थाहाका निजी विद्यालय आइतबार पनि खुल्ने



हेटौंडा  । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) थाहा नगरले निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन बिदा दिने औपचारिक निर्णय उचित नभएको बताएको छ ।

नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले थाहा नगरका प्याब्सन सदस्य विद्यालयले सम्बन्धित अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको सहमति लिएर आइतबार पनि नियमित पठनपाठन गर्ने प्रतिक्रिया दिनुभएको छ ।

‘शहर–बजारमा जसरी बिहानदेखि दिवा खाना-खाजाको व्यवस्था गरेर दिनभर विद्यालयमा पढाउने सम्भावना छैन’, उहाँ भन्नुहुन्छ– ‘सातामा दुई दिनको बिदा दिने निर्णयको औचित्य छैन र वैज्ञानिक पनि होइन ।

यहाँ दुई दिन बिदा दिइनु विद्यार्थी र अभिभावक दुवैको हित प्रतिकूल हुनेछ । त्यसैले हामीले आफ्ना विद्यालयका अभिभावकसँग अनुमति लिएर आइतबार पनि पठनपाठन गराउने छौं ।’ प्रधानका अनुसार थाहामा पहिल्यैदेखि शुक्रबार पनि पूरा दिन पठनपाठन गराइँदै आएको छ । सरकारको हप्तामा दुई दिन बिदा दिने निर्णय अभिभावकले पनि रुचाएका छैनन् ।

शिक्षा मन्त्रालयले भने जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन बिदा दिने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो । मन्त्रालयका अनुसार अब शनिबारबाहेक आइतबार पनि विद्यालय बन्द रहने छ । हाल रहेको विद्यालय समयलाई यथावत् राखी शुक्रबार आधा छुट्टिको व्यवस्था हटाइएको छ । हिउँदे बिदा, वर्षे बिदा, स्थानीय बिदा वा पर्व बिदालाई कटौती गरी अब वर्षमा अधिकतम् ३० दिनमात्र बिदा दिन पाइने भएको छ ।

यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे बिदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदा पाउने व्यवस्था थियो । अब यी सबै बिदालाई कटौती गरी वार्षिक ३० दिनमात्र बिदा दिने व्यवस्था मिलाउन परिपत्र जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्