गर्नुभएको छ । उहाँले मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समिति सदस्य हेरफेर गरिएको जानकारी दिनुभएको थियो ।समितिका सहस्यहरू हेरफेर भएपछि नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य हुनुभएको छ । सोही समितिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नेपाल पहिलेदेखि नै सदस्य रहनुभएको छ । अब हुने अन्तर्राष्ट्रिय समितिको बैठकमा ओली र नेपाल दुवैको सहभागिता रहने भएको छ ।

यसअघि आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदको कारवाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले ९ महिना प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो । अध्यक्ष ओली २०७४ सालमा प्रतिनिधिसभाको चुनाव जितेपछि प्रधानमन्त्री भएका कारण कुनै पनि संसदीय समितिको सदस्य रहनुभएको थिएन । राजनीतिक पार्टीको संसदीय दलले पठाएको विवरण र सांसदहरूको छनौटअनुसार सभामुखले सांसदहरूलाई विभिन्न समितिका लागि छनोट गर्नुभएको हो ।

बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा दलगत प्रतिनिधित्व रहने जानकारी पनि गराउनुभएको छ । संसद्को ठूलो दल एवं प्रमुख प्रतिपक्षी दल एमालेबाट कार्यव्यवस्था समितिमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, कृष्णभक्त पोखरेल, खगराज अधिकारी र शेरबहादुर तामाङ रहनुभएको छ ।

कांग्रेसबाट सचेतक पुष्पा भुसाल, राजेन्द्र केसी र बहादुरसिंह लामा तामाङ र माओवादी केन्द्रबाट प्रमुख सचेतक देव गुरुङ, सचेतक रामकुमारी चौधरी र रेखा शर्मा कार्यव्यवस्था समितिमा रहनुभएको छ । त्यसै गरी एकीकृत समाजवादीबाट प्रमुख सचेतक जीवनराम श्रेष्ठ, जनता समाजवादी पार्टीबाट प्रमोद साह र लोकतान्त्रिक समाजवादी पार्टीबाट उमाशंकर अरगरिया कार्यव्यवस्था परामर्श समितिमा रहने सभामुख सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्