वीरगन्ज महानगरमा गठबन्धनका उम्मेदवारको जित निश्चित



 वीरगन्ज । 

वीरगन्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमको जित सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा बढी अन्तरले अगाडि रहेपछि राजेशमान र इम्तियाजको जित सुनिश्चित भएको हो ।

वीरगन्जमा १ लाख २४ हजार ६ सय ४७ मतदाता रहेकोमा ९३ हजार ७ सय ८२ मत खसेको थियो । ७७ हजार ५ सय ७७ मत गणना भइसकेको भने अब १६ हजार २ सय ५ मत गणना हुन बाँकी छ । तर, जसपाका मेयर उम्मेदवार राजेशमान सिंह नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा १८ हजार ७ सय ५८ मत अन्तरले अगाडि भइसक्नु भएको छ । यो गणना हुन बाँकी १६ हजार २०५ मतभन्दा २ हजार ५५३ मत बढी हो । त्यसैले राजेशमानको जित सुनिश्चित भएको हो ।

राजेशमानले ३८ हजार ४ सय ३७ र सरावगीले १९ हजार ६ सय ७९ मत ल्याउनुभएको छ । राजेशमान, ०७४ सालमा निवर्तमान नगर प्रमुख एवं हाल एमालेका तर्फबाट मेयर उम्मेदवार सरावगीसँग पराजित हुनुभएको थियो । तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका सरावगीले १९ हजार ३ सय ९३ मत ल्याएर विजयी हुँदा राजेशमान १२ हजार १ सय ६५ मत ल्याएर तेस्रो स्थानमा रहनुभएको थियो । यसपटक सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजेशमानले शुरूदेखि नै अग्रता कायम राख्नुभएको हो । मेयर पदका अर्का प्रत्यासी राप्रपाका गिरीश गिरीले ३ हजार ४ सय ५८ मत पाउनुभएको छ ।

यसैबीच उपमेयरमा पनि गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलमले शुरूदेखि नै अग्रता लिई रहनुभएको छ । उहाँले निकटतम अर्का प्रत्यासी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाले भन्दा झन्डै ४ गुणा बढी मत ल्याउनुभएको हो । इम्तियाजले २४ हजार ९ सय १५ मत पाउँदा झाले हालसम्म ६ हजार ५ सय ६८ मत मात्रै पाउनुभएको छ । उहाँहरूबीच १८ हजार ३ सय ४७ को मतान्तर देखिएको छ । उपमेयरमा पनि इम्तियाजको जित निश्चित भएको छ । हालसम्म मेयर पदमा १६ हजार २ सय ८५ र उपमेयरमा ३५ हजार ३ सय ६८ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्