मतदानस्थलमा अशक्त, अपांग, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र किरियापुत्रीका लागि कस्तो व्यवस्था छ ?



काठमाडौं । भोलि देशैभर हुने स्थानीय तह निर्वाचनमा आयोगले अशक्त, अपांग, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र किरियापुत्रीलाई विशेष व्यवस्था गरेको छ ।

यो व्यवस्था मतदान केन्द्रमा भएको छ वा छैन, अन्य तयारी केकस्तो छ भनेर मतदान अधिकृतले मतदान सुरु हुनुअघि निरीक्षण गर्ने जिम्मेवारी स्थानीय तह निर्वाचन निर्देशिका २०७८ ले तोकिदिएको छ ।

मतदान अधिकृतले यी कुराको निरीक्षण गर्नेछन् :

  • मतदान गर्नुअघि मतदानस्थलमा गर्भवती, सुत्केरीदेखि किरियापुत्रीसम्मका लागि विश्राम गर्ने ठाउँ राख्नेलगायतका सुविधा छ कि छैन भन्ने कुरा मतदान अधिकृतले निरीक्षण गर्छन् ।
  • मतदान सुरु हुनुअघि मतदान केन्द्रमा मतदानसम्बन्धी सबै व्यवस्थाको प्रबन्ध पूरा भए/नभएको कुरा मतदान अधिकृतले निरीक्षण गर्छन् ।
  • मत सङ्केत गर्ने गोप्य स्थान र सो स्थानमा मतपत्रमा छाप लगाउने टेबुल ठीक छ/छैन,
  • मतदान गर्ने गोप्य स्थानको छेकाबारा बाहिरपट्टि टेबुलमा मत सङ्केत गर्ने स्वस्तिक छाप तथा छापदानी राखिएको छ/छैन । सो छापदानीको प्याडमाथि प्लास्टिक वा कागजले ढाकिएको भए सो काटेर हटाएको छ/छैन । त्यस्तो प्लास्टिक वा कागज हटाई सकेको रहेछ भने प्याडको मसी सुकेको छ/छैन,
  • मतदान गर्ने गोप्य स्थाननजिकै बाहिरपट्टि मतपेटिका राख्ने टेबुल र सोमा मतदान गर्ने मतपेटिका राखिएको छ/छैन,
  • नमेटिने मसी वा नमेटिने मसी भएको मार्कर पर्याप्त मात्रामा छ/छैन,
  • मतपेटिका राखेको ठाउँनजिक नै मतदान अधिकृत बस्ने ठाउँ ठीक अवस्थामा छ/छैन,
  • मतदान केन्द्रको बाहिरी भागमा खुल्ला ठाउँमा महिला वा पुरुष मतदाताको लागि डोरी वा बाँस लगाई अलग-अलग पङ्क्तिबद्ध हुनसक्ने व्यवस्था गरिएको छ/छैन, महिला वा पुरुष लेखिएको टाँसेको वा झुण्ड्याइएको छ/छैन,
  • मतदाताको क्रमसंख्या स्पष्ट देखिने सूचना मतदाता पङ्क्तिबद्ध हुने ठाउँमा झुण्ड्याइएको वा टाँसिएको छ/छैन,
  • पङ्क्तिबद्ध भएका मतदाता मतदान कक्षमा प्रवेश गर्ने प्रवेशस्थलमा मतदाताको नाम रुजु गर्ने, महिला, पुरुष वा अन्यको तथ्याङ्क फाराम भर्ने, औँलामा नमेटिने मसीले चिनो लगाउने र मतदातालाई मतपत्र दिने सहायक मतदान अधिकृत, कर्मचारी र स्वयंसेवक बस्ने ठाउँ ठीक अवस्थामा छ/छैन,
  • मतदान गरिसकेको व्यक्ति पुनः मतदान कक्षतर्फ फर्कन नसक्ने गरी बाहिर निस्कने व्यवस्था मिलाइएको छ/छैन,
  • मतदाताको नाम रुजु गर्ने ठाउँमा र मतदान गरिसकेपछि मतदाता बाहिर निस्कने ठाउँमा सुरक्षाको प्रबन्ध छ/छैन,
  • उम्मेदवार वा मतदान प्रतिनिधि वा निर्वाचन प्रतिनिधि बस्ने स्थान ठीक छ/छैन,
  • गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाताको लागि विश्राम गर्ने ठाउँ ठीक छ/छैन, मतदान केन्द्रमा मतदान हुने निर्वाचनको लागि मतदाता नामावली ठीक छ/छैन,
  • मतदान केन्द्रभित्र कुनै उम्मेदवारको कुनै किसिमको प्रचार सामग्री भए नभएको एकिन गरी भएमा त्यस्तो प्रचार सामग्री तुरुन्त हटाउन निर्देशन दिने ।
  • निर्वाचन हुने पदको लागि प्रतिस्पर्धा गर्ने सबै उम्मेदवारको निर्वाचन चिह्न भएको मतपत्र छ/छैन भनेर मतदान अधिकृतले निरीक्षण गरिसकेपछि मतदान सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्