भौतिक पूर्वाधार एम्बुलेन्स र फोहोर व्यवस्थापन पहिलो प्राथमिकतामा

कामपाको पहिलो बोर्ड बैठक



काठमाडौं  । 

काठमाडौं महानगरपालिकाको सोमबार बसेको पहिलो बोर्ड बैठकले पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डले गरेको ६ वटा निर्णयमध्ये यसलाई महत्वपूर्ण निर्णयको रूपमा हेरिएको छ ।

बैठक सञ्चालन गर्ने क्रममा मेयर बालेन्द्र साहले काठमाडौंको ढल मर्मत र टालटुल गर्न एम्बुलेन्स सञ्चालन गर्न लागिएको जानकारी गराउनुभयो । उहाँले त्यसका लागि टाक्स फोर्स बनाउने बताउनुभएको छ । आवश्यकताका आधारमा महानगरपालिकाको समस्यासँग जोडिएका तालकुदार मन्त्रालयसँग तत्काल छलफल गर्ने पनि बोर्डले निर्णय गरेको छ ।मेयर बालेनले निर्वाचनको क्रममा जनतासँग सार्वजनिक गरेको प्रतिबद्धताअनुरूप उक्त निर्णय गर्नुभएको हो । एम्बुलेन्समा इन्जिनियरसहित निर्माण समग्री र औजार हुनेछ । वडावासीले कलसेन्टरमा दिएको गुनासोका आधारमा पहिचान गरी सो क्षेत्रमा एम्बुलेन्स पुग्नेछ ।

बैठकले राजधानीमा सञ्चालन भएको चेन रेस्टुराँमा रहेको शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न दिने अर्को महत्वपूर्ण निर्णय गरेको छ । नव निर्वाचित मेयर साहले आइतबार केही चेन रेस्टुराँका सञ्चालकसँग छलफल गरी सो निर्णय गरिएको जानकारी दिँदै भन्नुभयो–‘हामी रेस्टुराँमा कामपाको लोगो राख्नेछौं, ती रेस्टुराँको शौचालय सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न सकिनेछ ।

अहिले चिकेन स्टेसन, बाजेको सेकुवा, एवानलगायतका रेस्टुराँलाई छनोट गरेको छौं ।’ मेयर साहले बैठकको सुरुआतमा फोहोर व्यवस्थापनको विषय उठान गर्दै भन्नुभयो–‘सबै वडा अध्यक्षले सहयोग गर्नुस् । अब गल्ने र नगल्ने फोहोर तोकिएको दिनमा व्यवस्थापन गर्नेछांै ।’ फोहोरका कारण सिसडोलवासीले भोग्नुपरेको समस्याबारे जानकारी दिँदै मेयर साहले भन्नुभयो – ‘हामीहरूले गरेको पापको भोगी सिसडोलवासी हुनुपरेकोमा दुःख लागेको छ ।’ उहाँले फोहोरको उचित व्यवस्थापन नभएसम्म कुनै सम्मान, मायाको चिनो, खादा र माला ग्रहण नगर्ने बताउनुभयो ।

पदबहाली गर्ने क्रममा फोहोर व्यवस्थापन कहिलेसम्म हुन्छ भन्ने पत्रकारको प्रश्नको उत्तरमा भावुक हुँदै भन्नुभयो – ‘सिसडोलमा जथाभावी फोहोर विसर्जन गरेर जनतालाई धोका दिएका छौं । त्यसको परिणाम हामीले गरेको पाप उहाँहरूले भोगिरहनुभएको छ । हाम्रो फोहोरले सिसडोलवासी क्यानसर पीडित भएका छन्, हामीले हेर्न सकेका छैनौं, अधिकांशलाई छालाको रोग लागेको छ, उहाँहरूको यो समस्या हेर्दा आफूलाई दुःख लागेको छ ।’

उहाँले सिसडोलवासीको त्यस्तो दृश्य हेर्न नसकेको बताउँदै तत्काल यो समस्याको समाधान गर्ने बताउनुभयो । उहाँले दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन नभएसम्म अन्य कुनै योजना र कार्यक्रम सार्वजनिक नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सरकारले पछिल्लो समय बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन शुरू गरेको थियो । जानकारी नै नदिई फोहोर विसर्जन गरेको आरोप लगाउँदै सो क्षेत्रमा स्थानीयले फोहोर विसर्जन गर्न रोकेका छन् । पछिल्लो तीन महिनादेखि काठमाडौंको फोहोर व्यवस्थायन हुन कठिन भएको छ । सिसडोलमा महानगरपालिकासहित उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जन हुने गरेको छ ।

पहिलो बैठकमा अधिकांश वडा अध्यक्षले फोहोर व्यवस्थापनको विषय उठान गरेका थिए । वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान सिंह डंगोलले राजधानीको फोहोर व्यवस्थापन नभएसम्म आफूले कुनै पनि भत्ता नलिने घोषणा गर्नुभयो ।बैठकमा मेयर साहले गुनासो सुनुवाई गर्न कल सेन्टर स्थापना गर्ने निर्णय पनि सुनाउनुभयो । उहाँले भन्नुभयो– ‘कल सेन्टर स्थापना गरेपछि सबै गुनासो एकै ठाउँमा आउनेछ, तत्काल सुनुवाई गरेर काम शुरू गर्नेछौं । उहाँले गुनासो सुनुवाइका आधारमा पूर्वाधार एम्बुलेन्स परिचालन गरिने बताउनुभयो ।

राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा खादा र माला लगाउन इन्कार गर्नुभएको थियो । कार्यक्रममा सबै वडा अध्यक्ष बैठकको पहिलो योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

पहिलो बैठकको निर्णय
फोहोरमैला व्यवस्थापन
रेन्टुराँको शौचालय सार्वजनिक शौचालयको रूपमा प्रयोग गरिने
गुनासो सुन्न कल सेन्टर स्थापना गरिने
दुईवटा पूर्वाधार एम्बुलेन्स सेवा शुरू गर्ने

मेयर वालेन्द्रको पहिलो भेट प्रधानसेनापतिसँग 

काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहको पहिलो भेट प्रधानसेनापति प्रभुराम शर्मासँग भएको छ । सोमबार पदबहाली गरेलगत्तै सैनिक मुख्यालयमा पुगेर प्रधानसेनापतिसँग भेट गरेका मेयर बालेन्द्रलाई प्रधनसेनापति शर्माले पूर्ण कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।मेयर साहले नेपाली सेनाले विपद् व्यवस्थापनमा पु¥याएको योगदानका साथै दुईपक्षीय सहयोग र हितको विषयमा कुराकानी गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्