प्रदेश सांसद स्थानीय तहमै पराजित



रौतहट ।

स्थानीय तहको निर्वाचनमा भाग लिएका मधेस प्रदेशका पूर्वसांसद पराजित भएका छन् । प्रजातन्त्र प्राप्ति पछि राजनैतिक पदमा सधैं लाभ लिएका शेख अबुल कलाम आजाद पराजित भएका हुन् ।

रौतहट क्षेत्र नम्बर ४ ‘ख’ को प्रदेशसभा सदस्य पदमा निर्वाचन जितेका आजादले स्थानीय तहको निर्वाचनमा भाग लिन राजीनामा दिएर गढिमाई नगरपालिकाको प्रमुख पदमा उम्मेदबार बने पनि विजय हासिल गर्न सकेनन् । उहाँ जनता समाजवादी पार्टीबाट नगरप्रमुख पदका लागि उम्मेदवार बन्नुभएको थियो । नेपाली कांग्रेसका उम्मेदवार श्यामबाबु यादवसँग ५ सय ५८ मतान्तरले उहाँ पराजित भएको जिल्ला निवर्नचन कार्यालयले जनाएको छ । यादवले ८ हजार ६ सय ३१ मत प्राप्त गरी विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी रहेका आजादले ८ हजार ७३ मत प्राप्त गरेका थिए ।

०७४ सालको स्थानीय निर्वाचनमा समेत राष्ट्रिय जनता पार्टीबाट आजाद गढिमाई नगरपालिकाकै प्रमुख पदमा ३ सय १ मतले पराजित बनेका थिए । उनै आजादलाई यसपटकको निर्वाचनमा विजयी भएका यादवले नै पराजित गरेका हुन् । ०७४ सालको निर्वाचनमा कांग्रेसका श्यामबाबु यादवले ५ हजार ४ सय ५० मत प्राप्त गरी विजयी हुँदा आजादले राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट नगरप्रमुख पदमा ५ हजार ५६ मत प्राप्त गरेका थिए । लगत्तै पछि भएको ०७४ सालकै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर उहाँ ७ हजार ३ सय ९३ मत प्राप्त गरी विजयी बन्नुभउको थियो ।

प्रदेशसभा सदस्यमा आजादले नेपाली कांग्रेसका रामज्ञा रायलाई पराजित गरेका थिए । यादवले ७ हजार २ सय ६८ मत प्राप्त गरेका थिए । ०४६ सालको प्रजातन्त्र प्राप्तिपछि भएको ०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन गम्हरिया गाविसको अध्यक्षमा उनी निर्वाचित भएका थिए । यसपटकको स्थानीय तहको निर्वाचनमा भाग लिन उनले मधेस प्रदेशसभा सदस्य एवं विकास समितिको सभापतिबाट राजीनामा दिएका थिए ।निर्बाचनमा पराजय भोगेपछि शेख अबुल कलाम आजादले मतदाताको माया रहँदारहँदै पनि गठबन्धनका कारण निर्वाचनमा पराजय भोगेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्