भक्तपुर मतगणना : मध्यपुरमा कांग्रेस अगाडि, सूर्यविनायकमा एमाले



पुष्करराज बुढाथोकी ।

भक्तपुरका दुई स्थानीय तहको निर्वाचनको मतगणना सुरु भएको छ । गए रातिदेखि दुई पालिकामा मत गन्न थालिएको हो । मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा मत गणना सुरु भएको हो । चाँगुनारायण र भक्तपुर नगरपालिकामा भने शनिबार बिहान ८ वजेपछि मतगणना हुने सर्वदलीय बैठकले निर्णय गरेको छ ।

प्राप्त पछिल्लो परिणाम अनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । नगर प्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठले २१७ मत र नेकपा एमालेका मदन सुन्दर श्रेष्ठले १४९ मत ल्याएका छन् । त्यसैगरी उपमेयरमा एमालेकी उत्तरा नेपालले १७२ मत र गठबन्धनका तर्फबाट उमेदवार बनेका नेकपा माओवादी केन्द्रका विजय कृष्ण श्रेष्ठले १५२ मत ल्याएका छन् ।उता सुर्यबिनायक नगरपालिकामा नेकपा एमालेका उमेदवार बासुदेव थापाले अग्रता कायम गरेका छ्न । पछिल्लो मतगणना अनुसार थापाले १९७ मत ल्याएका छन् । त्यसैगरी उप प्रमुखका एमाले उमेदवार सरिता भट्टराईले पनि १९७ मत तथा एक नम्बर वडाअध्यक्षका उमेदवारले पनि १९७ मत ल्याएका छन् ।

त्यसैगरी गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका उमेदवार निसान ढुंगेलले ६३ मत तथा उप प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा एसका श्यामसुन्दर बस्नेतले १५ मत ल्याएका छन् । त्यसैगरी राप्रपाका उमेदवारले प्रमुख र उप प्रमुखमा ७०÷७० मत ल्याएका छन् ।जिल्लामा निर्वाचनमा ७६ प्रतिशत मत खसेको छ । चार वटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी चाँंगुनारायण नगरपालिकामा ७७ प्रतिशत मत खसको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । भक्तपुर नगरपालिका क्षेत्रमा ७६ प्रतिशत मत खसेको छ । त्यस्तै सूर्यविनायक र मध्यपुर थिमिमा ७५ पचहतर प्रतिशत मत खसेको आयोगले जनाएको छ ।

जिल्लाको चारवटै मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको छ । भक्तपुर नगरको व्यासीस्थित नगरपालिकाको भवनमा, चाँगुनारायण नगरको खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको भवनमा, सूर्यविनायक नगरको प्राणी उद्यानको कार्यालय सूर्यविनायकमा र मध्यपुर थिमि नगरको बोडेस्थित कृषि विकास तालिम केन्द्रको भवनमा तारजाली लगाएर मतगणनास्थल निर्माण गरीएको छ । मतगणना सुरक्षाका लागि केन्द्रकै निर्देशनमा तारजाली निर्माण गरेको जिल्ला निर्वाचन कार्यालय प्रमुख नरेन्द्रप्रसाद न्यौपानले बताउनुभयो । मतगणना सुरक्षा निगरानीका लागि प्रत्येक मतगणना स्थलमा ५-५ वटा सीसी क्यामरासमेत जडान गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्