वागमती नदीमा ढल हाल्नेलाई पाँच हजार रुपियाँ जरिवाना



काठमाडाैं । 

काठमाडौं महानगरपालिका वातावरण विभागले वागमती नदीमा ढल हाल्ने र नदी किनारमा फोहर फाल्ने स्थानीयवासीलाई पाँच हजार रुपियाँ जरिवानासहित कारबाही गरेको छ । वागमती सफाइ महाभियानका अभियानकर्र्मीको पहलमा महानगरपालिकाले यस्तो कारबाही गरेको हो ।

गत शनिबार ४७१ औं हप्ताको सफाइका क्रममा सिनामङ्गलस्थित वागमती पुलबाट ५०० मिटर दक्षिण वागमती नदी सफाइ अभियानको क्रममा रामप्रसाद भुसालले घर अगाडि फोहर राखेको र ढलसमेत बाटोमा निष्कासन गरेको भेटिएकोले महानगरपालिकाले उहाँलाई यस्तो कारबाही गरेको हो । त्यसै गरी अपुरी नामको निजी कम्पनीलाई पनि कारबाही गरी घरधनीलाई फोहर आफैँ व्यवस्थापन गर्न लगाइएको छ ।

यसै हप्तादेखि महाभियानले सफाइको स्वरूप परिवर्तन गरी फोहर गर्नेलाई जरिवाना गराउन सरोकार भएका निकायलाई सहयोग गर्ने प्रतिबद्धता सार्वजनिक गरेको थियो । विसं २०७० जेठ ५ गतेदेखि शुरू भएको वागमती सफाइ महाअभियान हालै ९ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको छ ।

यसै अवसरमा सफाइको स्वरूप परिवर्तन गरिएको हो । महाभियानले नदी किनारमा सीसीटिभी राखी फोहर फाल्नेलाई कारबाहीको दायरमा ल्याउन अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकावाला निकायको पटकपटक ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्