भुमिका श्रेष्ठले पाइन् अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

लगातार दोस्रो पटक पनि नेपालको पोल्टामा



काठमाडौं ।

नागरिक सुरक्षा, लोकतन्त्र तथा मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उजरा जेयाको उपस्थितिमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियानकर्मी भुमिका श्रेष्ठलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार हस्तान्तरण गरिएको छ ।

अमेरिकी उपविदेशमन्त्री जेयाको तीन दिने नेपाल भ्रमणको पहिलो दिन शनिबार अमेरिकी राजदुतको निवास कमलकुञ्जमा आयोजित रिसेप्सनमा राजदूत -यान्डी डब्ल्यु बेरीले भुमिकालाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।अमेरिकी विदेश मन्त्रालयले गत फागुनमा सन् २०२२ को अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार भूमिकालाई प्रदान गर्ने निर्णय गरेको थियो ।

सो अवसरमा अमेरिकी उपविदेशमन्त्री जेयाले यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको आत्मसम्मान र अधिकारका लागि भुमिकाको योगदानको प्रशंसा गर्दै उहाँले हासिल गरेका उपलब्धीहरू नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि मात्र नभई विश्वकै यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले अमेरिका सधैं मानव अधिकार र लोकतन्त्रको पक्षमा रहेको जिकिर गर्दै मानव अधिकार र लोकतन्त्रको उत्थानमा भुमिकाको निरन्तर वकालतको प्रशंसनीय र उदाहरणीय भएको धारणा पनि व्यक्त गर्नुभयो ।कार्यक्रममा अमेरिकी राजदूत बेरीले नेपालका यौनिक अल्पसंख्यक समुदायप्रति समर्पित भूमिकाले यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि गरेको अथक मिहेनतले यो वर्षका अन्तर्राष्ट्रिय साहसी महिला पुुरस्कार जित्न सफल भएको भन्दै बधाई ज्ञापन गर्नुभयो ।

आफ्नो समुदायबाट पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाएकोमा निकै खुसी लागेको बताउँदै भुमिकाले यो पुरस्कारले लैंगिक समानताका लागि अझै सशक्त रुपमा आवाज उठाउन आफूलाई प्रेरणा मिलेको बताउनुभयो ।

आफ्नो समुदायमा सकारात्मक परिवर्तन ल्याउन जोखिम मोलेर उल्लेखनीय साहस, आँट र नेतृत्व प्रर्दशन गर्ने विश्वभरका महिलालाई अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष यो पुरस्कार प्रदान गर्ने गर्दछ । नेपालले यो पुरस्कार लगातार दोस्रो वर्ष जित्न सफल भएको हो । गत वर्ष पनि एसिड आक्रमण विरुद्धको अभियानका लागि मुस्कान खातुनलाई यो पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्