एन्फा पूर्वअध्यक्षको चुनौती वर्तमान अध्यक्षलाई



 काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले उनीमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

बुधबार पत्रकार सम्मेलनमा थापाले वितरित तीन पृष्ठको प्रेस विज्ञप्तिमा शेर्पाले लगाएको आरोप बुँदागत प्रस्तुत गरिएको थियो । सामाजिक सञ्जालमार्फत् आरोप लगाउँदै आएकोले थापाले उनी र उनका परिवारमा परेको अन्याय, मानसिक तनाव भएको समेत बताए । उनले यदि आरोप प्रमाणित भएमा कारबाही भोग्न पनि तयार भएको भन्दै शेर्पालाई चुनौती दिए ।

एएफसीका पूर्व उपाध्यक्षसमेत रहेका थापाले निम्न १४ वटा आरोप विज्ञप्तिमा समेटिएका थिए । — गोल्ड प्रोजेक्ट अन्तर्गत आएको १९ लाख डलर एन्फाको अडिटमा नदेखाएको तथा नगरपालिकाहरूले दिएको रकम पनि अडिटमा नदेखाएको र ठूलो आर्थिक अनियमितता गरेको, एन्फामा फिक्स डिपोजिटमा जम्मा गरिएको ८ करोड रुपियाँ तरिकाले जम्मा गरेको र गैरकानुनी तरिकाले एन्फाको रकम ब्याजमा लगाएको,

— एन्फालाई आएको रकम परिवारको नाममा राखी अनियमितता गरेको,
— खेलाडी कल्याण कोषमा जम्मा गरेको ५० लाख रुपयाँको स्रोत नखुलेको,
— साथी संस्थालाई १ लाख ५० हजार डलर दिएको,
— एन्फाको रकम ३२ प्रतिशतमा ब्याजमा लगाएको,
— रंगशालामा दर्शकबाट उठेको २८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा नगरेको र अडिटमा नदेखाएको
— सार्वजनिक लेखा समितिले ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको,
— कतार फुटबल संघले ८ लाख डलर दिएकोमा एन्फाको खातामा २ लाख हजार डलर मात्र जम्मा गरेर अन्य रकम हिनामिना गरेको,
— एएफसीबाट प्रशिक्षकलाई आएको रकम अडिटमा नदेखाएको,
— साफ च्याम्पियनसिपको दौरानमा २ करोड ५० लाख रुपैयाँ आम्दानी भएकोमा जम्मा ८५ लाख मात्र एन्फाको अडिटमा देखाएको र आर्थिक हिनामिना गरेको।
— अरेन्ज प्रोजेक्टर सुनामी प्रोजेक्टमा समेत संलग्नता रहेको,
— एन्फा कम्प्लेक्स बनाउँदा नेपालमा एउटा २ करोड १८ लाखको हिसाब देखाएको तर फिफामा करिब ३ करोडको हिसाब पेस गरेको र त्यसमध्येबाट ४० लाख रुपियाँ खेलाडी कल्याण कोषमा हालेर करिब ६० लाख रुपियाँ हिनामिना गरेको ।

यस्ता निराधार आरोपहरुका कारण विगत सात वर्षदेखि उनी र उनका परिवार अत्यन्तै गहिरो मानसिक आघात पुगेको थापाले बताए । कपोकल्पित आरोपहरुका कारण आम फुटबलप्रेमीमा फिफाले उनलाई कारवाही गरेको तर त्यही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाँही सफाइ दिएको भन्ने भ्रम पर्न गएको पनि उनले बताए ।

उनले बताए— ‘अब यो विवादको अन्त्य हुन जरुरी छ । म र मेरो परिवार अब लामो समयसम्म मानसिक पीडामा बसिरहन चाहन्नौं । यसअर्थमा अब उहाँसँग दुई विकल्पमात्र बाँकी छन् । उहाँले ममाथि लगाएका आरोपहरू प्रमाणित गर्न सक्नुपर्छ । त्यसो भए म कारबाही भोग्न तयार छु । अन्यथा एन्फा विधानको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ को बुँदा नम्बर ३ अनुसार उहाँले कारबाही भोग्नुपर्छ ।

एन्फा र फिफाको विधानअनुसार पनि कुनै निर्दोष व्यक्तिउपर कुनै निराधार आरोप लगाउन पाइन्न ।’उनले थपे, ‘कसैमाथि लगाएको आरोप झुठो सावित भएमा आरोप लगाउनेमाथि कारबाही हुने फिफाको कोड अफ इथिक्समा स्पष्टरूपमा लेखिएको छ । उहाँका निराधार आरोपहरूबाट मेरो करिब २२ वर्षे कार्यकालमा इमान्दारीतापूर्वक गरेका काममा भ्रम रहिरहने भयो ।

आफूमाथि लागेको भ्रमण चिर्न थापाले राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, एसियाली फुटबल महासंघ र फिफासमक्ष पनि न्यायका लागि गुहार माग्ने बताएका छन् । उनले स्थानीय निर्वाचनपछि जेठ ३ गतेबाट प्रक्रिया अघि बढाउनेसमेत जानकारी दिए । यदि, आफ्नो मागको सुनुवाइ नभएको खण्डमा अदालतसम्म जान सक्ने उनको भनाइ थियो ।

निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको एन्फाको कार्यसमिति बैठकमा शेर्पाले संवैधानिक आयोगको निर्णय मान्दै आफूले गरेका भ्रमपूर्ण प्रचारबाजीका निमित माफी मागेको प्रसंग स्मरण गराउँदै थापाले पत्रकार सम्मेलनेमा भने, ‘जसलाई मैले सहजतापूर्वक लिएको थिएँ । तर तुरुन्तै उहाँले माफी मागेको छैन भनेर एन्फाको औपचारिक बैठकमा बोलेको कुरा फिर्ता लिनुभयो । तर, उहाँले मेरा विषयमा विभिन्न मिडियाले राखेका प्रश्नमा अख्तियारले तामेलीमा राखेको छ भन्नेजस्तो र सार्वजनिक लेखा समितिले कार्बाही गर्यो, फिफाले पनि कारबाही ग-यो भन्नेजस्ता भ्रमपूर्ण अभिव्यक्ति दिने क्रमलाई अझैसम्म रोक्नुभएको छैन ।

थापाले शेर्पातिर प्रश्न तेस्र्याउँदै भने, ‘उहाँले नै उठाएका प्रश्नको सत्यता प्रमाणित गर्नका लागि चुनौती दिन चाहन्छु की सार्वजनिक लेखा समितिले मलाई कहाँ कार्बाही गरेको छ ? फिफाले मलाई गरेको कार्बाही तपाईले लगाएका आरोपका आधारमा हो ? अख्तियारले गरेको निर्णय तपाईंलाई चित्त नबुझेको भए यति लामो समयसम्म तपाई के हेरेर बसिरहनुभएको छ ?

शेर्पाको कार्यकाल सकिने क्रममा रहँदा पनि उनले माफी नमागेको नयाँ प्रक्रियामा अघि बढेको उल्लेख गर्दै थापाले भने, अब माफी होइन कारबाही हुनुपर्दछ । म दोषी भए मलार्इं कारबाही होस् । एन्फा निर्वाचनसँग अहिलेको प्रसंगलाई जोड्न आवश्यक नरहेको जनाउँदै थापाले आफूले न्यायका लागि आवाज उठाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्