नगर प्रमुख भामद्वारा सम्पत्ति विवरण सार्वजनिक



मुगु । 

मुगुको छायाँनाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विष्णुकुमार भामले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । नगर प्रमुखको कार्यभार सम्हालेको एक साता नबित्दै भामले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो ।

जिल्ला सदरमुकाम गमगढीको कृष्ण चोकमा मंगलवार आयोजित कार्यक्रमममा उहाँले सम्पत्ति विवरण सार्वजानिक गर्दै आफूसँग १४ तोला सुन, दुई तोला चाँदी, १५ लाख रुपियाँ बैंक ब्यालेन्स र नगद १६ लाख रुपियाँ रहेको बताउनुभयो ।

उहाँले मुगुको साविकको कार्कीवाडा गाविसमा कित्ता नम्बर ५१ को ४२ हजार ३ सय १३ वर्ग मिटर, साविकको श्रीनगर गाविकसमा कित्ता नम्बर ५ को ५ सय ५८ वर्ग मिटर, साविकको पिना गाविसमा कित्ता नम्बर ३ को ४ हजार ५ सय ५८ वर्गमिटर र सुर्खेतको साविकको लाटिकोईली गाविसमा २ कित्ता ३ सय ६२ वर्गमिटर जग्गा आफ्नो नाममा रहेको जानकारी पनि दिनुभयो ।

उहाँले छायाँनाथ रारा नगरपालिका–४ भामबाडा गाउँमा निजी निवासमा रहेको सात कोठे एउटा घर, गमगढी बजारमा आठ कोठाको अर्को घर र नेपालगन्जको तीन तले घर आमा लालकली भामको नाममा रहेको बताउनुभयो । त्यसै गरी गमगढी बजारमा रहेको ६ कोठाको घर श्रीमती अनिता रावलको नाममा रहेको पनि उहाँले बताउनुभयो । नगर प्रमुख भामले यी सम्पतिमा आफ्नो कुनै हक दाबी नलाग्ने बताउनुभयो ।

मेयर भामले गरेको सार्वजानिक सम्पति विवरण सार्वजनिक गर्ने क्रममा तामाका भाँडाकुँडा, हुड्को, ताउलो गरी ८० धार्र्नी, काँसका भाँडाकुँडा ५२ केजी, अन्य सानातिना सामानहरू सय थान र लिउ, गलैंचासमेतका लत्ता कपडा आवश्यकताअनुसार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्