म्याग्दीका मतदानस्थलमा निर्वाचनको तयारी तीव्र

प्रताप बानियाँ



म्याग्दी । 

म्याग्दीका सबै मतदानस्थलमा निर्वाचनको तयारी तीव्ररूपमा भइरहेको छ । स्थानीय तहको निर्वाचनका लागि जिल्लाको सबै मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मीहरु पुगेपछि मतदानको आवश्यक तयारी तथा प्रक्रिया थालिएको हो ।

वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने जनशक्तिलाई मतदानस्थल र मतदान केन्द्रमा खटाइएको छ । म्याग्दीमा कायम भएका ७४ वटा मतदानस्थल र १ सय १४ वटा मतदान केन्द्र सबैमा खटिएका कर्मचारी र सुरक्षाको टोलीले मतदानको आवश्यक तयारी थालेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । निर्वाचन सामग्रीहरु बोकेर जिल्लाबाट कर्मचारीहरुको टोली मतदानको आवश्यक व्यवस्थापन गर्नका लागि मतदानस्थलमा पुगिसकेकाले मतदानका लागि आवश्यक पर्ने तयारी शुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताउनुभयो ।

म्याग्दी जिल्लामा स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने सबै तयारी पूरा भएको छ । निर्वाचनलाई चाहिने मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायत सम्पूर्ण सामग्रीसहित कर्मचारीहरुको टोलीलाई खटाइएको छ । मतपेटिकाभित्र फाराम, प्रतिबद्धतापत्रसहित झण्डै १ सय प्रकारका सामग्री लिएर कर्मचारीहरु मतदानस्थलमा पुगेर निर्वाचनको आवश्यक तयारी थालेको जिल्ला निर्वाचन अधिकारी घिमिरेले बताउनुभयो ।‘सबै मतदानस्थल र केन्द्रमा मतदाता परिचयपत्र वितरण, मतदाता शिक्षा तथा सर्वदलीय र सर्वपक्षीय वैठक सञ्चालन, मतदान केन्द्र निर्माणलगायत निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी भइसकेको छ ।’ –उहाँले भन्नुभयो ।

म्याग्दीमा स्थानीय तह निर्वाचन–२०७९ लाई सम्पन्न गराउनका लागि कर्मचारी र शिक्षक गरी कुल ५ सय ६१ जना र सुरक्षाको लागि १ हजार ४ सय ४७ जनाको जनशक्ति परिचालन गरिएको छ । मतदानको कार्यमा १ सय १४ जना मतदान अधिकृत, १ सय १४ जना सहायक मतदान अधिकृत, २ सय २८ जना सहायक कर्मचारी र १ सय १४ जना सहयोगी कर्मचारी छन् ।सुरक्षातर्फ ६ सय १७ म्यादी प्रहरी, ३ सय ८० नेपाल प्रहरी, २ सय ३४ नेपाली सेना र २ सय १६ जना सशस्त्र प्रहरी रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिनुभयो । उहाँले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था चुस्तदुरुस्त र प्रभावकारी बनाइएको पनि उहााको कथन छ ।

विगतका निर्वाचनको तथ्याङ्कलाई हेर्दा म्याग्दीमा कुल मतदाताको संख्याअनुसार करिब ६५ प्रतिशत मात्रै मत खसेको जिल्ला निर्वाचन कार्यालयको रेकर्डमा देखिन्छ । यो तथ्याङ्क औसतमा रहेको निर्वाचन कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो । भौगोलिक विकटता, मतदाता विदेशमा हुनु, मतदाता शिक्षा सबैमा नपुग्नु, मतदान गर्न लामो दुरी हिँड्नुपर्ने, मौसम प्रतिकुललगायत कारणले गर्दा कम मतदान हुने गरेको पाएको छ । यसपटकको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन भएको छैन ।

अहिलेको स्थानीय तह निर्वाचनमा १५ देखि २० प्रतिशत मत आंशिक बदर हुन सक्ने जिल्ला निर्वाचन कार्यालय म्याग्दीले अनुमान गरेको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा स्थानीय तहको निर्वाचनमा कुल ८५ हजार ३ सय ७५ जना मतदाता कायम भएका छन् । तीमध्ये पुरुष ४१ हजार ४ सय १४, महिला ४३ हजार ९ सय ६० र अन्यतर्फ एक जना मतदाता रहेका छन् । जिल्लाभर कुल २ सय ३७ पदका लागि ७ सय १८ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

प्रतिक्रिया दिनुहोस्