५ दलीय सत्ता गठबन्धन सफल हुँदै गएको छ : प्रचण्ड



भक्तपुर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५ दलीय सत्ता गठबन्धन सफल हुँदै गएको बताउनुभएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा गठबन्धनका तर्फबाट विजयी उम्मेदवारलाई शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा बधाई दिँदै उहाँले गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचनसम्म सँगै लिएर जानुपर्ने बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा गरिएको चुनावी तालमेल पनि सफल भएको उल्लेख गर्दै उहाँले मूलभूत रूपमा गठबन्धन सफल भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले सरकारले देशमा विकासको यात्रा प्रारम्भ गरेको भन्दै गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन, स्थायित्व र विकासको नयाँ यात्रा शुरू गर्न खोजेको उल्लेख गर्नुभयो ।

गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचनसम्म मात्र होईन त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने संकल्पमा गठबन्धनका दलहरू दृढ रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । प्रचण्डले नवनिर्वाचित जनप्रतिनिधिले विकास, समृद्धि र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।सो अवसरमा माओवादी केन्द्रका नेता दिलीप प्रजापति, प्रदेश सांसद प्रतिमा श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका नवनिर्वाचित प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, कांग्रेस नगरसभापति हरिदास प्रजापतिलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्