जेठ १ गतेबाट विद्यालय दुई दिन बिदा हुने

प्याब्सन भन्छ- कार्यान्वयन गर्न कठिन



काठमाडौं । शिक्षा मन्त्रालयले देशभरका विद्यालय दुई दिन सार्बजनिक बिदा दिने निर्णय गरेको छ । शिक्षा मन्त्रालयमा आज (बुधबार) बसेको बैठकले दुई दिन सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले दुई दिन देशैभरका निजी र सामुदायिक विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार अहिले केही महिना परीक्षणको लागि लागु गर्ने निर्णय भएको हो ।

मन्त्री परिषद्को बैशाख १४ गते सम्पन्न बैठकले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सो निर्णयको हिजो (मंगलबार) राजपत्रमा सूचना प्रकाशन गरेको थियो ।

मन्त्रालययले हिउँदे र वर्षे बिदा कटौती गरी बढीमा ३० दिनमात्र बिदा दिने निर्णय गरेको छ । हाल सो बिदा ५० दिन थियो । प्रवक्ता शर्माले स्थानीय तहसँग सल्लाह गरी सोको आधारमा चाडपर्व, हिउँदे र वर्षे बिदा कटौति गर्नसक्ने जानकारी दिए ।

मन्त्रालयले गरेको निर्णयअनुसार विद्यालय समय १० देखि ४ बजेसम्म र शुक्रबार पुरै समय कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गेको छ । मन्त्रालयले गरेको निर्णय सबै विद्यालयमा लागु हुने भएको छ ।

प्रवक्ता शर्माले मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गर्न पाइँदैन भन्न नहुने जिकिर गरे । निजी विद्यालयले दुईदिने बिदा ब्यवहारिक नभएको भन्दै सरकारको निर्णय नमान्ने चेतावनी दिएको थियो । मन्त्रालयल सबै सरोकारवालासँग समन्वयन गरी दुई दिन बिदा दिने निर्णय गरेको प्रवक्ता शर्माको भनाइ छ ।

प्याब्सनका अध्यक्ष डिके ढुंगानाले सरकारको सो निर्णय व्यवहारिक नभएको पिप्पणी गरे । ढुंगानाले भने, ‘सरकारको यो निर्णयले कोर्ष पुरा गर्न सकिँदैन । यस विषयमा आवश्यक छलफल गरी निर्णय गर्ने उनको भनाइ थियो ।

मन्त्रालयले प्राविधिक शिक्षालयलाई बिदा दिने निर्णयको व्यवस्थापन गर्न सिटिइभीटी र विश्वविद्यालयको हकमा विश्वविद्यालय अनुदान आयोगले बिदा व्यवस्थापन गर्नेगरी निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि र नेपालको विदेशी मुद्रा सञ्चितिमा आएको गिरावटका कारण देखाउँदै परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । वर्षभरी सातामा दुई दिन बिदा गर्दा सरकारी कार्यालयमा विद्युत, इन्धन, खानेपानी लगायतमा वर्षभरीमा कम्तीमा २ अर्ब रुपियाँ बचत हुने अनुमान सरकारी टोलीको छ ।

मन्त्रालयले नयाँ बिदाअनुसार चालु २०७९ सालको नयाँ शैक्षिक क्यालेन्डर नै तयार गरिरहेको छ । शिक्षा नियमावलीमा प्रत्येक शैक्षिक सत्रमा कम्तीमा २ सय २० दिन विद्यालय खोल्नुपर्ने र कम्तीमा १ सय ८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । वर्षभरि नै आइतबार शिक्षण संस्था बन्द हुने भएमा १ सय ९२ दिनमात्र विद्यालय खुल्ने देखिन्छ र बाँकी १ सय ७३ दिन विद्यालय बन्द हुनेछ ।

यो बिदालाई शिक्षक महासंघलले स्वागत गरेको छ । भने प्याब्सन, एन प्याब्सनलगायत निकायले बिदा कार्यान्वयन गर्न मुस्किल पर्ने स्पष्ट पारिसकेको छ । यसअघि शिक्षा मन्त्रालयले शनिबार र आइतबार बिदा दिने विषयमा निर्णय हुन बाँकी रहको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्