जिल्ला प्रशासन कार्यालय काभ्रेको निर्वाचन विशेष तयारी

 कर्मचारी र सामाग्री मतदान केन्द्रमा



काभ्रे ।

स्थानीय तह निर्वाचन २०७९ ब्यवस्थापनका लागि स्थानीय प्रशासन, जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेका स्थानीय तह निर्वाचन सम्वन्धी गतिविधिको जिल्ला प्रशासन कार्यालयले सूचीकृत गरेको छ ।

संचारकर्मीसँग आयोजना गरिएको समन्वय बैठकमा १७ बुँदे गतिविधि प्रस्तुत गरिएको थियो ।‘निर्वाचन घोषणा भए देखि अन्तिम तयारीसम्म भएका सबै कृयाकलापका बारेमा नागरिकलाई जानकारी गराएका छौं’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘मतदान र मतगणनासम्मको कार्यतालिका बनाएर तयारीलाई अन्तिम रुप दिएका छौं ।

निश्पक्ष, धाँधली रहित, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि सुरक्षा निकायका सबै अंगहरु कृयाशिल छन् ।’ राजनीतिक दलहरुको सहभागितामा जिल्लाका मतदाताहरुको मतदाता नामावली, मतदाता परिचयपत्र लगायतका विषयमा निर्वाचन ब्यवस्थापन सम्वन्धी जिल्ला स्तरीय बैठक दुई पटक सम्पन्न भएको छ भने जिल्ला सुरक्षा समितिको बैठकले मतदान केन्द्रहरुको सुरक्षा संवेदनशीलता पहिचान, मतदान केन्द्रको सिफारिस, कर्ययोजना तर्जुमा तथा स्वीकृति, मतदान केन्द्र अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनु भयो ।

 

जिल्ला निर्वाचन सुरक्षा समितिको बैठकले निरन्तर निर्वाचन सुरक्षा सम्वन्धी आवश्यक तयारी गरिरहेको, स्थानीय तह निर्वाचन विशेष सुरक्षा योजना २०७९, तर्जुमा स्वीकृति तथा कार्यान्वयन गरेको, जिल्ला कमाण्ड पोस्ट तथा सेलको बैठकले ब्यवहारीक अभ्यास समेत सम्पन्न गरेको, जिल्लाका सबै मतदान केन्द्रहरुको अनुगमन गरेको, निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रममा सहजिकरण र समन्वय गरिएको, मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना, कार्यालयको भौतिक सामाग्रि ब्यवस्थापन, मतगणनास्थलमा सिसिटिभी जडान घेराबारा ब्यवस्थापन, उम्मेदवार मनोनयन लगायतका कार्यक्रमहरु सम्पन्न गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले स्थानीय निर्वाचन केन्द्रित जिल्ला स्थित कार्यालय प्रमुखहरुको बैठक बसी आवश्यक समन्वय गरिएको, स्थानीय निर्वाचन ब्यवस्थापन सम्वन्धी स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुसँग समन्वय गरिएको, म्यादी प्रहरी छनौट, तालिम र विभिन्न स्थानमा जिम्मेवारी प्रदान गरिएको, निर्वाचनका लागि चारवटै सुरक्षा निकायलाई आवश्यकता अनुसार परिचालन गरिएको, स्थानीय तह निर्वाचनमा परिचालित हुने ६ हजार ३१ जना कर्मचारीका नामावली मार्फत १ हजार ९ सय ४ जना कर्मचारी खटाईएको ७ सय ६२ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम प्रदान गरिएको, निर्वाचन आचार संहिता सम्वन्धी छलफल निरन्तर गरिरहेको बताउनु भयो ।

त्यस्तै मतपत्र सहितका मतपेटिका ढुवानी कार्ययोजना तर्जुमा तथा स्वीकृति र पुर्व तयारी गरिएको उहाँले बताउनु भयो ।मौन अवधी अघि जिल्लामा विभिन्न राजनीतिक दलहरुले संयुक्त र छुट्टाछुट्टै आमसभा,-याली गरेका छन् । सुरक्षा अवस्था मजबुत बनाउन सबै निकायलाई सतर्क बनाईएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो । जिल्लाका ३ सय ८१ मतदान केन्द्रका लागि निर्वाचन सामाग्री सहित सबै कर्मचारी कार्यक्षेत्र पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्